Friday, 21st August, 2026
वि.स.

यस्तो छ, कक्षा ११ र १२ को वार्षिक कार्यतालिका

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को भर्नादेखि परीक्षा र नतिजा प्रकाशनसम्मको वार्षिक कार्यतालिका बनाएको छ । बोर्डले पहिलोपटक भर्नादेखि परीक्षाफल सार्वजनिक गर्ने बेलासम्मको कार्यतालिका तय गरेको हो । 

मुलुकभरका शिक्षण संस्थामा एकरूपता कायम गर्न र कामकारबाहीलाई व्यवस्थित गर्न कार्यतालिका तोकिएको जानकारी बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले दिए । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भदौ मसान्तभित्र रजिस्ट्रेसन फाराम वितरण सुरु गरेर असोज २१ भित्र संकलन गरिसक्ने उल्लेख छ । पुस १५ देखि माघ १५ भित्र कक्षा ११ र १२ को नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षार्थीको परीक्षा आवेदन फाराम भरिसक्नुपर्नेछ । कार्यतालिकाअनुसार वैशाख र जेठमा सञ्चालन हुने दुवै कक्षाको परीक्षा तालिका माघ मसान्तसम्म प्रकाशित गरेर परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्नेछ ।

कक्षा १२ को प्रयोगात्मक परीक्षा चैत मसान्त र कक्षा ११ को वैशाख १५ भित्र सम्पन्न गरी प्राप्तांक बोर्डको कार्यालयमा पठाइसक्नुपर्ने अर्यालले जनाए । बोर्डले बाह्य निरीक्षक नपठाउने विषयको भने विद्यालयले प्रयोगात्मक परीक्षा सञ्चालन गरी चैत मसान्तभित्र प्राप्तांक पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो सातादेखि र ११ को अन्तिम सातादेखि सुरु हुनेछ । ग्रेडवृद्धि परीक्षा १२ कक्षाको नतिजा प्रकाशन भएको ३५ र कक्षा ११ को ४५ दिनभित्र हुने कार्यतालिकामा उल्लेख छ । त्यस्तै कक्षा १२ को नतिजा प्रकाशन प्रत्येक शैक्षिक सत्रमा साउन मसान्तभित्र र ११ कक्षाको असोज मसान्तभित्र गरिसक्नुपर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif