nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

को हुन् यी रुप बदल्ने केटी ?

KT-1603976120.jpg

एक जना मान्छे कति अनुहार लिएर बाँच्न सक्छन् ? वा भनौं, आफुलाई कतिथरी रुपरंगमा विभजित गर्न सक्छन् ?

कहिले ऐश्वर्य राय जस्तो त कहिले माइली साइरस । कहिले एन्जोलिना जोली जस्तो त, कहिले रिहान्ना । कहिले दुरुस्तै डिज्नीका कार्टुन क्यारेक्टरमा त कहिले मौलिक नेपाली ठाँटमा । के यति विविध अनुहार लिएर बाँच्न संभव छ ?

प्रमिस तामाङलाई भेट्नुभयो भने तपाईं निर्धक्कसाथ भन्नुहुनेछ, ‘विलकुल संभव छ ।’

प्रमिस तामाङ । यो नाम तपाईंको निम्ति अलि अपरिचित लाग्न सक्ला । तर, भर्चुअल विश्वमा उनको ख्याती सानो छैन । ‘मेकअप गुरु’को रुपमा उनले जुन चर्चा पाएकी छिन्, त्यो आफैमा लोभलाग्दो र दुर्लभ छ । वैश्विक स्तरमा यस्तो लोकप्रियता पाउने थोरै नेपालीमध्ये एक हुन् प्रमिस ।

बेलायती पत्रिका द सन, डेली मेल, हफिङटन पोस्टदेखि याहु वेबसाइट लगायतले उनको सौन्दर्य जादुको वखान गरेको छ ।

प्रमिसलाई नजिकबाट जान्नका लागि उनको युट्युब च्यानल ‘डिओपिइ २१११’ लगअन गर्नुपर्छ । यही भर्चुअल आलोकमा टेकेर उनी विश्वमाझ ‘सौन्दर्य ज्ञान’ बाढिरहेकी हुन्छिन् । यस च्यानलमार्फत उनलाई करिब ६० लाखले पच्छ्याइरहेका छन् । प्रमिसको एउटै भिडियो सरदर एक करोड पटक हेरिन्छ । यस्ता असंख्यौं भिडियोमा उनले आफ्नो अद्भूत शिल्प पेश गरिसकेकी छिन् । ‘एन्जोलिना जोलीमा रुपान्तरण’ भएको भिडियो नै दुई करोड बढी पटक हेरिएको छ ।


अब यो अंकगणितपछि लागौं, उनको खुबीतर्फ । खासमा के गर्छिन् त उनले ?

उनको खुबी त्यसबेला झल्कन्छ, जब उनी सौन्दर्य प्रशधनका साथ युट्युबमा प्रकट हुन्छिन् । आफ्नो अनुहार लिपपोत गर्छिन् । अपत्यारिलो ढंगमा उनको रुप ब्लिन्छ । कुनै सेलिब्रेटीमा दुरुस्तै आफुलाई रुपान्तरण गर्छिन् ।

मंगोल वर्णकी प्रमिसको अनुहार आफैमा एक त्यस्तो क्यानभास हो, जुन अद्भूत ढंगले अनेकौ सेलिब्रेटीमा रुपान्तरण हुन्छ । यसरी संसारका थुप्रै सेलिब्रेटीलाई उनले आफ्नो अनुहारमा रुपान्तरण गरिसकेकी छिन् । यही खुबीका कारण उनलाई उपमा दिइएको छ, रुप बदल्ने केटी ।

युट्युबमा उनीसँग लाखौं तन्नेरीले अन्र्तक्रिया गरिरहेका हुन्छन् । उनले मेकअप टिप्स दिइरहेकी हुन्छिन् । आफ्नै अनुहारमा कुशलतापूर्वक चल्ने कुची, अनेक भावभंगीमा हुने रुपान्तरण, सौन्दर्यप्रतिको खास दख्खल । आखिर उनले यी सबैकुरा कसरी प्राप्त गरे ?

तपाईंलाई अचम्म लाग्नसक्छ, प्रमिसले सौन्दर्य सम्बन्धी कुनै औपचारिक तालिम-शिक्षा लिएकी छैनन् । उनले ‘आत्माबाटै स्वतः स्फूर्त’ यो ज्ञान हासिल गरेको बताउने गरेकी छिन् । १४ बर्षको उमेरदेखि नै आफुले मेकअपको निरन्तर अभ्यास गरिरहेको उनले बताउने गरेकी छिन् ।

को हुन् प्रमिस ?

प्रमिस तामाङको सार्वजनिक चिनारी, मेकअप गुरु । नेपाली परिवेशमा चिनाउन सजिलो नाम, प्रतिज्ञा तामाङ । जन्मथलो, गोरखाको खैरेनी । अहिले उनी अमेरिकाको फ्लोरिडामा बस्छिन् ।

उतै घरजाम गरेर । उनले अन्तरदेशिय विवाह गरेकी हुन्, भियतनामी मुलका स्टिभ फानसँग ।  अमेरिकामा वसोवास गरेपनि प्रमिस नेपालीपनमा रमाउँछिन् । चाहे खानेकुरा होस् वा पहिरन, उनलाई नेपाली मनपर्छ । चिल्लोपिरो, चना चटपटेमा उनको जिब्रो लोभिएको छ । नेपाली कल्चरल नृत्य गर्छिन् । त्यसो त हिपहप र ब्रेक डान्समा पनि उनको खास रुची छ । प्रमिसलाई पोखरा औधी मनपर्ने ठाउँ हो ।

कसरी बनिन् मेकअप गुरु ?

उनको विगत पच्छ्याउन ११ बर्ष पछाडि फर्कनुपर्ने हुन्छ । अर्थत सन् २००९ मा । यहीबाट उनको जीवनले नयाँ मोड लिएको हो ।

ब्लकबस्टर हलिउड चलचित्र ‘अवतार’को एक पात्र ‘नाभी’को रुपरंगमा आफुलाई उतारिन् । यो भिडियो युट्युबमा राखिन् । भिडियो धेरैले रुचाए । हुन त यसअघि उनले फेसबुकमा पनि यही भिडियोबाट तारिफ बटुलिसकेकी थिइन् । फेसबुकमा भिडियो राख्ने जाँगर चाहि उनलाई पहिलेदेखि नै थियो । खासमा उनी सांस्कृतिक नृत्यमा पोख्त थिइन् । मस्त नाच्थिन् र त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्थिन् ।

त्यसपछिका दिनमा उनले आफुलाई विभिन्न सेलिब्रेटीहरुको हुलियामा प्रस्तुत गरिन् र युट्युबमा भिडियो राख्दै गइन् । यस्तै भिडियोले उनलाई जोड्यो, भियतनामी स्टिभ फानसँग । खासमा प्रमिसले एन्जोलिना जोलीमा रुपान्तरण भएको जुन भिडियो अपलोड गरेकी थिइन्, त्यही भिडियो नै स्टिभ फानसँग जोड्ने सेतु बन्यो । सर्वाधिक हेरिएको उक्त भिडियोले उनीहरुलाई सुरुमा साथी र पछि जीवनसाथी बनाइदियो ।

भनिहालौं, स्टिभ फान चर्चित मेकअप आर्टिस्ट मिसेल फानका साख्खै भाइ हुन् । यसरी मेकअप आर्टिस्टसँगै पारिवारिक सम्बन्ध गाँसिएपछि प्रमिसको मूलकर्म नै यही बन्यो । सौन्दर्य प्रशाधनको प्रयोग गरेर आफ्नै अनुहार लिपपोत गर्ने, थरीथरीका सेलिब्रेटीमा आफुलाई रुपान्तरण गर्ने, युट्युबमा भिडियो राख्ने, सौन्दर्य पारखीहरुसँग अन्तर्क्रिया गर्ने, सौन्दर्य ज्ञान बाढ्ने । यही एकनासको रचनात्मक कर्मले उनलाई फरक आलोकमा प्रशिद्धि प्राप्त भयो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)