Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मलेसियामा पिटाइ खाने र पिट्ने दुवै नेपाली

malesiya-1596451500.jpg

 मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो । आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो । शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो । ४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०