Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाकी सुस्मिताको हत्यारा पक्राउ

hatya-1593418127.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की २६ बर्षीया सुस्मिता केसीको हत्या प्रकरणमा संलग्न ४ जना अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

मृतक केसीको हत्यामा उनकै ४ जना परिवारको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठोरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

सुस्मितालाई ससुरा ५८ बर्षका प्रकाश थापा, कान्छी नन्द २३ बर्षकी सीता थापा, जेठी नन्द २७ बर्षकी दुर्गा थापा र सासु ५० बर्षकी तुलसा थापाले लठ्ठी तथा मसला पिस्ने लोहोरो ९ढुंगा०ले प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आर्थिक प्रलोभनका कारण परिवारकै ४ जना सदस्यहरुले सुस्मिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटना घटेको दिन जेठी नन्द दुर्गा थापा भने काठमाडौँ गएकी थिइन् । तर घटनामा उनी पनि संलग्न भएको देखिन्छ – प्रहरी उपरीक्षक राठोरले भने । प्रहरीले अभियुक्त चारै जनालाई जन्म कैद सजाँयको माग गरेको छ ।

मृतक केसीको हत्यासंग २ वटा प्रमुख कारणहरु जोडिएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार हत्यामा आर्थिक र यौन दुव्र्यहार प्रमुख कारण हो । मृतक केसीको श्रीमान् रुपेन्द्र थापाको २०७६ असोज २३ गते कपिलवस्तुबाट हेटौँडा आउँदै गर्दा मोटरसाइकल दूर्घटनामा परी मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनले पाउने करिब ४० लाख बीमा बापतको रकम , काम गर्ने सिएसआई इन्टरनेशनलबाट आउने तलब, भत्ता तथा बोनस ससुरा प्रकाश थापाले आफुले पाउनुपर्ने दाबी गर्दै आएका थिए । मृतक केसीलाई परिवारका सदस्यहरुले श्रीमान् मर्नुमा उनकै दोष हो भनी पटक पटक मानसिक तनाव समेत दिँदै आएको प्रहरीले खुलाएको छ ।

त्यसैगरी मृतक सुस्मितालाई उनका ससुराले घरकै बाथरुमा यौन दूर्व्यवहारको प्रयाससमेत गरेको प्रहरीले जानकारी दिएको छ ।  परिवारका सदस्यहरुले आर्थिक प्रलोभनका कारण र यौन दूर्व्यवहार लुकाउन सुस्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी राठोरले जानकारी दिए ।

 भान्सामा बसिरहेकी सुस्मितालाई ससुरा प्रकाशले पछाडीबाट लौराले हानी घाइते बताएको र कान्छी नन्द सीताले मसला पिस्ने लोहोरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  सासु तुलसा थापा पनि घटनास्थलमै थिईन् । जेठी नन्द दूर्गा भने सो दिन काठमाडौँ थिईन् ।

प्रहरीले दिएको जानकारी अनुसार सुस्मितालाई असार १ गते बेलुकानै लठ्ठी र लोहोरोले हानेर मारिएको अनुसन्धानबाट खुलेको छ ।घटनाबारे  प्रहरीलाई असार २ गते विहान ६ः ३० बजे मात्रै मेरो बुहारीले आत्महत्या गरी भनेर ससुरा प्रकाशले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेपछि प्रहरीले माइती पक्षको समेत रोहबरमा दिउँसो २ बजे घरको मूल ढोका खोलेर घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०