Thursday, 20th August, 2026
वि.स.

संरक्षणको पर्खाईमा गुप्तेश्वरी गुफा

हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–४ पान्द्राङमा एउटा महत्वपूर्ण गुफा रहेको छ तर, यसको उचित संरक्षण र प्रचारप्रसारको अभावमा धार्मिक एवम् पर्यटकीय विकास हुन सकेको छैन । हेटौंडा बजारबाट १५ किलोमिटर उत्तर तर्फ रहेको उक्त गुप्तेश्वरी गुफा मूल सडकबाट करिब २० मिनेट उकालो हिँडेपछि पुगिन्छ तर, यति नजिकै रहे पनि यसको संरक्षण र प्रवद्र्धनमा भने हालसम्म कसैले चासो देखाएका छैनन् । प्राकृतिक रुपमा नै करिब ५० मिटर लामो गुफा भित्र अलौकिक शिलाहरु स्वःउत्पति भएका छन् । त्यहाँका स्थानीय र केही बाहिरका मानिसहरु गुफामा छिरेर पूजा गर्ने तथा घुमेर आनन्द लिने गरेका छन् ।

भीमफेदी गाउँपालिकाका कार्यपालिका सदस्य सूर्यबहादुर भुजेलका अनुसार गुप्तेश्वर गुफा सयौं वर्ष अघिदेखि नै उत्पति भएको मानिन्छ । पोखरामा रहेकै प्रकृतिको गुफा आफ्नै ठाउँमा भए पनि त्यसको प्रचार प्रसार र प्रवद्र्धन गर्न नसकिएकाले पछाडि परेको गाउ“ कार्यपालिका सदस्य भुजेलले बताए ।गाउँपालिकाले सवर्षबाट पर्यटकीय सम्भावनाको क्षेत्रको रुपमा गुफालाई पहिचान गरी काम अघि बढाएको उनले जानकारी दिए ।गुफाको संरक्षणका लागि धरानबाट तीन जना आएर त्यस क्षेत्रमा बसेका छन् । ‘हामीलाई सपनाको माध्यमबाट यो ठाउँको बारेमा थाहा भयो,’ आफ्नो परिचय खोल्न नचाहने उनीहरुले भने, ‘हामी सोध्दै खोज्दै यहाँ आएर बसेका छौं । हामी यहाँ ध्यान गछौं । यसको आध्यात्मिक पक्षको अध्ययन गरिरहेका छौं ।’ करिब एक वर्ष अघि आएका उनीहरुका लागि गाउँपालिकाले सामान्य बन्दोवस्त गरिदिएको छ । उनीहरुका अनुसार उक्त गुफामा धेरै देवीहरुको मुर्तिहरु छन् । श्री स्वस्थानी व्रतकथामा सतिदेवीले अग्नी कुण्डमा हामफालेर आफ्नो प्राण त्याग गरेपछि महादेवले उनको मृत शरीर लिएर डुल्छन् । डुल्दै जाने क्रममा विभिन्न स्थानमा सतिदेवीको विभिन्न अंगहरु पतन हुँदै जान्छ । यसैक्रममा सतिदेवीको भित्री अंगहरु पतन भएको स्थानको रुपमा गुप्तेश्वर महादेव उत्पत्ती भएको मान्यता रहि आएको छ । संरक्षणका लागि बसिरहेकाहरुले पनि यही विषयमा आफूहरुलाई सपनामा ज्ञान प्राप्त भएको दावी गर्छन् । ५० मिटर लामो गुफामा आफैं उत्पति भएका मुर्तिहरु रहेका छन् ।

सिद्ध गणेश, सिद्ध महादेव, गुप्तेश्वरी महादेव र पातालेश्वरी महादेवका मुर्तिहरु आफैं उत्पति भएको छ । उक्त गुफामा पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रही आएको छ । उक्त गुफाको दर्शन गर्दा विशेषगरी सन्तान नभएकाहरुले सन्तान प्राप्ति गर्ने जनविश्वास रही आएको छ ।मूल सडकबाट माथि उकालो लागेपछि बीचबीचमा रंगिविरंगी झण्डाहरुले गुफासम्म दिशानिर्देश गर्छन् । गुफासम्म पुग्न सामान्य गोरेटो बाटो भए पनि कुनै पनि सवारी त्यहाँसम्म पुग्न सक्ने अवस्था छैन । हेटौंडा र आसपासका क्षेत्रबाट त्यहाँ दर्शनका लागि केही दर्शनार्थी र अवलोकनकर्ता पुग्ने गरेका छन् ।

गुफाको संरक्षण र त्यसको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय र धार्मिक क्षेत्रको रुपमा विकास गर्ने योजनामा आफूहरुको रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । ‘गुफा छ भन्नेसम्म थाहा थियो तर, त्यसको महत्व र सम्भावनाहरु धेरै रहेको भन्ने कुरा हामीले भर्खरभर्खर मात्र जानकारी भएको छ, अब हामी त्यसको प्रवद्र्धनमा जुटेका छौं, आवश्यक बजेट पनि छुट्याउनेछौं ।’ गाउँपालिका अध्यक्ष लामाले भने ।आवश्यक भौतिक पूर्वाधारको निर्माण, गुफासम्म पुग्ने सिँडीयुक्त बाटो निर्माण, सडक छेउमा परिचयसहितको बोर्डहरु तत्काल राखिए गुफाको प्रबद्र्धन हुँदै जाने स्थानीयको भनाइ छ ।

गुफाको उचित संरक्षण र प्रवद्र्धन हुन सके गुप्तेश्वरी गुफाले भीमफेदी गाउँपालिकाको मात्र नभई सिंगो मकवानपुरकै पर्यटकीय गतिविधिमा महत्वपूर्ण योगदान दिन सक्ने अवलोकनकर्ताको ठम्याई रहेको छ ।

-साझाकुराबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif