purse-harayo-suchana-1638264288.jpg
Wednesday, 1st December, 2021
वि.स.
Dashain-Ukesh-1634132689.jpg

नागपूजा : धर्म र संस्कृतिसँग जोडिएको इतिहास
वसन्त महर्जन

आज नागपञ्चमी अर्थात नागको पूजा गरिने दिन। घरपालुवा जनावर गाई र कुकुरदेखि पंक्षी कागको पूजा हुने समाजमा नागको पूजा हुनु स्वभाविकै हो। तैपनि संस्कृतिसँग जोडिएको विषय भएकाले नागका विषयमा चर्चा हुनु जरूरी छ।

नागका सम्बन्धमा खासै चर्चा भएको देखिँदैन। कतिपय मिथलाई इतिहास र इतिहासका कतिपय पक्षलाई आस्था र धर्मको आधारमा रोचक पाराले मिथकमा रुपान्तरित गरिएकाले पनि नागबारे सही चिन्तन हुनसकेको छैन।

नागसँग सम्बन्धित विषयमा ऐतिहासिक तबरले छलफल गर्दा उदारहणको रुपमा अघि सार्न उपयुक्त हुने एउटा प्रसंग मौर्य सम्राट अशोकको रामग्राम स्तूप भ्रमण पनि हो। गौतम बुद्धको महापरिनिर्वाणपछि अग्निसंस्कार गरी प्राप्त हाडहरूको अवशेष (अस्थि) आठ भागमा बाँडेर आठ वटा स्तूप बनाइएको थियो। त्यसमध्ये एउटा रामग्राम स्तूप पनि हो।

सम्राट अशोकले ती आठै भागबाट अस्थि झिकेर ८४ हजार स्तूप बनाउने अभियान चलाएका थिए। तर, अभियान सम्पन्न गर्नका लागि अस्थि झिक्न रामग्राम स्तूपमा पुग्दा त्यसको संरक्षण नागहरूले गरिहरेको र झिक्न नदिँदा खाली हात फर्केको प्रसंग ऐतिहासिक रुपमा महत्वपूर्ण छ।

भारतको इतिहास इशापूर्व छैठौं शताब्दीका महावीर वर्धमान र गौतम बुद्धको प्रसंगबाट प्रष्टिन्छ। त्यसको पुष्टि गर्ने प्राप्त पुरातात्विक सामग्रीमा इशापूर्व तेस्रो शताब्दीका संरचनाकै प्राधान्यता छ। घटना र प्रवृत्तिको अध्ययन गर्दा यस भूक्षेत्रमा लेखपढको परम्परा पुरानो भए पनि इतिहासचेत प्रायः देखिदैन। ऐतिहासिक विषयलाई धार्मिक तथा काल्पनिक रंग दिएर अलौकिक बनाउने तथा अमूर्त रुपमा प्रस्तुत गर्ने प्रवृत्तिका कारण ऐतिहासिकता गुमेको छ।

भारतको इतिहासमा मिति अंकित पहिलो घटनाको टिपोट अलेक्जेन्डर सिकन्दरको आक्रमण हो। आक्रमणसँगै त्यसको अभिलेख राख्न विद्वान लेखकहरू पनि सँगै ल्याइएको थियो र त्यही लिखित प्रमाणको आधारमा भारतमाथि सिकन्दरको आक्रमण इ.पू. ३२१ मा भएको थाहा हुन्छ।
यही बेला मगधमा राजसत्ता परिवर्तन भएर मौर्य राजवंशको स्थापना भएको थियो। प्रथम मौर्य सम्राट चन्द्रगुप्त र उनका उत्तराधिकारी बिन्दूसारको राज्यकालको वर्णन ‘महावंश’मा पाइन्छ। त्यहि ग्रन्थमा गौतम बुद्धको महापरिनिर्वाणको २१८ वर्षपछि (इ.पू. २६९ मा) सम्राट अशोक (चन्द्रगुप्तका नाति) लाई राजगद्दी प्राप्त भएको उल्लेख छ। राजगद्दी  पाएको चार वर्षपछि मात्रै राज्याभिषेक भएकाले बुद्धको महापरिनिर्वाणको २१४ वर्षपछि सम्राट अशोक सत्तामा आएको बुझ्न सकिन्छ।

चन्द्रगुप्तले २४ र बिन्दूसारले २८ वर्ष राज्य गरेका थिए। यहि हिसाबको आधारमा बुद्धको जन्म र महापरिनिर्वाण निक्र्योल गर्न सकिएको हो। यसरी नै राजगद्दी प्राप्त गरेको २०औं वर्षगाठमा सम्राट अशोक बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुको भ्रमणमा आएको अभिलेखअनुसार, यो समय इ.पू. २४९ रहेको भनी निर्क्योल गर्न सम्भव भएको हो। सम्भवतः सम्राट अशोक यही वर्ष रामग्राम स्तूपमा पनि पुगेका थिए।

 

रामग्राम स्तूपको संरक्षण नागहरूले गरेको वर्णनलाई बौद्धहरू जमिनमा घस्रिने सरीसृप जीव नाग वा सर्पकै रुपमा बुझ्ने गरेको पाइन्छ। यसलाई ऐतिहासिक रुपमा विचार गर्दा नाग भनेर घस्रिएर हिड्ने जीव नभएर नाग नाम भएको मानव समुदाय भएको बुझ्दा धेरै विषयको निर्क्योल गर्न सकिन्छ। यो नामको मानव समुदाय अत्यन्त प्राचीनकालदेखि विस्तृत भूभागमा फैलिएको तथ्यहरू प्राप्त छन्।

पूर्वि भारतको नागाल्याण्ड यसैको एउटा अवशेष हो। पश्चिमबाट वैदिकहरू (जो आफूलाई आर्य जाति भनी पहिचान दिन्छन्) भारतीय भूभागमा प्रवेश गर्दा यहाँ नाग जातिको मानव समुदायको वर्चश्व रहेको पाइन्छ। ती वैदिकहरू यस क्षेत्रमा स्थापित हुनका लागि नाग समुदायसँग लामो समय बेग्लाबेग्लै संघर्ष गर्नु परेको र अन्ततः सम्झौताको एउटा बिन्दूमा पुगेर मिलिजुली बस्न थालेको विवरण विभिन्न पुराणलगायतका धर्मग्रन्थमा पाइन्छन्।

यी ग्रन्थमा नाग भनेर जमिनमा घस्रिएर हिड्ने नाग वा सर्पकै रुपमा वर्णन गरेको भए पनि घटना विवरणले मानव समुदायलाई संकेत गर्छ। उदाहरणका लागि महाभारतका एक प्रमुख पात्र अर्जुनले विवाह गरेकी उलूपी नागकन्या थिइन्। महाभारतको आदिपर्वमा उल्लेख कथाअनुसार, तक्षक नागले डसेर राजा परिक्षितको मृत्यु भएको थियो र यसको बदला लिन जन्मजेयले सम्पूर्ण सर्पजातिको वंश विनाश गर्न सर्पयज्ञ लगाएका थिए। यस विपद्बाट मुक्ति पाउन बासुकी नागले आफ्नी बहिनीको सहायता लिएर भाञ्जा आस्तिक र ब्रह्मा ऋषिमार्फत् राजा जन्मजेयलाई सम्झाई-बुझाई प्रतिशोध नलिन आग्रह गरेका थिए। त्यसपछि सर्पयज्ञ स्थगन भएको थियो।

नाग समुदायका कुनै व्यक्तिको हमलाबाट राजा परिक्षितको हत्या भएको घटनालाई सर्पले डसेको भनी चित्रण गरेको बुझ्न सकिन्छ। यसअनुसार, मौर्य सम्राट अशोक रामग्राममा आउँदा पनि यो स्तूपको संरक्षण गर्ने नागहरू अन्य नभएर नाग नामको मानव समुदाय नै थियो। र, यो क्षेत्र मगध साम्राज्यअन्तर्गत थिएन पनि।

रामग्राम, लुम्बिनी र कपिलवस्तु क्षेत्रभन्दा उत्तर दिशाको पहाडी भूक्षेत्रमा बाहुल्यता रहेको मगर जातीय समुदायलाई पनि नाग भनी सम्बोधन गरिएको पाइन्छ। पार्कोटको मगर राजाकी छोरीसँग सेन राजाले विहे गरेको प्रसंगमा पनि मगर राजालाई नागराजा भनिएको पाइन्छ। सम्राट अशोक आउँदा रामग्रामको संरक्षण गरेर बस्ने नागहरू यिनै मगर समुदाय हुन भन्न सकिन्छ।

प्राचीन वैदिक परम्पराको बिँडो थामेको पहिचान दिने वैदिक वा हिन्दू धर्मालम्बी नागपञ्चमीका दिन नागको पूजा गर्नुलाई आफ्नो धर्म-संस्कृति मान्छन्। तर, ऋग्वेदमा नागपूजाको कुनै प्रसंग नपरेकाले यो परम्परा वैदिकको मौलिक पर्व वा संस्कृति नभएको बुझ्न सकिन्छ। आर्य समुदायले ठूलै महत्व दिएर पिपलको पूजा गर्ने भए पनि उनीहरूले भारतीय भूमिमा प्रवेश गर्दा सँगै लिएर आएको परम्परा वा संस्कृति नभएको अर्थ्याउन सकिन्छ।

पहिल्यैदेखि बसोवास रहेको द्रविड जातिमा पिपलको रुख पुज्ने परम्परा रहेको र पनि त्यसलाई वैदिकले अपनाएको हो। यस्ता धेरै संस्कृति वा परम्पराको नाम लिन सकिन्छ, जुन वैदिक वा आर्य को मौलिक परम्परा नभएर स्थानीयकरण हुने क्रममा अपनाएको वा सम्झौताको बिन्दूमा मानिदिएको हो।

यसअनुसार, यहाँका मानव समुदाय (विशेष गरी नाग) ले आफ्नो चिह्न वा ‘टोटम’को रुपमा अपनाएको नागलाई अवसर विशेषमा बडो आदरसम्मान सहित पूजा गर्नु स्वभाविक हो। समाजमा घुलमिल हुने क्रममा यही संस्कृतिलाई वैदिक, आर्य वा हिन्दूले पनि अपनाएको हो। यसरी अपनाउने क्रममा केही परिमार्जन भएको छ।

नागपञ्चमीमा विभिन्न ठाउँमा विविध प्रकारले नागको पूजा गर्ने प्रचलन छ। यी पूजाविधिमा घरको मूल ढोकाको सिरानमा नाग अंकित तस्वीर टाँसेर गरिने पूजा बढी प्रचलित छ। यसको महिमा गाउने र बढ्दो प्रचारप्रसारको क्रममा अन्य जातीय समुदाय पनि प्रभावित हुने गरेका छन्। नाग पञ्चमीमा नाग पूजाको परम्परा नै नभएको तामाङ समुदायमा पनि पूजापाठ गरेको पाइनु उदाहरण हो।

काठमाडौंदेखि १७ कोशको दूरीमा रहेको काभ्रेपाल्चोको तामाङ बाहुल्य तेमाल गाउँका केही घरमा नागको पूजा हुने गरेको छ। तर, यो प्रचलित हिन्दू विधिअनुसार भएको पाइँएन। बौद्ध विधिमा नागपञ्चमीको दिन ढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन छैन। हिन्दू परम्परामा नागको तस्वीर टाँस्दा अष्टनाग, कुनै नागविशेष वा कृष्णद्वारा कालीय नागको दमन गरिएको चित्र टाँस्ने गरिन्छ। तर, तेमाल गाउँमा नितान्त फरक ढंगले अक्षोभ्य बुद्धलाई प्राथमिकता दिएर लेखिएको तस्वीर टाँस्ने गरिएको छ।

बज्रयान बौद्ध धर्ममा पञ्चबुद्धको अवधारणा प्रसिद्ध छ। यसअन्तर्गत उत्तर दिशाको अक्षोभ्य बुद्धमाथि पाँच वटा टाउको रहेको नागको चित्रण गर्ने चलन छ। तर, यो चित्रणको प्रयोजन जल तत्वको प्रतीक मात्र हो। नागको फनाले सुरक्षित गरिहरेको अर्को गौतम बुद्धकै मूर्ति पाइन्छ।  

बुद्धत्व प्राप्त गरेको केही दिनपछि बोधगयामै ध्यानमा बसिरहेका बेला ठूलो पानी पर्दा नजिकैको तलाउमा बस्ने मुचलिन्द नामको नागले बुद्धको सुरक्षा गरेको भन्ने घटना दर्शाउन यो चित्र वा मूर्तिलाई प्रस्तुत गरिन्छ। यी दुई चित्र देखेकै भरमा कतिपय लेखकले नाग पञ्चमी तथा नागपूजाको प्रचलन बौद्ध समाजमा पनि भएको वर्णन गर्छन्। तर, यो नागपञ्चमी वा नागपूजा संस्कृतिसँग सम्बन्धित होइन।

-हिमालखबरबाट साभार

 



Dashain-Yugal-1634128548.jpg
Dashain-Ganeshman-Shresth-1634180448.jpg
Apil-ward-6-1634212880.jpg
Apil-Ward-8-1634212920.jpg
Apil-Ward-11-1634212986.jpg
Apil-Ward-12-1634213008.jpg
Dashai-Jiyo-Bhim-1634040682.jpg
Dashai-Krishna-Balami-1634040714.jpg
Dashai-Sudip-Adhikari-1634040764.jpg
Dashai-Ramprashad-Gopali-1634040808.jpg


Dashai-Srikrishna-KC-1634130800.jpg

Dashain-Bishnu-Bista-1634180087.jpg
Dashain-Ramhari-Adhikari-1634180197.jpg
Dashai-Sanobhai-Karki-1634180249.jpg
Dashain-Rajeev-Syangtan-1634180279.jpg
Dashain-Bishnuhari-Dhakal-1634180314.jpg
Dashain-Nawaraj-Bista-1634180353.jpg
Dashain-Jayram-KC-1634180382.jpg