Dashai-Thaha-Nagar-1728205351.gif
Thursday, 14th November, 2024
वि.स.

सिस्नेरीमा १६ वर्ष मुनिका ६ जना बालककाे पहिराेले ज्यान लियाे(नामावली)

Batsala-devi-secondary-sc-1727535931.jpg

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर ६ जना बालकको मृत्यु भएको छ । उनीहरु सबै १६ वर्षको तलका छन् ।

स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेकामध्ये ६ जना १२ असाेज बिहान पहिरोले पुरिँदा बेपत्ता भएका थिए ।  अपरान्ह विद्यालयको फुटबल एकेडेमी भन्दा करिब ६० मिटर तल पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमिक्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा सर्लाही घर भएका १३ वर्षीय आदित्य बलम्पाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियन्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साइमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवश बानियाँ रहेका छन् ।

बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि फुटबल प्रशिक्षण सुरु गरेको थियो । एन्फा र विद्यालयबीच सम्झौता भए अनुसार ४० जना बालकले फुटबल सिक्दै आएका थिए ।

एन्फा केन्द्रीय सदस्य तथा एन्फा मकवानपुर अध्यक्ष टीका लामाका अनुसार एन्फाले राखेका २५ जना, स्थानीयस्तरबाट छनोट भएका ५ जना र शुल्क तिरेर सहभागी भएका १० जना गरी ४० जनाले फुटबल सिकिरहेका थिए ।

विद्यालयले करिब ५ वर्ष अघि मात्रै भिरालो डाँडो भत्काएर मैदान बनाएको थियो ।मैदान बनाउँदा टेकर बजारतर्फको भिरालो डाँडा जोखिमयुक्त पारिएको थियो ।

कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान पानी खोलेपछि सिस्नेरी खोलामा बाढी आएको थियो । विद्यालय सिस्नेरी खोला छेउमै रहेको छ । खोलामा बाढी आएपछि विद्यालयमा नै बस्दै आएका बालक र शिक्षकहरु टेकर बजारतर्फ जाँदै थिए । त्यस क्रममा ६ जना बालकलाई पहिरोले पुरेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

साँझ काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरले ६ बालकको शव, अरु ३० जना बालक, उनीहरुका प्रशिक्षक र एक शिक्षकलाई काठमाडौं लगेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Machha-1727692880.jpg