Friday, 14th August, 2026
वि.स.

१२ पास ? नेपाली सेनामा २८० अधिकृत क्याडेटकाे ढुक्क जागिर
नियमित दस्तुरमा २९ साउनदेखि १८ भदौसम्म आवेदन दिन सकिने

images-(3)-1786724016.jpg

नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जना भर्नाका लागि आवेदन आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले  २९ साउनमा प्रकाशित गरेको सूचनाअनुसार योग्य नेपाली नागरिकले खुला तथा समावेशी प्रतियोगितामार्फत आवेदन दिन सक्नेछन्।

आवेदन नेपाली सेनाको आधिकारिक भर्ना पोर्टलमार्फत अनलाइन भर्नुपर्नेछ। अनलाइन आवेदनपछि आवश्यक कागजातसहित आफूले रोजेको भर्ना छनोट केन्द्रमा आवेदन बुझाउनुपर्नेछ।

कुन समूहमा कति पद

कुल २८० पदमध्ये खुला तथा समावेशीतर्फ निम्न पद छुट्याइएको छ :

  • खुला :  १४६ जना
  • महिला : २४ जना
  • आदिवासी/जनजाति:  ३९ जना
  • मधेसी : ३३ जना
  • दलित :  १८ जना
  • पिछडिएको क्षेत्रस : ६ जना
  • सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्तति :  १४ जना

कहिलेसम्म आवेदन दिन सकिन्छ

नियमित दस्तुरमा  २९ साउन देखि १८ भदौ सम्म आवेदन दिन सकिनेछ।

नियमित अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर १९ भदौदेखि २५ भदौसम्म आवेदन दिन सक्नेछन्।

अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन आवेदन बुझाउन सकिनेछ।

शैक्षिक योग्यता

  • अधिकृत क्याडेटका लागि कक्षा १२ वा सोसरह उत्तीर्ण तथा स्नातक तह उत्तीर्ण उम्मेदवारले आवेदन दिन सक्नेछन्।
  • कक्षा १२ वा सोसरह उत्तीर्ण उम्मेदवारले अधिकृत क्याडेट तथा स्नातक तह उत्तीर्ण उम्मेदवारले स्नातक अधिकृत क्याडेटका रूपमा आवेदन दिन सक्नेछन्। स्नातक अधिकृत क्याडेटको सैनिक आधारभूत तालिम अवधि १२ महिना हुने जनाइएको छ।
  • दुवैका लागि SEE परीक्षामा गणित विषय लिएको हुनुपर्नेछ। लेटर ग्रेडिङ प्रणालीबाट अध्ययन गरेका उम्मेदवारले सूचनामा तोकिएको GPA/CGPA तथा ग्रेडसम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
  • विदेशी शिक्षण संस्था, बोर्ड वा विश्वविद्यालयबाट अध्ययन गरेका उम्मेदवारले सम्बन्धित निकायबाट प्राप्त समकक्षता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

उमेरको हद

उमेरको गणना नियमित आवेदन दिने अन्तिम मिति २०८३ भदौ १८ गते लाई आधार मानेर गरिनेछ।

कक्षा १२ वा सोसरह उत्तीर्णका लागि  : 

  • १८ वर्ष पूरा भएको
  • २१ वर्ष ननाघेको
  • जन्ममिति १९ भदौ, २०६२ देखि  १८  भदौ  २०६५ सम्म भएको

स्नातक तह उत्तीर्णका लागि

  • १८ वर्ष पूरा भएको
  • २४ वर्ष ननाघेको
  • जन्ममिति १९ भदौ , २०५९ देखि १८भदौ, २०६५ सम्म भएको

बहालवाला सैनिकका हकमा आवेदन दिने अन्तिम दिनसम्म २६ वर्ष ननाघेको हुनुपर्नेछ। साथै सैनिक आधार तालिम पूरा गरी कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको तथा सम्बन्धित युनिटपतिको सिफारिस आवश्यक पर्नेछ।

शारीरिक योग्यता

पुरुष उम्मेदवारका लागि : 

  • उचाइ कम्तीमा ५ फिट ३ इन्च
  • तौल कम्तीमा ५० केजी
  • छाती नफुलाउँदा कम्तीमा ३२ इन्च
  • छाती फुलाउँदा कम्तीमा ३४ इन्च

महिला उम्मेदवारका लागि : 

  • उचाइ कम्तीमा ५ फिट
  • तौल कम्तीमा ४० केजी

चस्मा प्रयोग गर्ने उम्मेदवारको आँखाको क्षमता सूचनामा तोकिएको सीमाभित्र हुनुपर्नेछ। स्वास्थ्य परीक्षणबाट समेत उम्मेदवार योग्य ठहरिनुपर्नेछ।

आवेदन दस्तुर

आवेदन दस्तुर १ हजार रुपैयाँ तोकिएको छ। समावेशीतर्फ एकभन्दा बढी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि तोकिएको दस्तुरको २० प्रतिशत थप रकम बुझाउनुपर्नेछ।

राजस्व रकम सम्बन्धित भर्ना छनोट केन्द्रका लागि तोकिएको बैंक खाता तथा राजस्व शीर्षक नं. १४२२४ मा बुझाउनुपर्नेछ।

कहाँबाट आवेदन दिने 

अनलाइन आवेदनका लागि नेपाली सेनाको आधिकारिक भर्ना पोर्टलमा गई RECENT VACANCY अन्तर्गत अधिकृत क्याडेट पदको विज्ञापनमा रहेको APPLY विकल्पबाट फाराम भर्न सकिनेछ।

अनलाइन फाराममा व्यक्तिगत, पारिवारिक तथा शैक्षिक विवरण, नागरिकता र आफूले आवेदन दिन चाहेको भर्ना छनोट केन्द्रलगायतका विवरण भर्नुपर्नेछ।

अनलाइन फाराम Submit गरेपछि प्राप्त फाराम र भौचर प्रिन्ट गरी आवश्यक कागजात तथा फोटोसहित आफूले रोजेको भर्ना छनोट केन्द्रमा बुझाउनुपर्नेछ। अनलाइन फाराम मात्र भरेर आवेदन पूर्ण भएको नमानिने सेनाले जनाएको छ।

आवेदन बुझाउने केन्द्र

उम्मेदवारले आफूलाई पायक पर्ने निम्नमध्ये कुनै एक भर्ना छनोट केन्द्र रोज्न सक्नेछन् स्

स्वयम्भू, काठमाडौं — केन्द्रीय भर्ना छनोट केन्द्र
इटहरी, सुनसरी — पूर्वी पृतना हे.क्वा.
बर्दिबास, महोत्तरी — मध्य पूर्वी पृतना हे.क्वा.
हेटौंडा, मकवानपुर — मध्य पृतना हे.क्वा.
विजयपुर, कास्की — पश्चिम पृतना हे.क्वा.
बुटवल, रुपन्देही — मध्य पश्चिम पृतना हे.क्वा.
निमारे, सुर्खेत — उत्तर पश्चिम पृतना हे.क्वा.
तेघरी, कैलाली — सुदूर पश्चिम पृतना हे.क्वा.

आवश्यक कागजात

आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, SEE को ग्रेडसिट तथा चारित्रिक प्रमाणपत्र, कक्षा १२ वा प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट तथा प्रमाणपत्र, स्नातक तहबाट आवेदन दिने भए स्नातकको ट्रान्सक्रिप्ट तथा प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, फोटो, समावेशी समूह प्रमाणित गर्ने कागजातलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ।

विदेशमा अध्ययन गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र पेस गर्नुपर्नेछ। सरकारी वा अर्धसरकारी संस्थामा कार्यरत उम्मेदवारले विभागीय स्वीकृति समेत बुझाउनुपर्नेछ।

छनोट प्रक्रिया

अधिकृत क्याडेट छनोटका क्रममा विभिन्न चरणमा परीक्षा तथा परीक्षण सञ्चालन हुनेछ।

मुख्य चरणमा :

  • बियरिङ तथा प्रारम्भिक स्वास्थ्य परीक्षण
  • शारीरिक परीक्षा
  • आईक्यू परीक्षा
  • लिखित परीक्षा
  • गुणमापकसम्बन्धी परीक्षा
  • विस्तृत स्वास्थ्य परीक्षण
  • बोर्ड अन्तर्वार्ता

लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने सूचनामा उल्लेख छ। प्रारम्भिक चरणमा सफल उम्मेदवारलाई मात्र क्रमशः अर्को चरणको परीक्षामा सहभागी गराइनेछ।

३१ भदौमा सम्पर्क गर्नुपर्ने

आवेदन बुझाएका उम्मेदवारले ३१ भदौ बिहान ११ बजे आफूले आवेदन बुझाएको सम्बन्धित भर्ना छनोट केन्द्रमा सम्पर्क गर्नुपर्नेछ।

परीक्षासम्बन्धी थप विवरण, पाठ्यक्रम तथा अन्य सूचना नेपाली सेनाको आधिकारिक वेबसाइट तथा भर्ना पोर्टलमा हेर्न सकिनेछ।

आधिकारिक आवेदन पोर्टल :  https://vacancy.nepalarmy.mil.np
नेपाली सेनाको वेबसाइट  : https://vacancy.nepalarmy.mil.np



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif