Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

qurentine-1590992201.jpg

फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।” स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उहाँले टिप्पणी गर्नुभयो ।

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उहाँले बताउनुभयो । नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उहाँले भन्नुभयो, “आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टिन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो । रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।”

लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टिनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
 रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०