Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा बढ्यो बलात्कार, तीन वर्षमा ९० घटना दर्ता

Untitled-1-1605369420.jpg

तीन वर्षको तथ्यांक तुलना गर्दा मकवानपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा २२ वटा बलात्कारका घटना दर्ता भएको मकवानपुरमा आव ०७५/७६ मा ३२ र ०७६/७७ मा ३६ वटा पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ को असोज दोस्रो सातासम्म १० वटा बलात्कारका घटना थप दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो अवधिमा एउटा हाडनाता करणी दर्ता भएको रानाले बताए । बलात्कार प्रयासका घटना ३ आर्थिक वर्षमा बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७४/७५ मा १०, आव ०७५/७६ र ०७६/७७ मा समान आठ–आठवटा बलात्कार प्रयासका घटना दर्ता भएको प्रहरीले जनाएको छ । यसैगरी बालयौन दुरुपयोग पनि बढेको छ । आव ०७५/७६ मा सात र आव ०७६/७७ मा आठवटा बालयौन दुरुपयोग भएको प्रहरीको तथ्यांक छ । बितेको तीन वर्षमा जातीय छुवाछुत र अप्राकृतिक मैथुनका घटना दर्ता भएको छैन ।

प्रवक्ता रानाले जनचेतना अभिवृद्धि गर्नु नै यौनजन्य हिंसा न्यूनीकरणको प्रमुख उपाय भएको बताए । उनले बलात्कारका घटना शून्य नहुने भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना फैलाउने, आत्मरक्षाका लागि तालिम लिनेलगायतका थुप्रै उपाय अपनाउनुपर्ने दाबी गरे ।

मानिसको मानसिक खराबीकै कारण बलात्कार बढेको भन्दै यसलाई न्यूनीकरण गर्न जनचेतना बढाउनुपर्नेमा सबै निकायको ध्यान पुग्नुपर्ने रानाको भनाइ छ । डिएसपी रानाले बलात्कारको घटना मात्रै नबढेको र विगतमा भन्दा अहिले नागरिकमा सूचना प्रविधिको सहज पहुँच भएकोले लुकेका घटना बाहिर आएको धारणा राखे ।

विगतमा डर, त्रास र सामाजिक प्रतिष्ठाका कारण पनि धेरैले घटना गुम्स्याएर राख्ने गरेको स्मरण गर्दै हाल पीडा लुकाएर बस्ने बालिका तथा महिला कम भएको उनले बताए ।

-नयाँ पत्रिका, सुदीप शिवाकोटी 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०