Friday, 20th November, 2026
वि.स.

४ मंसिरमा ऋषेश्वरमा भव्य एकादशी मेला हुँदै

IMG_20261119_200814-1795098810.jpg

हरिबोधनी एकादशीको अवसरमा मकवानपुरको थाहा नगरपालिका–४ स्थित तीर्थस्थल ऋषेश्वरमा लाग्ने ठूलो एकादशी मेलाको तयारी पूरा भएको छ । मेलामा सहभागी हुने भक्तजनको सुविधालाई ध्यानमा राख्दै आयोजकले आवश्यक व्यवस्थापनसमेत मिलाएको जनाएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा रहेको ऋषेश्वर (छ्युमिग झ्याङछुप) मा हरेक वर्ष ठूलो एकादशीका दिन र फागुपूर्णिमामा विशेष मेला लाग्ने परम्परा छ ।

एकादशीको अघिल्लो रात दीप प्रज्वलन गर्दै जाग्राम बस्ने चलनअनुसार यस वर्ष पनि भक्तजनहरू ३ मंसिर साँझदेखि नै ऋषेश्वर परिसरमा भेला भएका छन् ।

मेला अवधिभर धार्मिक क्षेत्रको मर्यादा कायम राख्न ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले माछामासु र मदिराको खरिद–बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यसैगरी आर्थिक लेनदेन हुने कुनै पनि प्रकारका खेल सञ्चालन तथा खेल्नसमेत रोक लगाइएको समितिका अध्यक्ष विनोदकुमार लामाले जानकारी दिए ।

मेलालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन समितिका स्वयंसेवकसँगै नेपाल प्रहरी र थाहा नगर प्रहरी परिचालन गरिने भएको छ । स्थानीय संघसंस्था, क्लब तथा टोल विकास संस्थासँगको सहकार्यमा मेला व्यवस्थापन गरिने समितिले जनाएको छ ।

ठूलो एकादशीका अवसरमा ऋषेश्वरमा दर्शन तथा पूजाआजाका लागि विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन्  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०