Wednesday, 1st July, 2026
वि.स.

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री

suga-1600251760.jpg

जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएको हो । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका छन् ।

सुगा अहिले ७१ बर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री  भएका छन् ।

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताएका छन् । ‘मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’ उनले भने । उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । उनको मन्त्रीपरिषद्मा पूर्व अर्थ मन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ ।

सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका सुगालाई यसअघि गत सोमबार उहाँ पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो ।

सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेबारी निर्वाह गरेका थिए ।

गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिश्पर्धा गरेका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०