Friday, 6th November, 2026
वि.स.

मलेसियाले विदेशी २० र स्थानीय ८० प्रतिशत श्रमिकको नीति लिने

4680643501malaysia-1793942284.jpg

 मलेसियाले विदेशी श्रमिकमाथिको निर्भरता कम गर्ने अभियानलाई तीव्रता दिने बताएको छ । मलेसियामा हाल २६ लाख विदेशी कामदार छन् । त्यसमध्ये नेपालीको संख्या ४ लाखको हाराहारीमा छ ।

मलेसियाका लगानी, व्यापार तथा उद्योगमन्त्री दातुक सेरी जोहारी अब्दुल गनीले उत्पादन क्षेत्रमा विदेशी श्रमिकको संख्या घटाइने र ‘थ्री डी’ भनिने जोखिमपूर्ण काममा मात्र विदेशी श्रमिक भर्ना गर्न अनुमति दिइने बताएका छन् । स्थानीय प्राविधिक तथा व्यावसायिक शिक्षाको तालिम लिएका ४ लाखभन्दा बढी टिभिइटी विद्यार्थी र स्नातक उत्पादन भइरहेको भन्दै उनले विदेशी श्रमिकलाई जोखिमपूर्ण, कठिन र स्थानीयले फोहोरी मान्ने कामका लागि मात्र अनुमति दिइने संसदीय छलफलमा बताए ।

हाल उद्योगहरूमा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्थानीय श्रमिक छन् । सरकारले यसलाई उल्ट्याएर ८० प्रतिशत स्थानीय र २० प्रतिशत विदेशी श्रमिक मात्र राख्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

उनले स्थानीय श्रमिकलाई आकर्षित गर्न उत्पादन क्षेत्रको हालको औसत तलब २ हजार ७७५ रिंगेटबाट बढाएर ४ हजार ५१० रिंगेट पु¥याउने पनि बताए । तालिम प्राप्त स्थानीय श्रमिकलाई समेत न्यूनतम १ हजार ७०० रिंगेट तलब दिने कम्पनीहरूको उनले आलोचना गरे ।

स्थानीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका स्नातकहरूलाई विदेशी कामदारसरह नै ज्याला दिइरहेका कारण स्थानीयलाई रोजगारीमा जोड्न समस्या भइरहेको उनको भनाइ छ । १० देखि २० वर्षदेखि मलेसियामा सञ्चालनमा रहेका कम्पनीहरू विदेशी श्रमिकमा निर्भर हुँदै आएका कारण एक किसिमको बाध्यता भए पनि अब यसलाई उल्ट्याउनुपर्ने अवस्था आएको उनले बताए ।

सरकारले विदेशी कामदार भर्ना गर्ने उद्देश्यले पुराना कम्पनीहरूको जस्तै सञ्चालन शैली अपनाउन खोज्ने व्यवसायीलाई नयाँ इजाजतपत्र नदिने पनि उनले बताए । नयाँ कम्पनीहरूलाई विदेशी कामदार भर्ना गर्न अनुमति दिइरहे विदेशी श्रमिकको संख्या बढ्दै जाने खतरा रहेको उनको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०