Sunday, 15th November, 2026
वि.स.

काठमाडौंमा १०० जनालाई निःशुल्क सीप सिक्ने अवसर, पाँच विधामा तालिम खुल्यो

907328767_169241983588953-1794719204.jpg

सीप सिकेर रोजगारी खोजिरहेका वा आफ्नै व्यवसाय सञ्चालन गर्ने सोचमा रहेका व्यक्तिका लागि काठमाडौंमा निःशुल्क तालिमको अवसर खुलेको छ। चन्द्रागिरि नगरपालिका–१३ कंकालीस्थित गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयले विभिन्न पाँच विधामा १०० जनालाई तालिम दिन आवेदन आह्वान गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित शिक्षालयले आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो । प्रत्येक विधामा २० जनाका दरले सहभागी छनोट गरिनेछ ।

शिक्षालयले सहायक ब्युटिसियन, सिलाइकटाइ, मन्टेश्वरी, ग्रामीण पशु स्वास्थ्य सहायक कार्यकर्ता र बेमौसमी तरकारी उत्पादनसम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ । तालिममा सहभागी हुन १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । मन्टेश्वरी तालिमका लागि एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता आवश्यक पर्नेछ भने अन्य चार विधामा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।

३९० घण्टाको तालिम, सहभागीलाई खाजा खर्चसमेत सबै तालिम तह–१ का हुनेछन् । तालिमको अवधि ३९० घण्टा अर्थात् ६५ दिन निर्धारण गरिएको छ । दैनिक ६ घण्टा सञ्चालन हुने तालिम शनिबारबाहेक सार्वजनिक बिदाका दिनमा समेत जारी रहने शिक्षालयले जनाएको छ ।

तालिमका लागि कुनै शुल्क लाग्ने छैन । सहभागी प्रशिक्षार्थीलाई तालिममा उपस्थित भएको दिनको आधारमा दैनिक ५० रुपैयाँका दरले खाजा खर्चसमेत उपलब्ध गराइनेछ । तालिम सम्पन्न भएपछि राष्ट्रिय सीप परीक्षण समितिमार्फत सीप परीक्षण हुनेछ। परीक्षणमा सफल हुने प्रशिक्षार्थीले तह–१ को प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लक्षित समुदायलाई प्राथमिकता तालिममा सहभागी छनोट गर्दा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई प्राथमिकता दिइने शिक्षालयले जनाएको छ । दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दा, विपन्न, सुविधाविहीन, लोपोन्मुख, अतिसीमान्तकृत र सीमान्तकृत समुदायका व्यक्तिलाई प्राथमिकतामा राखिनेछ ।

त्यस्तै, मधेशी, दलित, जनजाति, महिला, जेनजी आन्दोलन तथा भोटेकोशी बाढी प्रभावित, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिले पनि प्राथमिकता पाउनेछन् । आवेदन दिएका उम्मेदवारमध्ये अन्तर्वार्ताका आधारमा प्रशिक्षार्थी छनोट गरिनेछ। कुनै विधामा आवश्यक संख्यामा सहभागी नपुगे तालिम सञ्चालन नहुने शिक्षालयले स्पष्ट पारेको छ ।

मंसिर १५ सम्म आवेदन दिन सकिने तालिम लिन इच्छुक व्यक्तिले २०८३ मंसिर १५ गतेभित्र शिक्षालयमै उपस्थित भएर आवेदन दिनुपर्नेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तीन प्रति बुझाउनुपर्नेछ । अनलाइन आवेदनको व्यवस्था सूचनामा उल्लेख नभएकाले इच्छुकले शिक्षालयमा सम्पर्क गरी आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ ।

सम्पर्क तथा थप जानकारी:

  • संस्था: गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय
  • ठेगाना: चन्द्रागिरि नगरपालिका–१३, कंकाली, काठमाडौं
  • कार्यालय: ०१-५९२९५३१ पशुपति जोशी (शिक्षालय प्रमुख): ९८४१५८६७३४ सविना ढकाल (तालिम संयोजक): ९८४१४१९०७२ शारदा प्रभा रायमाझी: ९८४१९२८९२३
  • इमेल: gmsptichandragiri@gmail.com वेबसाइट: https://gmspti.edu.np/ इच्छुक व्यक्तिले आफूले सिक्न चाहेको विधि छनोट गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०