Sunday, 27th September, 2026
वि.स.

पालुङको इन्द्रजात्रा : भैरवको मुखबाट छ्याङ, बोकाको बलि र वर्षभरिका लागि देवताको बिदाइ

xzwd3r3-1536x851-1790437560.jpg

मकवानपुरको थाहा नगरपालिका–२ पालुङमा परम्परागत इन्द्रजात्रा सांस्कृतिक विधि र मौलिक परम्परासहित मनाइएको छ। काठमाडौँको इन्द्रजात्राभन्दा फरक दिन मनाइने पालुङको जात्रामा भैरवको पूजा, बोकाको बलि, भैरवको मुखबाट छ्याङ प्रसाद वितरण र देवता भित्र्याउने विशेष संस्कार मुख्य आकर्षण बने।

पालुङमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका अवसरमा इन्द्रजात्रा मनाउने परम्परा छ। यस वर्ष भने जात्रा १० असोजमा परेको थियो। जात्राका क्रममा गणेश, कुमारी, इन्द्रायणी, बाराही, भगवती र कालाभैरवको विधिपूर्वक पूजा गरिन्छ।

जात्राको एउटा महत्वपूर्ण पक्ष भैरवलाई बोकाको बलि दिएर गरिने पूजा हो। तृतीयाका दिनदेखि सुरु हुने धार्मिक विधिअन्तर्गत देवताको पूजा गरेपछि स्थानीय परम्पराअनुसार देवता भित्र्याइन्छ। इन्द्रायणीको पूजा गरी देवता भित्र्याएपछि उनीहरूलाई अब अर्को वर्षको गठेमङ्गलका अवसरमा मात्र बाहिर निकाल्ने चलन रहेको स्थानीय पुजारी सम्पूर्ण श्रेष्ठले बताए।

पालुङको इन्द्रजात्राको अर्को मौलिक दृश्य हो—भैरवको मुखबाट छ्याङ प्रसाद वितरण।
पालुङको डबलीनजिक घण्टाघरमा राखिएको कालाभैरवको मुकुटको मुखबाट छ्याङ निकालेर जात्रामा सहभागीलाई प्रसादका रूपमा बाँडिन्छ। कतिपयले भैरवको मुखबाटै छ्याङ थापेर पिए भने कतिपयले भाँडामा थापेर घर लगे।

स्थानीय रमन श्रेष्ठका अनुसार पहिले भैरवलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादका रूपमा बाँड्ने चलन थियो। अहिले पनि यही परम्परालाई निरन्तरता दिँदै भैरवकै मुखबाट छ्याङ वितरण गरिँदै आएको छ।

काठमाडौँ उपत्यकाको इन्द्रजात्रामा श्वेत भैरवको मुखबाट छ्याङ वितरण गर्ने परम्परा छ भने पालुङमा कालाभैरवको मुखबाट छ्याङ प्रसाद दिने आफ्नै मौलिक चलन छ। महिलालाई छ्याङ प्रसाद ग्रहण गर्न रोक छैन। तर परम्पराअनुसार महिलाले भैरवको मुकुट भने छुन पाउँदैनन्।

इन्द्रजात्रासँग जोडिएको अर्को महत्वपूर्ण परम्परा इन्द्रध्वजोत्थान हो। भाद्र शुक्ल द्वादशीमा ठड्याइने लिङ्गोलाई इन्द्रध्वजका रूपमा पूजा गरिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ। परम्परागत मान्यतामा शत्रुमाथिको विजय र शक्ति प्रदर्शनसँग इन्द्रजात्रालाई जोडिएको पाइन्छ।

जात्रामा सहभागीलाई छ्याङसँगै समयवजी लगायतका परम्परागत प्रसाद समेत वितरण गरिएको थियो।

पालुङको इन्द्रजात्रा केवल इन्द्रको पूजा गर्ने पर्व मात्र नभई भैरव, इन्द्रायणी, कुमारीलगायत देवदेवीको आराधना, बलि, छ्याङ प्रसाद र देवता भित्र्याउने संस्कारसँग जोडिएको पालुङको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा मनाइँदै आएको छ। स्थानीयका अनुसार पालुङ विगतमा छुट्टै राज्यका रूपमा रहेको इतिहाससँग पनि यस जात्राका केही परम्परा जोडिएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif