Sunday, 15th November, 2026
वि.स.

लोक सेवामा ६९१ पदका लागि भर्ना खुल्यो, प्राविधिकदेखि प्रशासनसम्म अवसर

906285136_218143566244548-1794720283.jpg

सरकारी सेवामा प्रवेश गर्न चाहने योग्य नेपाली नागरिकका लागि लोक सेवा आयोगले ठूलो संख्यामा रोजगारीको अवसर ल्याएको छ । आयोगले विभिन्न सरकारी सेवा, समूह र उपसमूहअन्तर्गत ६९१ पदमा पदपूर्ति प्रक्रिया अघि बढाउँदै दरखास्त आह्वान गरेको हो ।

आर्थिक वर्ष २०८३/८४ को पदपूर्तिका लागि कात्तिक २५ गते प्रकाशित विज्ञापनअनुसार ५०९ पदमा खुला, समावेशी तथा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट र बाँकी १८२ पदमा बढुवामार्फत पदपूर्ति गरिनेछ ।

निजामती सेवा, संघीय संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवाका विभिन्न पदमा आवेदन माग गरिएको छ । विज्ञापनमा शाखा अधिकृत वा सोसरहका राजपत्राङ्कित तृतीय श्रेणीका पददेखि स्वास्थ्य सेवाका सातौँ र आठौँ तहसम्मका पद समेटिएका छन् । प्राविधिक क्षेत्रमा बढी अवसर आयोगको विज्ञापनमा कम्प्युटर तथा सूचना प्रविधि र सिभिल इन्जिनियरिङतर्फ सबैभन्दा बढी पद रहेका छन् ।

उपलब्ध पदको क्षेत्रगत विवरणअनुसार

कम्प्युटर तथा सूचना प्रविधिमा १०७, सिभिल इन्जिनियरिङमा १०३ र न्याय, कानून तथा सरकारी वकिलतर्फ ९६ पद छन् । त्यस्तै, स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा ९१, सामान्य प्रशासन तथा संसद् सेवामा ६४, वन तथा वन्यजन्तु संरक्षणमा ३७ र लेखा तथा वित्ततर्फ २८ पद रहेका छन् ।

अन्य क्षेत्रको पदसंख्या यस्तो छ :

  • सेवा तथा क्षेत्र पद संख्या शिक्षा, पुरातत्त्व तथा संग्रहालय २८
  • नापी तथा सर्वे २६
  • मेकानिकल इन्जिनियरिङ १४
  • लेखापरीक्षण १४
  • वातावरण विज्ञान १२
  • केमिस्ट्री तथा केमिस्ट १२
  • भूगर्भ तथा भूभौतिकी ११
  • मानव अधिकार ११

यसका अतिरिक्त तथ्याङ्क, अर्थशास्त्र, इलेक्ट्रोनिक्स तथा दूरसञ्चार, केमिकल इन्जिनियरिङ, खाद्य अनुसन्धान तथा प्रविधि, वनस्पति विज्ञान, मौसम विज्ञान, हवाई ट्राफिक नियन्त्रण, परराष्ट्र सेवा र माइनिङ इन्जिनियरिङतर्फ पनि पद खुलाइएको छ । कम्प्युटर, इन्जिनियरिङ र स्वास्थ्यका कुन पदमा अवसर ?

कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी क्षेत्रमा १०७ पदमध्ये ७४ पद प्रतिस्पर्धात्मक परीक्षाबाट र ३३ पद बढुवाबाट पूर्ति हुनेछन् । यस क्षेत्रमा कम्प्युटर इन्जिनियर तथा कम्प्युटर अधिकृतलगायतका पद समावेश छन् ।

सिभिल इन्जिनियरिङतर्फ जनरल, हाइवे, स्यानिटरी, हाइड्रोपावर तथा बिल्डिङ एन्ड आर्किटेक्टसम्बन्धी पदमा अवसर छ । स्वास्थ्य सेवामा मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, जनस्वास्थ्य अधिकृत, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट तथा क्लिनिकल साइकोलोजिस्टलगायतका पदमा आवेदन माग गरिएको छ ।

शैक्षिक योग्यता र उमेरको सीमा

आवेदन दिन सम्बन्धित पदका लागि निर्धारण गरिएको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । प्रशासन, परराष्ट्र तथा संघीय संसद् सेवाका कतिपय पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

न्याय तथा कानून समूहमा कानून विषयमा स्नातक आवश्यक पर्नेछ भने इन्जिनियरिङ, स्वास्थ्य, कम्प्युटर, वन तथा वातावरणसम्बन्धी पदमा सम्बन्धित विषयको शैक्षिक योग्यता चाहिन्छ। केही प्राविधिक पदमा व्यावसायिक परिषद्को दर्ता वा प्रमाणपत्रसमेत अनिवार्य हुनेछ ।

उमेरको हकमा निजामती तथा राष्ट्रिय मानव अधिकार सेवातर्फ मंसिर १५ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ । स्वास्थ्य सेवातर्फ भने २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

बहालवाला कर्मचारीका हकमा सम्बन्धित कानुनी व्यवस्था लागू हुनेछ ।

आवेदन दिने म्याद र शुल्क खुला तथा समावेशी प्रतिस्पर्धात्मक विज्ञापनमा आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १५ गते तोकिएको छ । नियमित समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बढुवाका लागि भने योग्य कर्मचारीले मंसिर २९ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रतिस्पर्धात्मक परीक्षाका लागि प्रत्येक विज्ञापनमा १ हजार २०० रुपैयाँ आवेदन शुल्क लाग्नेछ । एउटै सेवा वा समूहअन्तर्गत थप समावेशी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ बुझाउनुपर्नेछ।

बढुवातर्फको आवेदन शुल्क पनि १ हजार २०० रुपैयाँ तोकिएको छ । अनलाइनबाटै दिन सकिन्छ आवेदन योग्यता पुगेका उम्मेदवारले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

अनलाइन आवेदन: https://psconline1.psc.gov.np/ विस्तृत विज्ञापन: https://psc.gov.np/file/bigyapan-2082-07-25 आवेदन दिनुअघि सम्बन्धित पदको शैक्षिक योग्यता, उमेर, अनुभव, आवश्यक प्रमाणपत्र, विज्ञापन नम्बर र परीक्षा प्रणालीबारे विस्तृत विवरण अध्ययन गर्न आयोगले आग्रह गरेको छ ।

प्राविधिक तथा अप्राविधिक दुवै क्षेत्रका लागि अवसर खुलाइएकाले आफ्नो योग्यता र अध्ययनको विषयअनुसार उपयुक्त पद छनोट गरी निर्धारित समयभित्र आवेदन दिन सकिनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







ताजा समाचार सबै