Tuesday, 17th November, 2026
वि.स.

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति भएर बन्यो थाहा अस्पताल

910738160_185817505520148-1794913879.jpg

थाहा नगरपालिकाको स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ‘थाहा अस्पताल’का रूपमा सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख विष्णुबहादुर बिष्टले १ मंसिरमा आयोजित कार्यक्रममा अस्पतालको औपचारिक उद्घाटन गरे ।

नेपाल सरकारको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालका रूपमा विकास गरिएको हो। उक्त मापदण्डले स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शय्याका अस्पतालको व्यवस्थापन, सेवा प्रवाह, जनशक्ति तथा न्यूनतम सेवा मापदण्ड निर्धारण गरेको छ ।

अस्पतालको सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउन उद्घाटनकै अवसरमा नयाँ अस्पताल सञ्चालन समिति पनि गठन गरिएको छ । नगर प्रमुख बिष्टको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा नगर उपप्रमुख भरत गोपाली रहेका छन् ।

सदस्यहरूमा सामाजिक विकास समिति संयोजक दिनेश बल, वडा नं. ४ का अध्यक्ष नारायण लामा, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी रहेका छन् । त्यस्तै, अस्पतालका प्रमुख डा. जोन्शन बिक समितिको सदस्य सचिव रहेका छन् । कार्यपालिकाले मनोनयन गर्ने गरी समितिमा थप दुई जना महिला सदस्य रहने व्यवस्था पनि गरिएको छ ।

अस्पताल सञ्चालनमा आएसँगै थाहा नगरवासीले स्थानीय तहमै आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । अस्पतालको सेवा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवा गुणस्तर सुधार गर्दै नगरवासीलाई सहज तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०