nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रामायणका रिसाहाहरू !
कृष्ण प्रधान

bhanu-bhakta-58b14bfc9518-1626147667.jpg
  • कृष्ण प्रधान, सिलिगु़ड़ी, (भारत)
आदिकवि भानुभक्त आचार्यले रामायणमा दुइ चरित्र लक्ष्मण र हनुमानलाई झोंकी,  रिसाहा, क्रोधी  र सन्काहा व्यक्तित्वका रुपमा देखाएका छन् ।
रामायणका रामलाई 'मर्यादा पुरुषोत्तम' अर्थात् पुरुषहरुको मर्यादा राख्नेहरूमध्ये उत्तम भनी ठानिन्छन् । यही मूल प्रकाशमै रामायण लोकप्रिय छ । राम साह्रै चिसा मान्छे, नतातितने ; नझड़्ङ्गिने । रामका ठीक विपरीत लक्ष्मण भने मान्छे तातो ; साह्रै जङ्गी ; नाकको टुप्पोमा रिस बोकेका । राम धीर स्वाभावका । सोझो बुद्धि र एउडटा लक्ष्य बोकेर टुङ्गोमै पुग्न दृढ़ सङ्कल्पित ढीट स्वाभावका धनी । ठीक रामका विपरीत लक्ष्मणको शब्दकोशमा मार्छु र काट्छु, नास्छु बाहेक अन्य शब्द पाउनु गाह्रो । धीमा स्वभावका राम ठीक विपरीत उनका भाइ लक्ष्मण अच्चाकाली रिसाहा व्यक्तित्वका धनी ।
 
जनकपुरबाट स्वास्नी मान्छेहरूका गोठै अघि अघि लर्को लाएर आइरहेका बेला बाटामा बूढ़ा परशुरमासित जम्का भेट हुन्छ । छेत्रीहरूलाई निमिट्यान्नै पार्न सुरिएर हिँड़िरहेका बूढ़ाको भुइँमा खुट्टै नभएका बेला यिनै सन्काहा लक्ष्मण मक्किएका लुगा च्यातिए झै प्यार् प्यार् गरी बूढ़ाको सातोपुत्लो खाइदिन्छन् । लक्ष्मण मान्छे आगो । बुद्धिले काम लिनुपर्छ भन्ने कुरोलाई लुतो न कनाइ ठान्ने स्वाभावका ढीट मान्छे । 'जसो पर्ला उसै टर्ला' भन्ने खालका मान्छे । 'रिस खा आफू बुद्धि खा अरु' भन्ने उखानले यिनका कानमा कहिल्यै बतास लागेन । झड़्ङ्ग-झड्ङग रिसाउने महारिसाहा लक्ष्मण ।

राम र लक्ष्मण दुइ दाजुभाइ एउटै धुरि मुनि सुतेका र एउटै कलेजो सिह्रानी लाएर एउटै आमाका गर्भमित्र बढ़ेका होइनन् । यी दुवै दाजुभाइका पिता एउटै भए पनि आमाहरू चाहिँ बेग्लै हुन् । भानुभक्तले राम र लक्ष्मणलाई रामायणमा आद्योपान्त जम्ल्याहाकै रुपमा प्रस्तुत गरेका छन् ।  मन्थरा, कैकेयी र भरतको जालझेलमा परी राजा दशरथले दाजु रामलाई चौध वर्ष बनवासको आदेश दिएकामा लक्ष्मण अग्निशर्मा हुन्छन् । यस्तो असहनीय आदेश दिने आफ्ना प्राणप्रिय पिता (राजा दशरथ) लाई  नाकको टुप्पोमै रिस बोकेका रिसाहा लक्ष्मण थुनामा पार्ने हाँक दिन्छन् -  
"पिता बाँध्छु पैल्है भनि कन भन्या क्या छ अरूलाई। ।"

(श्रीअयोध्याकाण्ड !२८)
 त्यति कहाँ (?) र षड़यन्त्रकारी टोलीसँगै लड़ाइँ  गरी सबैलाई मार्ने झोंक चल्छ लक्ष्मणलाई । पितृतुल्य दाजु रामको अधिकार वञ्चित भएकोमा भाइ लक्ष्मण रिसले खपिनसक्नु भई उनको रिसाहा स्वाभावबाट प्रचण्ड दावानल प्रक्षेपण हुन्छ यसरी -  

"चढ़्या जावस् गादी सकल रिपुको नाश म गरूँला ।
यसै कामले माइका सकल मनको शोक हरूँला ।।"
(श्रीअयोध्याकाण्ड २८)
 
रामायणका अर्का पात्र रामभक्त हनुमान ता झन् चितायो कि बितायो भन्ने ढीट स्वाभावका सन्काहा थिए । लक्ष्मण रिसका पोको । हनुमानमा खाँटी गोर्खा झोंक । सीताजीलाई भेट्न क्षार समुद्र तरिरहेका बेला हनुमानले किसिम बाधा-अड़्चनहरूको सामना गर्नुपर्छ ।  समुद्रमा सिंहिका नाउँ गरेकी राक्षसीले समुद्रभित्रैबाट पानीमा बसी-बसी छाया समाती खान्थी । हनुमानको शरीरको छाया पनि त्यसले आफूतिर तान्दा हनुमानको गति बन्द हुन्छ। हनुमान आत्तिएर द
 
 दिशा हेर्दा सिंहिकाले नै त्यस्तो उपद्रो गरेकी हो भन्ने थाहा पाएपछि दुइ लात हिर्काएर राक्षसी  सिंहिकालाई हनुमान ठहरै पार्छन्  -
"देख्या तल्लो तिर दृष्टि दी कन तहाँ जस्सै नजरमा परी ।
एकै चोट् दुइ लात् दिया र सहजै घुस्रुक ताहीं मरी ।।"
(श्रीसुन्दरकाण्ड  १५)

रिसाहा हनुमाले रावणलाई पनि आछुआछु नपारेका होइनन् -
"त्यो रावण रणभूमिमा जब पुग्यो सामने हनुमान गया ।
मूर्छा पारि गरिपाउँ यस्तो कन भनी एक मुड़्की हान्दा भया ।
छातीमा जब मुड़्कि बज्रन गयो वज्र तुल्यै गरी।
घूँड़ा टेकी गिर्यो पनि दुइ घड़ी मूर्छा तुरुन्तै परी ।।"
(श्रीयुद्धकाण्ड २४५)

हनुमान शान्त भए पनि अच्चाकाली रिसाहा स्वाभावका । रणभूमिमा हनुमानको एक मुड़्कीले मूर्छा परेका रावण मूर्छाबाट उठी हनुमानलाई खूब सह्राउँछन् । फोस्रो प्रशंसाका कट्टर विरोधी हनुमान रावणलाई फेरि चुनौति दिँदै गर्जन्छन् यसरी -
"हे रावण! किन गर्दछस् सह्रनी यो धिक्कार म मान्छू बरू।
मेरो मुड़्की पर्या पछी पनि वचिस् बोल्छस् यहाँ क्या गरू ।।
एक चोट हान् तँ पनी मलाइ म पनी फेरि हान्छु छाती महाँ ।
एक मुड़्कि अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ।।
(श्रीयुद्धकाण्ड २४७)

लाप्पा खेल्नमा सिपालु हनुमानमा गोर्खा झोंक आरोपित गराउने श्रेय भानुभक्तलाई नै छ । लङ्केश्वर रावणले आफ्नो लाज ढाक्न तथा लङ्केश्वरको शान देखाउन हनुमानलाई फेरि प्रहार ता गर्छन् नि तर रावणको फिस्टाजस्ता  चोटले हनुमानलाई बाह्र हातको टाङोले पनि भेट्दैन । बरू हनुमान फेरि मुड़्की उज्याएर अघि सर्दा लङ्केश्वर रावण हनुमानको मुड़्कीको डरले आफ्नो लाज र प्राण जोगाउन अन्यत्र लाग्छन्  -
"ई बात श्रीहनुमानले जब गर्या बेसै भन्यो हो भनी।
एक् चोट् श्रीहनुमानका हृदयमा ताकेर हान्यो पनी।।
फेरी श्रीहनुमान सर्यो अघि तहाँ मुड़्कि उठाई जसै।
रावण टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ।।
(श्रीयुद्धकाण्ड  २४८)

पुछारमा,  भानुभक्तीय रामायण यी दुइ रिसाह पात्र प्रस्तुत गरेर भानुभक्तले लक्ष्मण र हनुमानलाई वीर गोर्खामा हुने झोंक, रिसाहा प्रवृत्ति आरोपित गरेको पाइन्छ ।

OOOOOOO