purse-harayo-suchana-1638264288.jpg
Wednesday, 1st December, 2021
वि.स.
Dashain-Ukesh-1634132689.jpg

कोरोनाले खोसेको घर फर्कने खुसी

कबलन-1589457714.jpg

उहाँको नाम राजेशविक्रम थापा। हाम्रो चिनजान जापान आएर भएको हो। एक जना आफन्तमार्फत चिनजान गरी बिहे गर्ने कुरा छिनेका थियौँ। यतै इन्गेजमेन्ट गरेर सँगै बसेको दुई वर्ष पूरा भइसकेको छ। पहिला हामी रेस्टुरेन्टमा सँगै काम गर्थ्यौँ। काम गर्ने ठाउँमा थापाजी भनेर बोलाउँथेँ। त्यही बानी बसेछ। अहिले पनि म उहाँलाई बोलाउँदा थापाजी भन्छु। नेपाल गएर बिहे गर्ने, मन्दिर घुमघाम गर्ने, आफन्तसँग भेटघाट गर्ने विचार गरेका थियौँ।

चीनमा कोरोनाको कहर सुरु हुनुअघि नै हामी नेपाल फर्कने निधो भएको थियो। चैत १४ गतेका लागि प्लेनको टिकट काटिसकेका थियौँ। नेपाल गएर बिहे गर्ने मिति तय भइसकेको थियो। यसपालि देवरबाबुको पनि बिहे गर्ने कुराले अर्कै रौनक ल्याएको थियो। माइतमा ५ वर्षपछि छोरी जापानबाट फर्कने खुसी थियो, ज्वाईंलाई पहिलो पटक भेट्न पाउने खुसी थियो। बिहे भएर घर भित्रिने हाम्रो खुसी थियो। घरपट्टि छोरा-बुहारी भित्र्याउने खुसी थियो। हाम्रो घरमा खुसी नै खुसी थियो।

ममीले भिडियो कलमा ‘छोरा अब त चैत लाग्यो। यत्रो वर्ष त कुर्‍यौँ, अब १०/१५ दिन त यसै बितिहाल्छ’ भन्दा अत्यास भन्ने कुरा कति वेग बोकेर आउँछ भन्ने लाग्थ्यो। ममीले हामी चारै छोरीलाई छोरा भनेर बोलाउनुहुन्छ। भाइ धेरै पछि जन्मेर छोराको इच्छा दबाउन पनि हो कि?

हाम्रो बिहे हुन लागेको र म नेपाल फर्कन लागेको कुरा मेरो अफिसका सबैलाई थाहा थियो। म फर्कने दिन नजिकिंदै गर्दा सँगै काम गर्नेहरुबाट उपहार पाउन थालिसकेकी थिएँ। काममा जापानीसँग भेट हुने अन्तिम दिन किसिदा जीले (気おつけて行ってきてね、ご結婚おめでとう、体気おつけて) ‘ख्याल गरेर नेपाल गएर आउनु , विवाहका लागि बधाई, शरीरको ख्याल गर्नु’ भन्नु भो। जापानमा बधाई शुभयात्राका म्यासेजहरु बढी आउन थालेपछि मनले सोचेँ अब साँच्चिकै नेपाल जाने दिन आयो।

हाम्रो प्लेन क्यान्सिल होला, हाम्रो विवाह रोकिएला र म यसपालि पनि देश फर्किन पाउँदिन भनेर मैले सोचेकै थिइनँ। नेपाल फर्कने तयारीको किनमेल पनि पूरा भइसकेको थियो। जापानमै बस्ने नुवाकोटकी साथी मनीताले मेरो डायरीमा उसले लेखेको कुरा पढेकी थिई ‘म अरू केही भन्दिनँ। तिम्रो लागि मात्र भए पनि प्लेन उडोस्। यति खुसी छौ। भगवान्‍को वर्त बस्छु। तिमी उड्ने प्लेन क्यान्सिल नहोस् भनेर भगवान्‍सँग प्रार्थाना गर्छु।’

‘हुने हार दैव नटार’ भने जस्तै लेखेको कुरा भएरै छोड्छ। लेखेको नै त्यही थियो। चैत ७ गतेपछि जापानबाट नेपालसम्म प्लेन नउड्ने भयो। लाग्यो घर फर्कने सपना पनि त्यही अन्तिम प्लेनसँगै उडे। अब वर्षौं लाग्छ ती सपना फर्कन। हाम्रो विवाहको तयारी, धूमधामका योजना, स्वागतका लागि बसेको विमानस्थल सप्पै सुनसान। निराश हुँदै थापाजीलाई भनेँ, ‘नेपालमा बिरामी कत्ति न बढे जस्तो एक हप्ता त कुर्नु नि सरकार पनि। उसलाई कति आतुरी भाको के जापानको फ्लाइट रोक्न?’

थापाजीको उत्तर थियो, ‘कस्तो कुरा गरेकी तिमीले? सरकारलाई गाली गर्न पाइन्छ? तिमी नेपाल जान पाइनौ भनेर प्लेन उडाउन भएन नि कोरोना बढेपछि गाह्रो छ नि यार। नेपाल गए पनि बुबाआमालाई सर्ने डर हुन्छ। यो बेला जहाँ छौँ त्यहीँ बस्नु नै ठीक हो। मलाई त बाआमाको माया छ। त्यसैले टिकट क्यान्सिल भाकै ठीक लाग्यो।’

मनमनै सोचेँ, ठीकै त हो। कोरोना रोगै यस्तै छ। आफूलाई लक्षण नदेखिए पनि कमजोर र बढी उमेरकालाई सर्ने।

चैतको अन्तिमतिर जापानमा एक्कासि कोरोनाका बिरामी बढ्न थाले। हाम्रो काम रोकिएन। यहाँ गुड्ने रेलमा मान्छेको चाप, दौडाइ केही कम भएन। मास्क लगाऔँ, ख्याल गरौँ भनेर सरकारले अनुरोध गर्‍यो। मनमा डर त्रास बोकेर हामी काममा जान्थ्यौं। घरमा काममा जाँदैनौँ भनेर झूट बोलेका थियौँ। एकदिन म काममै थिएँ एक्कासि बुबाको म्यासेज आयो, ‘के गर्दैछौ? भिडियो कल गर त।’

बुबालाई शङ्का लागेको थियो थिएन मलाई थाहा छैन तर एउटा झूट लुकाउन अर्को झूट बोल्नुपर्‍यो मैले। ‘म तरकारी किन्न आएकी छु। घर पुगेर फोन गर्छु’ मैले म्यासेज रिप्लाई गरेँ।

केही दिनपछि जापानले लकडाउनको कानुन जापानमै नभएको भनेर नयाँ विशेष कानुन बनाएर सङ्कटकाल भनेर घोषणा गर्‍यो। समाचारमा सङ्क्रमण हुनेको संख्या बढ्दै जाँदा हामी पनि बिस्तारै डराउन थाल्यौँ। कोरोनाको सङ्क्रमण रोक्न जापानमा सङ्कटकाल भने पनि सक्नेले घरबाट काम गरेका छन्। यहाँको दिनचर्यामा खासै परिवर्तन छैन। रेलको गति उही छ, मान्छेको दौडाइ उस्तै छ। कति जना बाध्य छन्। उनीहरूले काममा जानैपर्छ।

हामी त डरायौँ। आफैले आफैलाई लकडाउन गरायौँ। तर कति विद्यार्थी कुकहरुले भिषा बचाउन, ऋण तिर्न र गुजारा चलाउन काममा जानैपर्छ। अहिले हामी घरभित्रै छौँ। हिजोआज अरू बेला जस्तो काममा दौडिन हामीलाई त्यति हतारो छैन। कोठा सफा गर्ने फुर्सद हुन्छ। हाम्रो कोठाको साइड रुममा को मान्छे बस्छ थाहा थिएन। जापानीको परिवार बस्दो रहेछ केटाकेटीहरु छतमा खेल्न आउँदा रैछन्। कागहरू चारो खोज्दै छतमा आउने रैछन्। हाम्रो कोठा वरिपरिका घर पसल कुन रङका छन् अब थाहा पाइसक्यौं।

आजकल घरमा बसेर बाआमाका गफ सुन्न पनि खुब रमाइलो लाग्छ। बुबाआमाको फोन पनि धेरै आउँछ। दिदी, बहिनी, भाइ घर गएपछि आमालाई काम गर्न सजिलो भएको छ। नत्र खेतबारी, घाँसपात, स्कूल, घर, गोठ सबै काम आमाले गर्नुपर्थ्यो। चैतको तेस्रो सातातिर बुबालाई फोनमा ‘के छ बुबा गाउँको खबर’ भनेर सोधेकी थिएँ।

‘हाम्रो गाउँमा त लकडाउन कडा छ। हिजो बागलुङबाट मसान्ती बार्न भनेर आएछन् दुई जना एम्बुलेन्समा राखेर बागलुङ छोडेर आए। त्यसो नगरे आफैलाई कोरोनाको डर,’ बुबाले भन्नुभएको थियो। फोन राखेपछि सोचें उपचार पाइन्न भन्ने थाहा भएपछि कोरोनासँग लड्न सबै जना जुटेका छन्। ईश्मा गाउँपालिकाले लकडाउनमा राहत वितरण गर्न गरेको प्रयास एकदम राम्रो लाग्यो। कम्तीमा जनता सचेत हुनु पनि राम्रो कुरा हो नि। नेपालमा सीमित स्रोतसाधनका बीच कोरोना सङ्क्रमण फैलियो भने गाह्रो हुन्छ भनेर लकडाउन नै उत्तम विकल्प रैछ भन्ने मलाई लाग्यो।

विदेशमा त जसोतसो अस्पतालहरूमा जाँच होला भन्ने लाग्छ तर हिजोआज विकसित देशमा अस्पतालमा बेड नपाएर मान्छे मरेका खबर पनि आइरहेका छन्। हामीले पनि डरैडरमा आफैलाई लकडाउन गराएका हौँ। हामीसँग फुर्सद त छ तर गाउँमा जस्तो खेती लगाउने काम छैन। नेपालको याद त आउँछ तर जाने उपाय छैन। सासू आमाले फोनमा भन्नुहुन्छ, ’तिमीहरु नजिकै त हो, केही हुन्न भन्दै घुम्ला जाउला। नजाओ है नजाओ’। माइतीबाट आमा भन्नुहुन्छ, ‘ज्यान हो ठूलो कुरा। ज्यान जोगाएसी पैसा कमाइन्छ। कति कमाइयो कति खर्च गरियो यस्तै हो। बाहिर नजानु छोरा।’

‘तरकारी किन्न जादाँ कोराना बोकेर आउनुहोला ख्याल गर्नुस्’ भनेर म थापाजीलाई जिस्क्याउँदै सतर्क गराइरहन्छु। कोरोनाबाहेकका कुरा नहुँदा कहिलेकाहीँ वाक्क पनि लाग्छ आजकल। घरभित्र बस्न थालेको पहिलो हप्ता त खुब रमाइलो भयो। हामी दुईले एकअर्कालाई समय दिन नपाएका रहेछौँ। हामी गफ गर्ने, नयाँनयाँ परिकार बनाउने, कोठा सजाउने र नाच्ने गरेर दिन बिताउँछौँ।

केही महिनाका लागि पुग्ने खानेकुरा छ। महिनौं लम्बियो भने कसरी के गर्ने भन्ने लागेको छ। अर्काको देशमा उधारो मागेर चल्दैन। नेपालमा काठमाडौँमा रहेका मजदुर कोरोनाभन्दा अघि खान नपाएर मरिन्छ भनेर हिम्मत बटुलेर घर गए। हप्तौँ हिँड्न उनीहरुलाई रहर थिएन।

हामी पनि परदेशका मजदुर त हौँ। हिँडेर गयो भने नेपाल पुग्न कति लाग्दो रैछ भनेर एकदिन झोँक चलेर गुगल सर्च गरेर हेरें। १०८ दिन हिँड्दा टोकियोबाट काठमाडौँ पुगिने रहेछ।

यो कहर महिनौँ लम्बियो भने मृत्युको सिरानी लगाएर निदाउनुपर्ने हामी जस्ता थुप्रै परदेशी मजदुरलाई बाँच्न गाह्रो हुन्छ। परदेशमा आफ्नो गाउँमा जस्तो सरसापटी, उधारो चल्दैन। काम पाउन्जेल, भएको पुगुन्जेल त खाने हो। न उडेर घर पुग्न सक्छौँ, न कोही लिन आउने आश बाँकी छ। यसो फुर्सद भयो कि मनले के के सोच्छः उड्न भनेर तयार गरेका लगेज, पखेटा हालेका सपना, किनेमेल गरेका सामान सप्पैलाई पन्छाएर। मन ठूलो, फराकिलो बनाएर कुनै दिन फर्कन पाइएला, रमाउन पाइएला, आमालाई अँगालो हाल्ने दिन आउला भन्ने आश गरेर चित्त बुझाउँछु। घर, याद, सम्झना, दु:ख बिर्सेर कोरोनासँग लड्नु सिवाय हामी अहिले अरू के गर्न सक्छौँ र !

Lockdown Stories बाट साभार



Dashain-Yugal-1634128548.jpg
Dashain-Ganeshman-Shresth-1634180448.jpg
Apil-ward-6-1634212880.jpg
Apil-Ward-8-1634212920.jpg
Apil-Ward-11-1634212986.jpg
Apil-Ward-12-1634213008.jpg






Dashai-Jiyo-Bhim-1634040682.jpg
Dashai-Krishna-Balami-1634040714.jpg
Dashai-Sudip-Adhikari-1634040764.jpg
Dashai-Ramprashad-Gopali-1634040808.jpg


Dashai-Srikrishna-KC-1634130800.jpg

Dashain-Bishnu-Bista-1634180087.jpg
Dashain-Ramhari-Adhikari-1634180197.jpg
Dashai-Sanobhai-Karki-1634180249.jpg
Dashain-Rajeev-Syangtan-1634180279.jpg
Dashain-Bishnuhari-Dhakal-1634180314.jpg
Dashain-Nawaraj-Bista-1634180353.jpg
Dashain-Jayram-KC-1634180382.jpg