Friday, 6th November, 2026
वि.स.

विदेशमा रहेका साढे २४ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध, नियमित योगदानकर्ता करिब दुई लाख

ssf-1793933034-1793942588.jpg

वैदेशिक रोजगारीमा रहेर सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिक बढ्दै गएको पाइएको छ। हाल नियमित योगदान गर्नेहरु करिब दुई लाख पुगेको कोषले जानकारी दिएको छ।

चालु अर्थिक वर्षको असोज महिनासम्म वैदेशिक रोजगारीमा रहेका २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका तथ्यांक छ। आबद्ध हुनेहरुको संख्याको तुलनामा नियमित योगदान गर्नेहरुको संख्या निराशाजनक थियो। पछिल्लो समय यसमा सुधार भएको कोषमा सूचना अधिकारी डा. रोशन कोजुले बताए।

‘पछिल्लोपटक सचेत भएर योगदान गर्ने क्रम बढेको छ। अघिल्लो वर्षसम्म यस्तो संख्या एकदमै निराशाजनक थियो। जानेहरु दोहोर्‍याएर योगदान गर्दैनथे। अहिले नियमित योगदान गर्नेहरुको संख्या करिब दुई लाख पुगेको छ,’ उनले भने।

२०७९ चैत ८ गतेबाट सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था लागू गरेपछि विदेसिनेहरु अनिवार्यरुपमा कोषमा जोडिनुपर्छ। नेपालबाट वैदेशिक रोजगारीमा जाने धेरै युवाहरु अदक्ष श्रमिक रहेका छन्। कोषमा आबद्ध हुन अनलाइन फाराम भर्नुपर्ने र योगदान रकम पनि अनलाइनमार्फत जम्मा गर्नुपर्ने भएकाले मोबाइल एप्स राम्रोसँग प्रयोग गर्न नसक्नेहरुलाई समस्या पर्ने गरेको कोषले जनाएको छ। साथै, डिजिटल साक्षरता हासिल नगरेकाहरुलाई यस विषयमा बुझाउन समस्या हुने गरेको बताइन्छ।

योगदातकर्ताहरु हाल मोबाइल बैंकिङ, रेमिटलगायतका माध्यमबाट रकम जम्मा गर्दै आइरहेका छन्। यसलाई थप सहज बनाउन कनेक्ट आइपिएस, क्युआरलगायतका माध्यमको पनि परीक्षण भइरहेकाले तिहारपछि यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको कोषले जनाएको छ। वैदेशिक रोजगारी र स्वरोजगारीमा रहेका व्यक्तिहरुले कोषमा योगदान गरेको रकम पछिल्लोपटक एफवानको नेटवर्कबाट ग्लोबल आइएमई र एसबिआई बैंकबाहेक सबै वर्गका बैंकको मोबाइल बैंकिङबाट संकलनको काम भइरहेको छ।

पछिल्लोपटक सचेत भएर योगदान गर्ने क्रम बढेको छ। अघिल्लो वर्षसम्म यस्तो संख्या एकदमै निराशाजनक थियो। जानेहरु दोहोर्‍याएर योगदान गर्दैनथे। अहिले नियमित योगदान गर्नेहरुको संख्या करिब दुई लाख पुगेको छ।
डा. रोशन कोजु
सूचना अधिकारी, सामाजिक सुरक्षा कोष

नियमित योगदानकर्ताको संख्यामा सुधार गर्न यस वर्ष ५०० भन्दा बढी कार्यक्रम आयोजना गर्ने योजना रहेको सूचना अधिकारी कोजुले बताए। साथै, विभिन्न माध्यममार्फत कार्यक्रम आयोजना गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ।

‘योगदानकर्ता बढाउन क्यम्पेनिङ र सचेतना नै मुख्य हो। यस्तो कार्यक्रम कतिपय डिजिटल हुने कतिपय श्रमिकको परिवारलाई भेटेर अन्तरक्रिया गर्ने कार्य हुन्छ। यस्ता कार्यक्रम पालिकासँगको समन्वयमा गर्छौं,’ उनले भने, ‘सचेतनाका लागि सामाजिक सञ्जालमा प्रमोसनल कन्टेन्टहरु बनाउने, हरेक हप्ता लाइभमा जानेलगायतका योजनाहरु बनाइरहेका छौं।’

अहिले कोषमा आबद्ध भएका श्रमिकका परिवारका सदस्यले स्वास्थ्य उपचारलगायतका सुविधा पनि लिन थालेकाले सचेतना बढ्दै गएको जनाइएको छ। कोषमा आबद्ध हुने श्रमिकहरुले दुर्घटना तथा अशक्तता सुविधा, वृद्ध अवस्था सुरक्षा योजनामा सहभागी हुन पाउँछन्। यदि यस्ता श्रमिकको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई पनि कोषले सुविधा उपलब्ध गराउँछ। सुविधा लिनका लागि घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने प्रावधान छ। वृद्धावस्था सुरक्षा सुविधा प्राप्त गर्न भने योगदानकर्ताले वैदेशिक रोजगारी अन्त्य गरी नेपाल फर्किएको हुनुपर्छ।

हाल वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका करिब ३३ लाख योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन्। जसका एक करोडभन्दा बढी संख्यामा आश्रित परिवार कोषको औषधि उपचार सेवामा सेवाग्राहीका रुपमा रहेका जनाइएको छ। करिब आधा जनसंख्या सामाजिक सुरक्षा कोषको स्वास्थ्य उपचार सेवा लिइरहेकाले अस्पतालको संख्या विस्तार भएर देशैभर १२५ पुगिसकेको कोषले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०