Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तिहारका बेलामा प्रहरीद्वारा पटका किनबेचमा कडाई

pataka-1508231516.jpg

तिहार बेलामा पटकाबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले  पटका किनबेचमा कडाई गरेको छ ।  पटका बेच्ने र किन्ने दुबैलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने मकवानपुरका प्रहरी नायब दिलिपराज झाले बताए ।  यसअघि गृह मन्त्रालयले २४ असोजमै एक विज्ञप्ती जारी गरी तिहारतथा छठजस्ता चाडपर्वको बेला पटाका लगायत विष्फोटक पदार्थको नियन्त्रण गर्न निर्देशन जारी गरेको थियो ।

मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘तिहार र छठजस्ता पर्वहरुमा भूइचम्पा, पटाका र आतिसवाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकाले तिहार तथा छठ पर्वहरुको अवसरमा त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात, विक्रीवितरण, ओसारपसार तथा प्रयोग नगर्न र आफ्ना बालबालिकाहरुलाई भूइचम्पा, पटाका र आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्न नदिन गृह मन्त्रालय सबैलाई हार्दिक आग्रह गर्दछ ।’ यस विपरित कार्य गरेमा कारवाही हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडामा १५ किलो ८०० ग्राम पटका सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये ३ जना मकवानपुरको र एक जना पर्सा जिल्लाको रहेको र कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

कुकुर सहितको चेकिङ सुरु

हेटौडा र यस जिल्ला हुदै अन्य जिल्लामा पटका भित्रिन नदिन मकवानपुर प्रहरीले कुकुर सहितको चेकिङ सुरु गरेको छ । प्रहरीको ३ नम्बर प्रदेस कार्यालय हेटौडाको सहयोगमा हेटौडाको रातोमाटेस्थित प्रहरी चेकपोस्टमा तालिम प्राप्त कुकुर सहितको चेकिङ सुरु गरेको हो ।

तिहार र छठ पर्वमा भारत र तराईका जिल्लाहरुबाट पटकाहरु भित्रिने भएकाले प्रहरीले यस्तो चेकिङ सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी दिलिपराज झाले बताए ।  तराईका जिल्लाबाट हेटौडा भित्रिने सवारीसाधनलाई हरेक दुई घन्टाको अन्तरमा छड्के चेकजाच गरी कुकुर राखी चेकिङ गर्ने गरिएको छ । तिहार लागेसंगै अवैध पटकाहरु भित्रिने गर्दछन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०