Wednesday, 19th August, 2026
वि.स.

माओवादी नेता सुन तस्करीका मुख्य नाइके

raju-paudel-1505183694.png

पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार रहेको खबर २७ भाद्रको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।

उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif