Wednesday, 26th August, 2026
वि.स.

मनहरी गाउँपालिका क्रसर उद्योगीबाट सवा करोड जरिबाना असुल्दै

Manahari-1608133388.jpg

स्टक प्रमाणित भएकोभन्दा बढी परिमाणको ग्रेबल थुपारिएको पाइएपछि मनहरी गाउँपालिकाले गाउँपालिकाभित्रका डेढदर्जन क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुलाई जरिबाना गर्दै राजश्व असुली गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बुधवार भएको बैठकले जिल्ला समन्वय समिति मकवानपुरको निर्देशन बमोजिम राजश्व संकलन गर्ने निर्णय गरेको हो । प्रति घनमिटर ६७.५० रुपियाँका दरले राजश्व संकलन हुने गरेकोले सोही रकम बराबरको जरिबाना तिर्न व्यवसायीहरु पनि सहमत भएपछि जरिबाना गर्ने निर्णय गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए ।

कूल १ लाख ८२ हजार घनमिटर ग्रेबलबापतको जरिबाना १ करोड २४ लाख ७ हजार ४ सय रुपियाँ हुन आउँछ । साथै उक्त परिमाणको प्रशोधनपछि निकासी हुँदा निकासी कर पनि थपिनेछ । निकै लामो समयपछि बसेको बैठकले मनहरी अस्पतालको डिपिआर तयार गरी एकमहिनाभित्र ठेक्का प्रक्रिया थाल्ने निर्णय गरेको छ ।

त्यसैगरी जग्गा नापी गरी लालपुर्जा बितरणका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगले पठाएको कार्यविधि अनुसार तत्कालै पालिका तह र वडातहमा आयोग गठन गरी प्रक्रिया अघि बढाउने र गाउँपालिकामा कर्मचारीको बन्दोबस्त भूमिसम्बन्धी डेस्क संचालन गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले अघिल्लो महिना मनहरी गाउँपालिका ६ नं वडामा उद्घाटन गरेको गाउँघर क्लिनिकमा तत्कालै जनशक्ति उपलब्ध गराएर नियमित स्वास्थ्य सेवा प्रबाह गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले गाउँपालिकाको काम कारबाही तथा उपाध्यक्ष मनिला बिष्टका सम्बन्धमा बाहिर आएका समाचारहरुका बारेमा ध्यानाकर्षण जनाउँदै अप्रमाणित समाचारका कारण मनहरीबासीमा पर्न गएको भ्रमबाट मुक्त हुन सबैमा आग्रह समेत गरेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए ।

मनहरिलाइभबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif