nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा भेटियो दुर्लभ ‘भोटेलहरा’

bhote-lahara-1627809082.jpg
  • कुमार नेगी

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि)को अनुसूची–३ मा सूचिकृत दुर्लभ वनस्पति ‘भोटेलहरा’ मकवानपुरमा भेटिएको छ । वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट नेपालको तनहुँ, सङ्खुवासभा र मकवानपुरमा मात्र पाइने भनिए तापनि पछिल्लो समयमा मकवानपुरमा भोटेलहरा लोप भइसकेको अनुमान गरिएको थियो । पछिल्लोपटक मकवानपुरस्थित वनस्पति अनुसन्धान केन्द्रमा सरुवा भई आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले खोजको क्रममा भोटेलहरा फेला पारेका हुन् । यो ताजा खोजले नेपालको प्रकृतिमा दुर्लभ भोटेलहरा छ भन्ने पुनः एकिन भएको छ । 

खोजको क्रममा मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन क्षेत्रमा दुर्लभ भोटेलहरा फेला परेको बरिष्ठ बैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए । ‘खोजको क्रममा हालसम्म मकवानपुरमा आठवटा भोटेलहराका विरुवा फेला परेका छन्, खोजी कार्य अझै जारी छ,’ उनले भने ।

वनस्पति विभागबाट मकवानपुर सरुवा भएर आउनेवित्तिकै पराजुलीले मकवानपुरमा सङ्कटापन्न वनस्पतिको रुपमा रहेको भोटेलहराको खोजी गर्नुपर्छ भन्ने सोच राखेका थिए । ‘वानस्पतिक अन्वेषण तथा सर्वेषणबाट नेपालको तनहुँ, संखुवासभा र मकवानपुरमा मात्र पाइने थाहा लागेको थियो, तर मकवानपुरमा वृन्दावन क्षेत्रमा पाइने भनिएको भोटेलहरा सो क्षेत्रमा नभेटिएपछि थप खोजी गर्न थालेको थिएँ’ उनले बताए । भोटेलहराको खोजीमा पराजुलीको साथमा वनस्पति अनुसन्धान कार्यालयका कर्मचारीहरुसमेत लापि परेका थिए । 

मकवानपुरको मनहरी, लोथर, फापरवारी, गढी, भैँसे, चुरियामाई, भिमफेदी लगायतका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएपछि मकवानपुरबाटै लोप भएको होकि भन्ने शंका उब्जिरहेको बेला यात्राको क्रममा ठिङ्गनमा भोटेलहराको बोट भेटिएको पराजुलीले बताए ।  ‘कान्ति लोकपथ हुँदै काठमाडौँ जाँदै थिएँ, बकैया गाउँपालिका वडा नम्बर ११ को सिमात खोलाको पुलनजिक गाडी रोकेर २ सय मिटर जति भित्र खोजी गर्दा भोटेलहराको बोट भेटियो’ उनले खुशी हुँदै भने । भोटेलहराको बोट भेटिएपछि त्यसको सानो हाँगा लिएर राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका लागि लगेको र सो क्रममा वनस्पति विभागका महानिर्देशकलाई समेत देखाएको उनले सुनाए । 

पराजुली काठमाण्डौँबाट फर्किएपछि सोही क्षेत्रमा गएर खोजी गर्दा अरु थप ७ बोट फेला परेका हुन् । पराजुलीलाई भोटेलहरा खोज्न बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोपालबहादुर नेसुर, सिउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर स्याङ्तान र स्थानीय बासिन्दाले सहयोग गरेका थिए । भेटिएका भोटेलहराका बोटलाई अहिले तारबारसहित संरक्षण गर्नुका साथै सो स्थानमा सूचनामुलक बोर्डसमेत राखिएको बकैया गाउँपालिका–११ का वडा अध्यक्ष नेसुरले बताए । भोटेलहरा खोज्ने क्रममा अनुसनधानकर्ता पराजुलीले भोटेलहराको बोट फेला पार्ने व्यक्तिलाई रु. एक हजार प्रोत्साहनस्वरुप उपलब्ध गराउने घोषणासमेत गरेका थिए । सो घोषणापछि स्थानीयले थप ५ वटा भोटेलहराको बोट फेला पारेपछि मकवानपुरमा भेटिएका भोटेलहराको सङ्ख्या ८ पुगेको बरिष्ठ बैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए । फेला परेका ८ मध्ये फलसहितको भोटेलहरासमेत छन् । 

के हो भोटेलहरा ?
वरिष्ठ बैज्ञानिक अधिकृत पराजुलीका अनुसार भोटेलहरा सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो । नेपालमा यसको प्राकृतिक उपलब्धताको सुनिश्चित गर्नुमै यसको महत्व रहेको छ । वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनहरूले देखाएका छन् । जसमध्ये नेपालमा पाइने प्रजाति निटुमोन्टलम हो । यसको स्थानीय नाम भाटेलहरा हो । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्ष राष्ट्र भएको कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ । साइटिस महासन्धिमा रहेका तीनवटा अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्दछ ।

भोटेलहरा ढिलो बढ्ने सदाबहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो । भाले र पोथी बिरुवा अलग–अलग हुने भएको कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवाहरू विस्तार नभएको पराजुलीले बताए । यसको फल दम खोकीमा उपयोगी हुने अध्ययनहरूले देखाएका छन् । 

नेपालमा भोटेलहराको अध्ययन
वनस्पति अनुसन्धान केन्द्रका प्रमख बरिष्ठ बैज्ञानिक अधिकृत पराजुलीका अनसार राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एम. एल. बेनर्जी नेतृत्वको समूहले पूर्वी नेपालको सिदुवा क्षेत्र आसपासबाट भोटेलहरा सङ्कलन गरेको थियो । यसैगरी सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति केन्द्र क्षेत्रबाट सङ्कलन भएको थियो । त्यसयता रतुवाखोला, चुलाचुली, चितवन, संखुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्वेरियम सङ्कलन भएको पाइएको छ । सङ्खुुवासभाको नुम क्षेत्र, तनहुँको ढोरफिर्दी र ढोरबाराही मन्दिर क्षेत्रबाट सङ्कलन भएको अभिलेख छ ।  रासस


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)