Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपदमा उद्दारका लागि राक्सिराङका ९ वटै वडामा स्वयम्सेवक

Raksirang-1595302575.jpg

मकवानपुरको विकट तथा प्राकृतिक प्रकोपको अति जोखिममा रहेको राक्सिराङ गाउँपालिकाका ९ वटै वडामा स्वयम्सेवक परिचालन गरिएको छ । प्रत्येक वडामा ५ जनाका दरले ४५ जना स्वयम्सेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई कार्यक्षेत्रमा खटाइएको छ ।

गाउँपालिका कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमपछि उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरी वडामा पठाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । टोलमा रहेका सक्रिय युवाहरुमध्येबाट वडा कार्यालयको सिफारिसको आधारमा गाउँपालिकाले स्वयम्सेवकको रुपमा खटाएको हो । स्वयम्सेवक युवालार्ई टिर्सट, टर्च लाइट, हाते आरो, स्टेचर, डोरी, बेल्चा, सुरक्षित कपडा, हेलमेटलगायतका सामाग्री गाउँपालिकाले प्रदान गरेको छ । ‘गाउँमा बाढी, पहिरो या अन्य प्राकृतिक विपद्का घटना भइहाले यथाशीध्र परिचालन हुने गरी स्वयम्सेवक खटाएका हौं । उनीहरुले जुनसुकै समयमा विपद्को घटना भइहाले उद्दारको लागि खट्ने र अन्य निकायलाई जानकारी गराउने काम गर्नेछन् ।’ अध्यक्ष मल्लले भने ।

उनीहरु गाउँमा हुनसक्ने प्राकृतिक प्रकोपको घटनामा उद्दार र आवश्यक सहयोगको लागि साउन र भदौ महिनाभर उच्च सतर्कताका साथ रहनेछन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको स्वयम्सेवक प्रशिक्षण तथा सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेले स्वयम्सेवकहरुलाई प्रशिक्षण दिएका थिए ।

गाउँपालिकामा कुनै प्राकृतिक प्रकोपका घटना भइहाले ततकाल उद्दार र राहतको लागि आफूहरु तयारी अवस्थामा रहेको पनि गाउँपालिकाले जनाएको छ । तार जाली, पाइप, जस्ता, त्रिपाल, रासनलगायतका सामाग्रीहरु गाउँपालिकाले तयारी अवस्थामा राखेको छ । राक्सिराङ गाउँपालिका बाढी र पहिरो र चट्याङको उच्च जोखिममा रहेको छ । यसवर्ष मात्र चट्याङले २ जना र हावाहुरीले ढलेको रुखले किचेर २ जना गरी ४ जनाको मृत्यु भइसकेको छ ।

-प्रदेश सञ्चारबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०