nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गुणस्तरीय शिक्षा आजको आवश्यक्ता
- राजन मिश्र

Rajan-CV-1613531166.jpg

शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको सम्पूर्ण उन्नति प्रगति सम्भव हुन्छ । आजको युग ज्ञान र प्रविधिको युग मानिन्छ प्राविधिक ज्ञान हासिल गर्नु आजको समयमा अपरिहार्य नै भइसकेको छ । यस कारण पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने देखिन्छ । नेपाल सरकारले विकास वजेटको अनुपातमा नै शिक्षामा खर्च गर्दै आइरहेको छ । तर यसबाट सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको भने छैन । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाई   विश्वबजारमा प्रतिश्पर्धा गर्ने उद्देश्यबाट प्रोरित भइ त्यस्ता रकमहरु शिक्षा मन्त्रालय र शिक्षासंग सम्वन्धित विभिन्न स्थानीय तहका कार्यालयहरुको मातहत तथा सहकार्यमा शैक्षिक गुणस्तर वृद्धि सम्बन्धि कार्यक्रमहरु सञ्चालनमा आएका छन् । त्यस्ता कार्यक्रमहरु कतिपय शिक्षकहरु सग सम्बन्धित छन भने कयौं विद्यार्थीहरुसग प्रत्यक्ष रुपमा जोडिएर गुणस्तरीय शिक्षा प्राप्त गर्न अभिप्रेरीत गरिरहेको छ ।

गुणस्तरीय शिक्षा भन्नाले काम लाग्ने र जीवन उपयोगी शिक्षा भन्ने बुझिन्छ । शिक्षा किताबसंग मात्र सिमित रहनु हुदैन यसले त ब्यक्ति, समाज र राष्ट्रको अपेक्षा पुरा गर्नु पर्दछ । तोकिएको पाठ्यक्रम भन्दा ब्यापक र बृहत्त हुनु पर्दछ । असल र गुणस्तरीय शिक्षा लिनू विद्यार्थीहरुका लागि फलामको चिउरा चपाउनु जत्तिकै मुस्किल भइरहेको छ । कडा परिश्रम र मिहेनत बिना लर्तरो तयारीले असल ज्ञान प्राप्त गर्छु भन्नु असम्भवनै देखिन्छ । राम्रो ज्ञान हासिल गर्नु छ भने डटेर अध्ययनको साधनामा लाग्नु पर्दछ । सानो–तिनो ज्ञान प्राप्तिले समाजलाई बदल्न असम्भव नै हुन्छ । राम्रो शिक्षा वा ज्ञान प्राप्त गर्न पढ्दै, लेख्दै गरी विषयलाई बुझ्ने प्रयत्न गर्दा त्यो शिक्षा दीर्घकालीन रहन्छ । भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पुर्याउनु छ भने असल शिक्षा लिन अभिरूचि, लगाव र झुकाव हुनुपर्दछ । विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र लगाम लगाउनुको साटो उनीहरुको ब्यवहार, सोचाई, स्वभाव र सृजनात्मकतामा सकारात्मक परिवर्तन ल्याइ जीवन उपयोगी नैतिक र व्यावसायिक शिक्षा दिनुनै गुणस्तरीय शिक्षाहो भन्न सकिन्छ ।

तर, नेपालको परिप्रेक्षमा हेर्ने हो भने यहाँका अधिकांश विद्यालयहरुबाट दिइने शिक्षा गुणस्तरी छ भन्ने अवस्था छैन । असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा हो । यो जहीँ कहीँ नमिल्न सक्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागि पर्नु पर्दछ । जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा  आउन सकोस् । राम्रो शिक्षाको प्रकृति सधैँ रचनात्मक हुन्छ । यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । यस्तो शिक्षाको फल समाजले पनि प्राप्त गर्न सक्छ । सामाजिक मुद्दाका बारेमा राम्रो आदत राख्न जागरूक र बढवा दिन्छ ।

उचित शिक्षा बिना एक व्यक्ति आफ्नो जीवनका सबै शैक्षिक लाभबाट वञ्चित रहनु समाज विकासका लागि घाटा नै हुन्छ । शिक्षाले समाजमा शान्ति बढाउन, गरिबीलाई हटाउन, जातीय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्दत गर्दछ । शिक्षा अपेक्षित परिणाम प्राप्त गर्नु र जागिर खानलाई मात्रै नभई सबै मानव जातिलाई सक्षम बनाउन, कुनै चीजमा सक्षमता हासिल गर्न र मानवको कल्याणका लागि पनि हो । शिक्षा व्यक्ति र समाजको बृहत्तर हित, सुख र खुसी जीवनका लागि अनिवार्य जस्तै छ ।

गुणस्तरीय शिक्षाको लागि भनेर विद्यालयहरुले आफ्नो क्षेत्र सुधार योजना र निरन्तर मुल्याङ्कन पद्दति प्रयोग भने गरिरहेकै छन तर, पनि यसबाट खासै परिवर्तन भएको पाइदैन । यस्ता कार्यक्रम कक्षा भित्र नपसी कागजी रुपमा मात्र सिमित भएको छ । जसले गर्दा विद्यालय अक्षर चिनाउने स्थल मात्र भएको छ । विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट देशभक्त, कर्मठ, निष्ठावान, स्वाभीमानी  र सिर्जनात्मक दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन ।  यो विषयको मुद्दा उठान हुँदा शिक्षक, विद्यार्थी,  व्यवस्थापन समिति र अभिभावकहरु बीच एकले अर्केलाइ दोष दिने प्रबृति हाबी छ । जसले गर्दा सम्पूर्ण सामुदायिक विद्यालय र यसको गुणस्तरीयता धरासायी हुँदै गइरहेको छ  । नेपाल     सरकारबाट नयाँ शिक्षा ऐन बन्ने र समय सापेक्ष संशोधन गर्ने कामले पनि विद्यालय शिक्षामा खासै परिवर्तन आएको देखिदैन यि लगायत अनेकौं चुनौतिहरुको कारणले गर्दा विद्यालय शिक्षा गुणस्तरीय हुन सकिरहेको छैन जसको प्रत्यक्ष असर ब्यक्ति, समाज र राष्ट्रको विकास र भविष्यमा पर्नेछ । शैक्षिक पाठ्य बस्तुहरु समय सापेक्ष परिवर्तन भैरहेको छैन भने  त्यस्ता पाठ्य वस्तुहरुलाई व्यबहारिक रुपमा सिक्न र सिकाउनको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्रीहरुको अभाव कतिपय अवस्थामा त पाठ्यपुस्तक उचीत समयमा उपलब्ध गराएको पनि पाइदैन  जसको फलस्वरुप पनि शिक्षाको     गुणस्तरमा ह्रास आएको हो ।

असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो । समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति, प्रगति, परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनु पर्छ । व्यक्तित्व विकास र मानसिक विकास प्रदान गर्दै राम्रो र कुशल जीवनका लागि असल शिक्षा आवश्यक पर्दछ । व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिक रुपमा राम्रो बनाउनुका साथै कुसल जीवन जिउनुपर्छ भन्ने कुरामा पनि बढवा दिन्छ । असल शिक्षा त्यो अविश्वसनीय शक्ति हो, जसले खराब शक्तिबाट टाढा गर्न, आत्मनिर्भर बनाउन र समाजमा कैयन नयाँ अवसरहरु सिर्जना गर्न सम्भावनाका अवसरहरु प्रदान गर्दछ। शिक्षामा यस्तो परिवर्तन हुन नसक्नु व्यक्ति र समाजलाई अभिशाप हुन पुग्दछ ।

“शिक्षा नै समाजको समृद्धिको मेरुदण्ड हो ।“ असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत प्रदान गर्न सबै भन्दा महत्वपूर्ण यन्त्र हो त्यसैले कामना गरौँ, आगामी दिनमा शिक्षाको सुधारले समाजमा बहुपयोगी कार्यहरु सहजै गर्न सकियोस् ।

(मिश्र पालुङ बहुमुखी क्याम्पस मकवानपुरका प्राध्यापक हुन् ।)