Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

पोर्चुगलमा आकर्षक रोजगारीको नाममा ठगी, सचेत रहन आग्रह

de-lisboa-portugal-1794717839.jpg

आकर्षक रोजगारी, उच्च तलब र आवासीय अनुमति दिलाउने प्रलोभन देखाएर नेपाली नागरिकलाई पोर्चुगल पठाउने क्रममा ठगी तथा शोषण भइरहेको पाइएको छ ।
नेपाली राजदूतावास लिस्बनले पोर्चुगलको अस्थायी आवासीय अनुमति (टीआरपी) लगायतका विभिन्न प्रलोभन देखाएर ठूलो रकम लिई डी–१ भिसामा पोर्चुगल ल्याइएका केही नेपालीलाई सम्झौताअनुसार काम, तलब र सुविधा नदिई अलपत्र पारिएको जनाएको छ ।

यससम्बन्धी उजुरी व्यक्ति तथा कम्पनीविरुद्ध प्राप्त भएको र आवश्यक छानबिन तथा कारबाहीका लागि नेपाल र पोर्चुगलका सम्बन्धित निकायमा पठाइसकिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पोर्चुगलभित्रै रोजगारी खोजिदिने बहानामा नेपाली नागरिकबाट रकम असुल्ने, रकम हिनामिना गर्ने र त्यसपछि सम्पर्कविहीन हुने घटनासमेत भएका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी प्राप्त भए निगरानी सूचीमा राखेर कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने सूचनामा उल्लेख छ ।

यस्ता गतिविधि मानव तस्करीजस्ता गम्भीर अपराधको श्रेणीमा समेत पर्न सक्ने भन्दै दूतावासले नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारी, राम्रो तलब र भविष्यमा परिवारसमेत पोर्चुगल ल्याउन सकिने आश्वासन पाएर ठूलो रकम खर्च गरी डी–१ भिसामा त्यहाँ पुग्ने नेपालीको संख्या बढेको छ । तर, पोर्चुगल पुगेपछि कतिपयले सम्झौताअनुसार रोजगारी नपाएको, विमानस्थलमा लिन आउने भनिएको व्यक्ति उपस्थित नभएको तथा बसोबास र दैनिक गुजारामा समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

रोजगारी पाएकामध्ये पनि कतिपयले सम्झौताअनुसारको तलब र सुविधा नपाएको बताउने गरेका छन् । त्यस्तै, आवासीय अनुमति प्राप्त गर्ने प्रक्रिया सहज नहुँदा बायोमेट्रिक र रेसिडेन्स कार्डको प्रतीक्षामा रहेका नेपालीसमेत आर्थिक तथा अन्य समस्यामा पर्ने गरेका छन् ।

नेपालमा पोर्चुगलको रोजगारी र आवासीय प्रक्रियाबारे अतिरञ्जित प्रचार गरेर केही बिचौलिया तथा एजेन्टले ठूलो रकम असुल्ने र पोर्चुगल पुगेपछि सम्पर्कविहीन हुने गरेको पीडितहरूको गुनासो छ ।

डी–१ भिसा पोर्चुगलमा रोजगारीको ग्यारेन्टी वा तत्काल आवासीय कार्ड प्राप्त हुने सुनिश्चितता नभएकाले रोजगारदाता, रोजगार सम्झौता, तलब, कामको प्रकृति र आवासीय प्रक्रियाबारे आधिकारिक जानकारी लिएर मात्र निर्णय गर्न दूतावासले आग्रह गरेको छ । आर्थिक कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा कम्पनीको विश्वसनीयता जाँच गर्न पनि दूतावासको अनुरोध छ ।

यसैबीच, पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्नो आधिकारिक पत्राचारमा नेपाल संवत्समेत उल्लेख गर्न थालेको छ । दूतावासले कात्तिक २७ (नोभेम्बर १३) मा जारी गरेको सूचनामा विक्रम संवत् र इस्वी संवत्सँगै नेपाल संवत् ११४७ कछलाथ्व चतुर्थी पनि उल्लेख गरेको हो ।

यसअघि अभियन्ता गंगाबहादुर नेम्कुलले नेपाल संवत्को ऐतिहासिक महत्त्व, राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवलाई सम्मान गर्दै विदेशस्थित नेपाली दूतावासका आधिकारिक पत्राचार तथा प्रशासनिक कामकाजमा समेत यसको प्रयोग गर्न माग गरेका थिए ।

उनले नेपाल संवत्को ऐतिहासिक महत्त्व र प्रयोगसम्बन्धी विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने मागसहितको अनुरोधपत्र राजदूत प्रकाशमणि पौडेललाई हस्तान्तरण गरेका थिए ।

आफ्नो मागलाई सम्बोधन गर्दै दूतावासले आधिकारिक सूचनामा नेपाल संवत्लाई स्थान दिएकोमा नेम्कुलले धन्यवाद दिएका छन् । उनले यसलाई नेपालको मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई सरकारी अभिलेखमा सम्मान गर्ने सकारात्मक कदमका रूपमा लिएका छन् ।

त्यस्तै, पोर्चुगलमा रहेका नेपाली ठगी तथा शोषणको सिकार नबनून् भन्ने उद्देश्यले दूतावासले जारी गरेको सचेतनामूलक सूचना महत्त्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष सुजन मोक्तान बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_Ward-1-Sandesh-1792210500.jpg
Ward-12-Sandesh-1792210744.jpg