nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जहाँ पर्यटकले ‘बना’ समाइ-समाई कविता वाचन गरे

कविता सुन्न कहाँ जाने ? पक्कै कुनै कार्यक्रम वा साहित्यिक सम्मेलन । अनि अर्को सवाल, पर्यटन प्रवद्र्धनका लागि के गरिएला ? गोष्ठी, सेमिनार, सभा सम्मेलन यस्तै–यस्तै । तर  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अलि फरक तरिकाले पर्यटन प्रवद्र्धनको मेलो सारिएको छ । सँधै पर्यटकीय संभावना बोकेको ठाउँ भनेर भाषण भइरहने     इन्द्रसरोवरमा गाउँपालिकाले अरु भन्दा भिन्न ‘अक्कल’ लगायो । र, कार्यक्रमको लागि नारा नै बनायो–‘पर्यटनका लागि साहित्य ।’ यहि नाराले इन्द्रसरोवर गाउँपालिकाले साहित्य र पर्यटनबीचको अन्तरसम्बन्ध छरफस्ट पारिदियो ।    

मुलुकभरबाट मकवानपुरको इन्द्रसरोवर (कुलेखानी) मा १८ र १९ फागुनमा तीनदर्जन कविहरु उतार्न सफल भयो गाउँपालिका । मुलुककै पहिलो मानव निर्मित यो तालमा उनीहरूले दुई दिन बिताए, कविता सिर्जना गरे अनि सुनाए ।

इन्द्रसरोवरमा रोचक त झन के भयो भने, तालको वरिपरि झिलीमिली साँझबत्तीका साथ कविहरूले डुंगामै बसीबसी कविता सुनाए । कविहरुले एकहातले ‘बना’ समाइ–समाई डुङ्गा हाँके, कविता वाचन गरे । आफ्नो थलोमा आएका स्रष्टालाई सुन्न गाउँलेहरु झ्ण्डै आधारतसम्म ताल किनारमा बसे । तालछेउका बस्तीमा चिसो सिरेटो खपेर झ्याल र पिढीमै बसेर   चाख लाएर सुने । पर्यटकीय गन्तव्य इन्द्रसरोवर तालमा गाउँपालिकाले सर्वनाम थिएटरसँग सहकार्य गरेर स्रष्टाहरूलाई तालमा निम्त्याएको हो । 

‘पर्यटनका लागि साहित्य’ नाम दिइएको कार्यक्रमका लागि मकवानपुर सहित विभिन्न जिल्लाका स्रष्टाहरू १८ फागुन दिउँसो इन्द्रसरोवर ताल किनारमा पुगेका थिए । कार्यक्रमको उद्घाटन गर्नका लागि त्यहि साँझ पूर्वप्रधानमन्त्री झलनाथ खनाल पुगेका थिए । खनालले गोजीबाट आफ्नो कविता कृति ‘शताब्दीको पहिलो बिहान’ शीर्षकको कविता सुनाउँदै काव्ययात्रा उद्घाटन गरेका हुन् । तालको मध्यभागमा डुङ्गामा थपक्क बसेका कविहरूले कविता सुनाएका हुन् । ‘यो त निकै रोचक कार्यक्रम भयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘यसरी नै पर्यटनलाई साहित्यसँग जोडेर लान सकियो भने मुलुकलाई धेरै ठूलो योगदान पु¥याउँछ ।’ १९ फागुन बिहान भने स्रष्टाहरूबीच ‘मकवानपुरमा साहित्यिक पर्यटनको सम्भावना’ विषयक कार्यक्रपत्र प्रस्तुत गरी छलफल    चलाइयो । कार्यपत्र पस्केका थिए, जिल्लाकै कवि निमेश निखिलले । उनले कार्यपत्रमा मकवानपुरको सांस्कृतिक सम्पदा, प्राकृतिक र जैविक विविधता एवं पर्यटकीय थलोहरूको उल्लेख गर्दै यिनलाई साहित्य र लेखनमार्फत प्रवद्र्धन गर्न सकिने दाबी गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भीमफेदी उकालो चढ्ने क्रममै ‘यात्री’ कविता लेखेर उतिबेलै पर्यटन साहित्यको सुरुवात गरेको भए पनि जिल्लालाई साहित्यमार्फत चिनाउन थुप्रै काम गर्नुपर्ने उनले सुझाए । तामाङ, चेपाङ, वनकरियादेखि गोपालीसम्मको सांस्कृतिक विविधतालाई पनि पर्यटन र साहित्यसित जोड्नुपर्ने उनले बताए ।

कार्यपत्रमाथि कविहरू रमेश क्षितिज, भूपिन र अनिता न्यौपानेले टिप्पणी गरे । यसपछि पुनः ताल किनारमा कवि गोष्ठी गरियो । कवि उषा शेरचन, विप्लप ढकाल, ज्योति जंगल, राजेन्द्र पराजुली, रमेश क्षितिज, भूपिन, प्रोल्लास सिन्धुलीय, नवराज पराजुली, फूलमान वल, हेमन यात्री, विना थिङ तामाङ, राबत, अनिता न्यौपाने, अप्सरा तिम्सिना, संगीतश्रोता, असीम सागर, ईश्वर कँडेल, छवि अनित्य जोतारे धाइवा, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, बाबु त्रिपाठी, बिर्खे अञ्जान, रञ्जना निरौला, राम अविकास, सुदेश सत्याल, सुवास खनाल, हेम प्रभास, सौरभ कार्कीसहित स्थानीय कविहरू रश्मी लामा र श्याम लामाले समेत कविता सुनाए।

अघिल्लो दिन अर्थात् १८ फागुनमा गाउँपालिकाले गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा भने नवीन गोले, सुशीला वाइबा, अनिता लामा र निरुता कार्की उत्कृष्ट ठहरिए । इन्द्रसरोवरको पर्यटन प्रवद्र्धन गर्न मुलुकभरबाट कविहरू आउनु निकै उत्साहको क्षण बनेको बताउँदै गाउँपालिका अध्यक्ष जीवन लामाले आउँदा दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । उपाध्यक्ष उमाकुमारी लामाले पनि पहिलो पटक गाउँमा साहित्यकारहरू पाउँदा खुसी लागेको बताइन् । र, खुशी व्यक्त गरिन् । ‘यो एक किसिमले महत्वकांक्षी कार्यक्रम थियो,’ काव्ययात्राका संयोजक   राज शाहले भने, ‘व्यवस्थापन र तालभित्र सुरक्षाका अनेक समस्या थिए तर सोचेभन्दा राम्रो भयो ।’ गाउँपालिकाका तर्फबाट कार्यक्रम संयोजन गरेका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले इन्द्रसरोवरको पर्यटन प्रवद्र्धनमा कार्यक्रम कोशेढुंगा सावित भएको दाबी गरे।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)