Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वैशाख ३० गते पालुङबाट तरकारी गाडीमा काठमाडौँ, थाहानगरको वडा नम्बर २ र ७ को यात्रा

palung-1589618693.jpg

सतुंगलका कोरोना संक्रमित ७ वर्षीय बालक मकवानपुरको थाहा नगरपालिका निवासी भएको खुलेको छ।

संक्रमित बालकका परिवार वैशाख ३० गते काठमाडौं आएको पाइएको हो । बालकका आमा निर्मला लामा (परिवर्तित नाम) ले आफूहरु तरकारी गाडीमा राति काठमाडौं आएको बताइन् । आफूहरू नौविसेको बाटो भएर आएको भएपनि बीच बाटोमा कतै चिया नास्ता नखाएको उनले बताइन् ।


साँझ ६ बजे पालुङबाट गाडी चढेर आएका उनीहरु राति साढे १० बजे कोठामा पुगेका थिए । “कोठामा हामी आएको थाहा पाएपछि यहाँका स्थानीयले परिक्षण गर्न पठाए, परिक्षण गर्दा बाबुको पोजिटिभ आयो।”  उनले भनिन् । छोरालाई कुनै लक्षणबिना नै संक्रमण देखिएको तर सँगै बसेको आफूलाई संक्रमण नदेखिएकोमा उनले आश्चर्य व्यक्त गरिन् ।

उनले आफूहरु चैतको १९ गते गाउँ गएको जानकारी दिइन् । पालुङमा आफ्नो घर र माइतीवाहेक अन्यत्र नगएको पनि उनले बताइन् । “म योबीचमा आफ्नो घर र माइती मात्रै गएकी छु । बाबु पनि छरछिमेकीका नानीबाबुसँग मात्रै खेलेको हो ।” उनले भनिन् । उनीहरूले थाहानगरको वडा नम्बर २ र ७ को यात्रा गरेको देखिन्छ।

संक्रमित बालकका बुबा पानी ट्यांकर चलाउछन् । पानी ट्यांकर चलाउने काम भएकाले उनीहरु लकडाउनमा पनि काठमाडौं फर्किएका थिए ।

चन्द्रागिरी नगरपालिका ७ का वडाध्यक्ष गोपालकृष्ण महर्जनले उनीहरु बस्ने घरमा ३० परिवार बस्ने गरेको बताए । उनले उक्त घर १४ दिनका लागि शिल गरिसकिएको बताए । लकडाउनको समयमा अन्यत्रबाट मानिस आएको थाहा पाएपछि आफूहरुले परिक्षण गर्न लगेको उनले बताए ।

संक्रमित बालकको अहिले बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

-केन्द्रबिन्दुबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०