Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रक्षा बन्धन आडम्बर हो कि यसको सामाजिक महत्व छ ?

TTA-1596419471.jpg

आज रक्षाबन्धन । वर्तमान समाजमा यस्ता संस्कार एवं परम्परालाई ‘आडम्बर’को आँखाले हेर्ने गरिन्छ । स्वभाविक पनि हो, हरेक कुरामाथि हामीले प्रश्न राख्नुपर्छ । यो मानवीय प्रवृत्ति पनि हो । रक्षाबन्धन किन मनाउने ? जनै फेर्दा के हुन्छ ? डोरा किन बाँध्ने ? यस्ता प्रश्नहरुको तार्किक जवाफ आवश्यक छ । किनभने हामीले मनाउँदै आएका कतिपय संस्कृतिको महत्व र आवश्यक्ताबारे हामी त्यती घोत्लिदैनौं ।

यस्तो छ धार्मिक विधि

जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधिपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।

यस्तो छ पौराणिक कथा

धार्मिक कथनअनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ ।

पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किएको थियो । उक्त युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न थाले ।

यता इन्द्रले उनीहरुसँग पुनः अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको काममना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

रक्षा बन्धनको अर्थ र महत्व

यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । गलत खानपान, रहन सहनले हामी आफैंलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो ।

रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्मअनुशासनको एउटा विधि हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । यो पर्वलाई विषतोडक पर्व समेत भनिन्छ ।

हरेकजसो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०