Sunday, 23rd August, 2026
वि.स.

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारको क्रममा ज्यान गयो

heli_sutkeri_sankhuwasabh-1590228545.jpg

सेनाको हेलिकप्टरमार्फत शुक्रबार सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा ज्यान गएको छ ।खाँदबारी नगरपालिका ६ घर भएकी ३२ वर्षीया गंगा कार्कीको काठमाण्डौको थापाथली प्रसूति गृहमा उपचारको क्रममा शुक्रबार राति साढे १० बजेतिर ज्यान गएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताए । 

प्रसव पीडाले च्यापेपछि कार्की गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनालाई भर्ना भएको थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर रिफर गरेको थियो । 

नोबेल अस्पतालले कार्कीको पेटबाट मृत शिशुलाई अप्रेशन गरेर बाहिर निकालेको थियो । त्यहाँका चिकित्सकले दुई हप्तासम्म अस्पतालमा नै आराम गरेर बस्नु पर्ने भने पनि कार्की परिवारिको अवस्था दयनीय भएकाले खर्च धान्न नसकेको भन्दै ८ गते घर फर्किएका थिए । 

घर गएपछि राति सिकिस्त बिरामी परेपछि शुक्रबार बिहान खाँदबारी अस्पतालमा सुत्केरीलाई भर्ना गरिएको थियो । सुत्केरी अवस्थामा रहेकी कार्कीको उच्च रक्तचाप र अर्धचेत अवस्थामा रहेकाले शुक्रबार जिल्ला अस्पतालले काठमाण्डौ रिफर गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुन्दरश्याम झाले बताए । 

आर्थिक अवस्था कमजोर भएपछि कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०