nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभलमा निःशुल्क देखाइने ६ वटा फिल्म यस्ता छन् 

tt-1700318635.jpg

राधा


सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’ले गर्भवती महिलाले श्रीमान्को खोजी गर्ने क्रममा भोगेको उतार–चढावलाई चित्रण गरेको छ । ‘द सिक्रेट्स अफ राधा’ नेपाली परिवेशमा गर्भवती महिलाले श्रीमान्को पर्खाइमा बस्दा गर्नुपरेको संघर्षको कथा बोकेको छ । 

निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा बनेको चलचित्रमा सृष्टि श्रेष्ठ र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । साथै चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने समेत रहेका छन् भने दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् । 

‘राधा’ ले फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड गरी तीन विधामा अवार्ड प्राप्त गरेको थियो । त्यसैगरी नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर तर्फको अवार्ड पाएको थियो । यो फिल्म अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत देशमा विशेष  प्रदर्शन भइसकेको छ । 

ऐना झ्यालको पुतली


झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि बाहिर निस्कन सक्दैन । यही सन्दर्भलाई प्रस्तुत गरिएको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई समेटेर सुजित बिडारीले निर्देशन गरेको फिल्ममा दिदी र भाइको सम्बन्धका आयामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । 

फिल्ममा पहाडी जिल्लाको एक गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई उतारिएको छ । जतिचोटि उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको सपना भताभुंग हुन्छ । किशोरीको पढ्ने सपनालाई ऐनाको झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार पारिएको छ । 

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्र बनेको ‘ऐना झ्यालको पुतली’ ले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्रसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको थियो । यो चलचित्र ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट सिफारिस भएको थियो ।

बुलबुल


नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा बेस्ट राष्ट्रिय फिल्म’ अवार्ड हात पारेको चलचित्र हो । पाँच विधामा अवार्ड पाएको चलचित्रको बेस्ट डाइरेक्टर÷बेस्ट स्क्रिन राइटर विनोद पौडेल, बेस्ट लिडिङ एक्टर स्वस्तिमा खड्का र बेस्ट को–एक्टर लक्ष्मी बर्देवा घोषित भएका थिए । 
‘बुलबुल’ लाई ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस गरिएको थियो । 

चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा नायिका खड्का, मुकुन भुषाल , वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्र पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका निर्देशक विनोद पौडेल हुन् । 

आमा खाण्डो


आमा खाण्डो मुस्ताङी भाषाको पहिलो नेपाली चलचित्र हो । फिल्ममा एकल आमाले सन्तानको भविष्यका लागि गरेको संघर्ष देखाइएको छ । मुस्ताङबाट जाडो छल्न शहरतर्फ हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषयवस्तु हो । उनी आफ्नो छोरालाई सहरमा राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन् । आमा खाण्डोको नेपाली अर्थ परी आमा हो ।  

ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको फिल्मको अधिकांश दृश्य उपल्लो र तल्लो मुस्ताङमा खिचिएको छ । फिल्ममा पेमा डोल्कर, कर्णवीर बलिया, कार्चुङ, न्यिमा डोल्मा, छिरिङ ढोन्डुप, लाक्पा वाङदी, सम्तु गुरुङ भुम्चुङलगायतले अभिनय गरेका छन् । यसको वर्ल्ड प्रिमियर २४ औं बुसान(दक्षिण कोरिया) अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमार्फत भएको थियो । 

आमा खाण्डोले राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको थियो ।

डेसान


नेपाली चलचित्र ‘डेसान’ मा नम्रता सापकोटा, भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नारी संवेदना, पारिवारिक प्रेम, धोका, बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरिएको छ ।

चलचित्र कोरोना महामारीको समयमा सुटिङ गरिएको थियो । चलचित्रमा गाउँ समाजमा भएका घटनाहरूलाई समावेश गरिएको छ । 

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । 
प्रकाश


नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता बोकेको चलचित्र हो । चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको छ ।

दिनेश राउतको निर्देशन तथा नायक प्रदिप खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका छन् । -थाहा टाइम्स मनोरन्जन डेस्क



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)