Wednesday, 1st July, 2026
वि.स.

मकवानपुर क्याम्पसका प्रशिक्षक सुरेश श्रेष्ठलेको विषयमा तत्काल छानविन गर्न अख्तियारमा उजुरी

aktiyar-1565252199.jpg

मकवानपुर बहुमुखी क्याम्पसका प्रशिक्षक सुरेश श्रेष्ठले विगत १० बर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएको भन्दै उनको विषयमा तत्काल छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी दर्ता भएको छ । गत साउन १९ गते मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रशिक्षक सुरेश श्रेष्ठको विषयमा तत्काल छानविनको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

दर्ता नम्वर ३ सय ३७ मा दर्ता भएको उक्त उजुरीपत्रमा प्रशिक्षक श्रेष्ठले १० बर्षदेखि नक्कली तथा विना शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएको, त्यसकारण उनले १० बर्षदेखि लिएको सेवा सुविधा समेत गैरकानूनी भएको भन्दै १० बर्षसम्म उनले पाएको सम्पूर्ण सेवासुविधा बापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुपर्ने उल्लेख छ ।

उजुरीपत्रमा प्रशिक्षक श्रेष्ठलाई बचाउन लागिपरेको क्याम्पस प्रशासन, विद्यार्थी संगठनका जिल्ला तहका नेताहरुको विषयमा समेत छानविन गरी उचित कारबाहीको माग गरिएको छ ।

यस विषयमा तु खबरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी देव राईसंग जिज्ञासा राख्दा उनले उजुरी प्राप्त भएको बताए । तर छानविनको काम भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयसंग अनुमति लिएरमात्रै सुरु गरिने बताए ।

म गलत छैन : श्रेष्ठ
तर प्रशिक्षक श्रेष्ठले उजुरी दिएको बारे आफुले भर्खरै थाहा पाएको बताए । उनले चित्त नबुझेको विषयमा उजुरी दिन पाउने अधिकार सबैलाई भएको बताए । आफु गलत नभएकोले उजुरी दिएर केही असर नपर्ने उनको भनाई छ ।

सुरेश श्रेष्ठको करार थपिएको छैन, उहाँ क्याम्पसमा रहने वा हट्ने जे पनि हुन सक्छ – कार्यबाहक अध्यक्ष पौडेल

यसबारे क्याम्पस संचालक समितिका कार्यबाहक अध्यक्ष अनन्त पौडेलले प्रशिक्षक सुरेश श्रेष्ठलाई गैरकानूनी रुपमा नियुक्त नगरिएको बताए । उनले प्रशिक्षक श्रेष्ठको करार थपिने वा नथपिने भन्ने विषयमा अहिले टुङगो नलागेको बताए ।

उनले भने ‘ क्याम्पसको साधारणसभाको तयारीमा हामी छौँ, साधारणसभापछि उहाँलाई के गर्ने निर्णय गर्छौ ।’
उनले श्रेष्ठको विषयमा पछिल्लो समय निकै विवाद आएकोले श्रेष्ठलाई राख्नैपर्ने बाध्याताभने आफुहरुलाई नभएको बताए ।
अख्तियारमा उजुरी परेको विषयमा भने अख्तियारले आफुहरुलाई जानकारी गराई नसकेको उनको भनाई छ ।

स्रोतः तु खबर