nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बेलायतकी महारानीले उपहार दिएको बग्गी प्रदर्शनीमा

6136a63feb719_Untitled-1-1630976751.gif

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको सुवर्ण बग्गी सोमबारबाट सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताउँदै भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको बग्गीबारेमा धेरैलाई चासो थियो । नेपाली सेनासँग मागेर ल्याएका छौँ । अब यो प्रदर्शनीमा रहिरहनेछ । ”

बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलो पटक २०१६ साल फागुनमा नेपाल भ्रमण आउनुभएका बखत उपहारका रूपमा यो बग्गी प्रदान गर्नुभएको थियो । यस्तो बग्गी संसारमा दुईवटा मात्र रहेको दाबी गरिएको छ । एउटा बग्गी अझै पनि बेलायती महारानीले प्रयोग गर्दै आउनुभएको छ र सो बकिङघम दरबारमा छ । त्यो बग्गीमा बत्ती जडान भएकाले राति पनि प्रयोग गर्न सकिन्छ तर उपहार प्राप्त बग्गीमा बत्तीको व्यवस्था छैन । बग्गी निर्माता कम्पनी अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भनी बग्गीको पछिल्तिर लेखिएको छ । सो कम्पनी सन १७९१ मा स्थापना भएको हो र यसले बेलायती दरबारका लागि विभिन्नखाले बग्गी तयार गरेको थियो । नारायणहिटी दरबारका पूर्वसचिव शम्भुुप्रसाद अधिकारीले बेलायती महारानीको पहिलो नेपाल भ्रमणका बखत उपहार पाएको बताउँदै भन्नुभयो, “बग्गी पानी जहाज हुँदै ल्याइएको थियो । राजा महेन्द्रका पालामा यसको प्रयोग भएन । राजा वीरेन्द्रको शुभराज्याभिषेकका बेलामात्र पहिलो पटक प्रयोगमा ल्याइएको थियो । ” वीरेन्द्रको राज्याभिषेक २०३१ साल फागुन १२ गते सम्पन्न भएको थियो ।

बेलायती महारानी एलिजाबेथ द्वितीया दोस्रो पटक २०४२ साल फागुनमा नेपाल भ्रमणमा आउनुभएका बेला यो बग्गी प्रयोग गरिएको थियो । नारायणहिटी दरबारका पूर्वप्रमुख रोहित ढुङगानाले भन्नुभयो, “त्यो बेला वसन्तपुर क्षेत्र (काष्ठमण्डप)मा बेलायती महारानीको नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दनपछि उहाँलाई यसै बग्गीमा राखेर नारायणहिटी दरबारसम्म लगिएको थियो । ”

अन्तिम राजा ज्ञानेन्द्र शाहको राज्याभिषेकका लागि बग्गीलाई मर्मत गरिएको थियो तर राज्याभिषेक हुन पाएन । त्यसपछि बग्गी दरबारभित्रको घोडा तबेलामा राखिएको थियो । २०७२ सालको भूकम्पले बग्गी क्षतिग्रस्त भएपछि त्यसलाई करिब पाँच लाख रुपियाँ खर्च गरेर पुनः मर्मत गरिएको थियो । पूर्वप्रमुख ढुङगानाले चक्का भाँच्चिएको र काठ धमिराले खान थालेको हुँदा मर्मत गरेर आफूहरूलाई आवश्यक परेका बखत फिर्ता दिने सर्तमा नेपाली सेनालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । गोरखापत्रबाट