nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामाजिक सञ्जालबाटै सिक्छु, सिकाउँछु 
मनोज कुमार ढकाल

नमस्कार मेरो नाम मनोज कुमार ढकाल हो । म थाहा नगरपालिका वडा नम्बर २ पालुङमा बस्छु । म कक्षा १२ मा अध्ययनरत छात्र हुँ। हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारणले देशभर बन्दाबन्दी अर्थात लकडाउन घोषणा भएको कारणले म आफ्नो गाउँ थाहानगरको पालुङ फर्किएको छु।

गाउँमा हतार–हतार आउँदा मैले धेरै किताब कापी लिएर आएको थिइन । लकडाउन नभइदिएको भए कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट हुने थियो। लकडाउनको यो समयलाई भरपुर उपयोग गरी मैले केही सिक्न वा हासिल गर्न तत्पर जिज्ञासु भएको छु । यस समयलाई एक हिसाबले अवसरको रुपमा पनि लिएको छु । मेरो घर गाउँको पनि सबैभन्दा माथी जंगल छेवैमा छ । घरभन्दा माथी जङ्गल छ। खेतबारीमा आलु लगाइएको छ । यो समयमा म कृषि कर्म कसरी गर्छन् भनी अध्ययनका साथसाथै त्यसलाई व्यवहारिक रुपमा पनि अवलोकन गर्दै छु। घरमा गाई बाख्रा छन् । लकडाउनका कारण घरबाट बाहिर निस्किन हुँदैन भन्ने कुरा थाहा हुँदाहँदै पनि सुरक्षा अपनाएर म बाख्रा चराउन निस्किन्छु। मानिसहरुको भिडभाड भएको ठाउँमा जाँदिन। अरुलाई पनि नजान अनुरोध गर्छु । मेरो घरमा आउने भाइबहिनीलाई कोरोना भाइरसको बारेमा बताउँछु । उनीहरुलार्ई आफ्नो घर बाहिर नहिड, सफा हौ भनी सन्देश पनि दिन्छु। बेलुकाको समयमा म आफ्नो समय सामाजिक सञ्जालमा लगाउँछु । फेसबुकमा साथीहरुसङ गफगाफ गर्नुको साथसाथै म आफ्नो परीक्षाको लागि तयारी पनि गर्दै छु। 

आफुलाई नजानेको कुरा म आफ्नो फेसबुकमार्फत साथीहरूलाई पनि सोध्ने गर्छु । फेसबुक ग्रुप र पेज मार्फत पनि मैले आफुलाई नजानेको कुरा सोध्ने गरेको छु । यतिमात्र नभएर अहिले लकडाउनको कारण धेरैको पढाइमा असर परेको छ । त्यसैले आफुले कक्षा ११ पार गरिसकेको हुनाले म सोही फेसबुक ग्रुप मार्फत अरुलाई आफ्नो नोट र कलेक्सन शेयर गरेर सहयोग गर्दै छु । यति मात्र नभएर म मुना मदन जस्ता साहित्यका किताबहरु पनि हेर्दै छु । विशेषगरि मेरो विचारमा विद्यार्थीहरुको लागि लकडाउनको समय भनेको आफ्नो कोर्षहरु पुनरावलोकन गर्ने समय हो जस्तो लाग्छ।