nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिक्षामा रूपान्तरण र सोचान्तरण

Dr-1692185637.jpg
  • डा. देवीप्रसाद आचार्य

भिक्टर ह्युगोले शिक्षाको महत्व दर्साउँदै एउटा विद्यालय खोल्ने व्यक्तिले संसारको एउटा झ्यालखाना बन्द गरेको हुन्छ भन्ने अवधारणा राखे । उनको भनाइमा शिक्षाले मानिसको चरित्र निर्माणमा ठूलो भूमिका खेल्दछ, भन्नेमा जोड दिन्छ । असल चरित्र भएका व्यक्ति अपराधजन्य सोचाइ र क्रियाकलामा लाग्दैनन् भन्ने विश्वास गरिन्छ । हरेक मानिसमा सकारात्मक चिन्तन भएमा घर, परिवार, समाज र सिंगो देशमा अमनचयन हुन्छ । झैझगडा, चोरी, डकैती, भ्रष्टचार, हत्या, हिंसा जस्ता अपराधजन्य क्रियाकलाप हुँदैनन् ।

गौतम बुद्घले मन नै सबै थोक हो जे सोच्छौँ त्यही गर्छौं भनेझैं हरेक मानिसको मानिसमा अपराधजन्य सोचाइ नै नभएपछि जेल नामको अपराधी बस्नेघर किन आवश्यकता प¥यो ? भिक्टर ह्युगोको न्यारेटिभ सान्दर्भिकता पनि शिक्षाले असल मन र मस्तिष्क भएका मानिस उत्पादन गर्दछ भन्ने अर्थमा उल्लेखित भनाइ राखेका हुन् ।

जहाँ अरूको उपकार सोचिन्छ त्यहाँ अप्रिय कार्य हुँदैन भन्ने विश्वास गरिन्छ । अहिले समाजमा अनेक प्रकारका असामाजिक घटना घटिरहेका छन् । यस दृष्टिकोणबाट हेर्दा शिक्षाले असल चरित्र निर्माण गर्न किन सकेन ? भन्ने ठूलो प्रश्न खडा भएको छ । यति मात्र नभएर शिक्षा क्षेत्रमा अनेक कमी कमजोरी हटाउनका लागि राज्य, राजनीतिक दल, नीतिनिर्माता, पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखा कर्ता, शिक्षक, प्राध्यापकलगायतमा सोचान्तरण आवश्यक ठानिन्छ ।

राज्यको शिक्षाप्रतिको दृष्टिकोण
नागरिकलाई शिक्षा दिने अभिभावकीय दायित्व राज्यको हो । हाम्रो देशको सन्दर्भमा राज्यले शिक्षामा ठूलो लगानी पनि गरेको छ । तर, शिक्षा क्षेत्रलाई अब्बल बनाउने दृष्टिकोण, इच्छाशक्ति, कार्ययोजना र कार्यान्वयनको पाटोमा राज्यको सोच्ने तरिका समयसापेक्ष हुन सकेको छैन । शिक्षाको गुणस्तरलाई उकास्ने दिशामा राज्य तथा यसका संयन्त्रको कार्यशैली प्रभावकारी देखिँदैन । त्यसो त राज्यले विभिन्न कालखण्ड शिक्षाबोर्ड तथा समिति गठन गरी तिनीहरूले दिएका प्रतिवेदनका आधारमा पहल पनि गरेको छ । समयसमयमा पाठ्यक्रम, पाठ्यपुस्तक र मूल्यांकन विधिमा पनि संशोधन, मरिमार्जन वा परिवर्तन भइरहेका छन् । तथापि, शिक्षामा रूपान्तरण हुन सकिरहेको छैन ।

पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको सवाल पहिलेको तुलनामा सुधारोन्मुख नै देखिन्छ । परन्तु पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरू शिक्षण सिकाइमा हस्तान्तरण हुन नसकेको अवस्था छ । विद्यालय शिक्षाको सिकाइ उपलब्धि सन्तोषजनक छैन । उच्च शिक्षाको अवस्था पनि प्रशंसायोग्य छैन । शिक्षण सिकाइ न्यारेटिभ सिक्नेसबाट ग्रस्त छ । मूल्यांकन गर्ने पद्घति र तरिकाहरू झनपछि झन फितलो बन्दै गइरहेको छन् । यस सन्दर्भमा राज्यले देशको शिक्षा क्षेत्रमा रूपान्तरण गर्नका लागि सोचमा परिवर्तन गर्न जरुरी छ । यसो गर्दा देशमा भएको भएका थिंकट्यांकको ज्ञान, सिप र दृष्टिकोणलाई शिक्षाको विकास वृद्घिमा उपयोग गर्नुपर्छ ।

राजनीतिक हस्तक्षेपको अन्त्य
प्रजातन्त्रको पुनस्थापना पछाडि राजनीतिक अस्थिरताको प्रभाव शिक्षा क्षेत्रमा परेको देखिन्छ । कुनै पनि राजनीतिक पदका लागि शैक्षिक मापदण्ड नभएको राजनीतिक नेतृत्व, विज्ञता वा विशेषज्ञताबिना नै राजनीतिक भागबन्डाका आधारमा शिक्षामन्त्री हुने अभ्यास छ । दलले दलगत भागबन्डा र भनसुनका आधारमा दलका कार्यकर्तालाई नियुक्त गर्ने कार्य शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने अदूरदर्शी अभ्यास हो । यस्तो कार्य रोकिनुपर्दछ । क्षमता र योग्यताका आधारमा राइट म्यान राइट प्लेसको अभ्यास नभएसम्म शिक्षामा आमूल परिवर्तन सम्भव छैन । यसरी हेर्दा राज्यको तहबाट शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गर्न जरुरी छ ।

पढेलेखेका, देश दुनियाँ जाने बुझेका देशका विज्ञ, विशेषज्ञ पनि राजनीतिक अवसरको चास्नीमा डुब्नु शिक्षा क्षेत्रमाथि उठ्न नसक्नु अर्को मुख्य कारण हो । शिक्षण कक्षा र प्रयोगशालामा कला कौशलताका साथ ज्ञान तथा सीप स्थानान्तरण गर्नुपर्ने शिक्षक प्राध्यापक राजनीतिक आस्थाका आधारमा दलका पार्टीकार्यालयमा धाउने कार्य कति उचित हो ? शिक्षा जस्तो प्राज्ञिक ठाउँमा मेरिटोक्रेसीको ठुलो भूमिका हुन्छ । यस क्षेत्रमा क्षमता र सक्षमताले काम गर्नुपर्छ ।

राजनीतिक आडमा विश्वविद्यालयका रजिस्टार, उपकुलपति, डिन, प्राध्यापक वा अन्य उच्चपदस्थ व्यक्ति, एवं व्यक्तित्व राजनीतिक भागबन्डा नियुक्ति हुनु उचित हो त ? अवश्य होइन । तर, यस्तै भइरहेको छ । यति मात्र होइन, वरीयताको वास्ता नगर्दा प्राज्ञिक क्षेत्रमा पर्ने मनोवैज्ञानिक र प्राज्ञिक असर नियुक्तिभन्दा डरलाग्दो हुन्छ । राजनीतिक आडमा विद्यार्थी संघ वा संगठनमा आबद्घ विद्यार्थीले अभद्र व्यवहार गर्ने, थुन्ने, हात पात गर्ने जस्ता विषयबाहिर आउने गर्दछन् । राज्यले शिक्षा क्षेत्रलाई राजनीति रङ दिनुहुँदैन । शिक्षालयलाई राजनीतिक प्रयोगशाला बनाउनुहुँदैन । प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेप नगरियोस् । शिक्षा क्षेत्रमा राजनीतिक दलले बलमिच्याई र धुत्र्याई नगरून् ।

पाठ्यक्रम तथा पाठ्यपुस्तकमा परिवर्तन
त्यसो त शिक्षाको कार्य व्यापक छ । यसको अध्ययनका क्षेत्रहरू पनि फराकिला छन् । त्यसैले विद्यार्थीको रूचि र क्षमताका आधारमा विभिन्न क्षेत्रमा देशलाई आवश्यक जनशक्ति उत्पादन गर्दा समयको मागलाई प्रथमिकता दिन आवश्यक हुन्छ । शिक्षामा विगत, वर्तमान र भविष्यको अन्तर सम्बन्ध जोडिने भएकाले उल्लेखित त्रिकोणभित्र शिक्षालाई धुने, पखाल्ने र सुकिलो बनाउने काम गर्नु आजको आवश्यकता हो । यसका लागि नीति निर्माता, पाठ्यक्रमविद्, पाठ्यपुस्तक छनोट एवं लेखन कर्ता वा समबन्धित निकायको शास्त्रीय चिन्तनमा क्रमभंगताको जरुरी देखिन्छ ।

आज समाज बदलिएको छ । समाजको आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा नीति, उद्देश्यको निर्धारण र तहगत पाठ्यक्रम निर्माण गर्नुपर्छ । यसो गर्दा विज्ञान, प्रविधि, खोज, अनुसन्धान, उत्खनन र उपयोगको सवाल समयको माग भएको छ । अब सूचना र सिद्घान्तभन्दा बढी प्रयोग र व्यवहारमा उपयोग गर्न सकिने शिक्षा जरुरी भइसकेको छ । यस सन्दर्भमा स्थानीय गाउँठाउँमा भएका प्राकृतिक स्रोत जल, जमिन र जडीबुटीको उपयोग गर्न सकिने ज्ञान र सिप भएको शिक्षालाई प्राथमिकता दिनुपर्छ ।

यसैगरी, माथि उल्लेखित विषयका अतिरिक्त कृषि शिक्षा समयको माग हो । अधिकांश नेपालीको खाना, नाना र छानाको स्रोत कृषि क्षेत्र हो । कृषि क्षेत्रबाट खाद्यान्न, पशुपन्छीको आहारा, कृषि उत्पादनमा आधारित उद्योगका लागि कच्चा पदार्थ उत्पादन हुने हो । विश्वबजारमा उपलब्ध हुन सक्ने कृषि उपकरण, बिउबिजन, मल, खाद, उत्पादनको तौरतरिका आदि इत्यादिको ज्ञान आर्जन गरी हिमाल, पहाड र तराईका खेती योग्य जमिनमा हावा, पानी र माटोको विशेषताका आधारमा उब्जनी गर्न सकिने कृषि शिक्षाको ज्ञान समय सान्दर्भिक ठानिन्छ । यसर्थ राज्यले हलोदेखि कम्प्युटरसम्मको ज्ञान र सिपमा आधारित समयसापेक्ष पाठ्यक्रम समयको माग हो ।

शिक्षक, प्राध्यापकको शिक्षण शैलीमा रूपान्तरण
गुणस्तरीय शिक्षण सिकाइ शिक्षाको मेरुदण्ड हो । शिक्षाविद् बोब् टल्वेर्ट्ले असल शिक्षक अमूल्य हुन्छन् भने खराब शिक्षकले नोक्सान पराउँछन् भनेझैं कलात्मक शिक्षण सिप शिक्षक प्राध्यापकको पेसागत गहना हो । वर्तमान शिक्षणशैली शिक्षाको गुणस्तर उकास्ने मामलामा व्यवधानका रूपमा रहेको शिक्षाविद्को भनाइ छ । तथ्यांकले पनि शिक्षणसिकाइको उपलब्धि प्रभावकारी हुन नसकेको देखाउँछन् ।

अहिले देशका सरकारी विद्यालयको पठनपाठन गुणस्तरीय नभएकोमा यथार्थलाई सबैले स्वीकार गरेको अवस्था छ । कतिपय सरकारी विद्यालयमा शिक्षकभन्दा विद्यार्थी थोरै भएका समाचार आउने गरेका छन् । एकातिर जनस्तरमा केही अपवादबाहेक सरकारी शिक्षालयप्रतिको धारणा सकारात्मक बन्न सकेको छैन भने अर्कोतिर शिक्षाको शाखलाई उचाल्नका लागि शिक्षक प्राध्यापकका पेसा र जिम्मेवारीप्रतिको सोचाइमा नै परिवर्तन ल्याउन जरुरी देखिन्छ । त्यस्तो परिवर्तन जसले आफ्नो पेसागत गुण, दक्षता, क्षमता, जिम्मेवारी, दायित्व र इमानदारीतामा कर्तव्यनिष्ठ बनाउन सकोस् ।

अन्त्यमा अक्षर पढ्नु मात्र शिक्षा होइन । शिक्षाले व्यक्ति र समाजको चरित्र निर्माण गर्नुपर्छ । व्यक्ति वा समाजलाई सभ्य, शालीन, सुसंस्कृत, अनुशासित र मर्यादित बनाउन सक्ने शिक्षा आज आवश्यकता हो । शिक्षा मानव जातिको सुन्दरतम आभूषण हो भने शिक्षित व्यक्ति हरेक देशको कुल भूषण हो । एउटा अन्डाभित्रबाट फुट्यो भने सिर्जना हुन्छ, बाहिरबाट फुट्यो भने नोक्सान हुन्छ । सिर्जना हुन सक्दैन । गुणस्तरीय शिक्षाले प्रशिक्षित व्यक्ति फलले भरिएको वृक्षको हाँगा जस्तै हो । फलको भारले वृक्षको हाँगा निहुरिए जस्तै असल एवं गुणकारी व्यक्ति निहुरिन्छ । परोपकारी हुन्छ । तसर्थ, शिक्षालाई आचरण निर्माण, व्यवसायमैत्री, वैज्ञानिक, जीवनोपयोगी, सिर्जनशील तथा गरिखाने माध्यम बनाउन राज्य, राजनीतिक नेतृत्व, नीति निर्माता, पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारीकर्ता, शिक्षक, प्रध्यापकलगायतमा सोचान्तरणको खाँचो हुन सकोस् ।