nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुमारी मोक्तानले खुलासा गरिन् माओवादी हार्नुको कारण

नेकपा (माओवादी केन्द्र) तीन नम्बर प्रदेशको बैठकमा बोल्ने धेरै नेता–कार्यकर्ताले पार्टी कमजोर कसरी भयो भनेर फरक–फरक धारणा राखे। निर्वाचनमा पार्टी पराजयका कारणबारे १३ जिल्लाका इञ्चार्जले पालैपालो राखेको धारणामा अध्यक्षले कार्यकर्ताको फोन नउठाएको विषय समेत परेको छ।

अधिकांशले भद्रगोल सांगठनिक संरचना र नेता कार्यकर्ताको कार्यशैलीले निर्वाचन पराजयमा भूमिका खेलेको धारणा राखेका थिए।

‘हामी लफंगा भयौं, लफंगाहरूको पार्टीले कसरी चुनाव जित्छ?’
बैठकको सुरूमा रिपोर्टिङ गर्दै माओवादी केन्द्रका काठमाडौं जिल्ला इञ्चार्ज लेखनाथ न्यौपानेले पार्टीका नेता तथा कार्यकर्ता ‘लफंगा’ भएको टिप्पणी गरे। उनले कुनै पनि माओवादी कार्यकर्ता लेखपढमा रूचि नराख्ने भन्दै विचार बिनाका कार्यकर्ता उत्पादन भएकाले समेत निर्वाचन परिणाम चित्तबुझ्दो नआएको तर्क गरे।

‘पढ्ने, लेख्ने र विचार निर्माण गर्ने काम हामी गर्दैनौं, कसैले लेखपढमा प्रेरित नै गर्दैन’, उनले भने, ‘हामी लफंगा भयौं, लफंगाको पार्टीले कसरी चुनाव जित्छ?’

न्यौपानेले निर्वाचनको मुखमा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुका कारण पार्टीको छवि धुमिलिएको धारणा राखे।

भक्तपुर जिल्लाका इञ्चार्ज देवेन्द्र श्रेष्ठले बाटो विस्तारका नाममा स्थानीयको घर भत्काएकाले निर्वाचनमा पराजित भएको बताए। उनले पनि नेता कार्यकर्ता दृष्टिकोणबिहिन भएको र सामाजिक कार्यमा जोडिन नसकेका कारण अपेक्षित परिणाम आउन नसकेको तर्क गरे।

श्रेष्ठले पार्टीको आधिकारिक सञ्चार साधन नभएकाले विरोधीहरूको भ्रम चिर्न नसकेर समेत निर्वाचनमा क्षति बेहोर्नुपरेको बताएका थिए।

‘अध्यक्ष हाम्रो फोन नउठाउने, हामीलाई नभेट्ने अनि कसरी चुनाव जितिन्छ?’
बैठकमा धारणा राख्नेहरूले पार्टी अध्यक्ष प्रचण्डलाई समेत बाँकी राखेनन्। रसुवा जिल्लाका इञ्चार्ज इन्द्र गौतमले प्रश्न सोधे, ‘हामीले अध्यक्षलाई फोन गर्न पाउने कि नपाउने? उहाँ कार्यकर्तासँग जोडिनै सक्नुभएन।’

पार्टी अध्यक्षले निर्वाचनका सम्बन्धमा जिल्लाका नेताहरू कसैसँग पनि परामर्श नगरेको भन्दै गौतमले आक्रोश व्यक्त गरेका थिए।

पार्टी अध्यक्षमाथि आक्रोश पोख्ने गौतम एकजना मात्र थिएनन्। पार्टीका रामेछाप जिल्ला संयोजक ‘मदन’ले प्रश्न गरे, ‘हामीले अध्यक्ष र वरिष्ठ नेतालाई भेट्न पाउँदैनौं, उहाँहरू कसलाई भेट्दै हिँड्नुहुन्छ?’

उनले पनि निर्वाचनमा माओवादी पराजित हुनुका धेरै कारणमध्ये एउटा पार्टी नेताहरूको कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्ति पनि रहेको धारणा राखे।

‘हामीसँग एनजिओ, आइएनजिओ भएन’
कतिपय जिल्ला इञ्चार्जहरूले पार्टीको एनजिओ, आइएनजिओमा पहुँच नरहेका कारण निर्वाचन परिणाम अनपेक्षित रहेको तर्क गरे।

रसुवा जिल्ला इञ्चार्ज इन्द्र गौतमले कांग्रेस, एमाले निजी हस्पिटल, एनजिओ, आइएनजिओमा पहुँच राखेका कारण सहजै चुनाव आफ्नो पक्षमा पारेको तर माओवादी केन्द्रको पहुँच अभावकै कारण निर्वाचन प्रतिकूल बनेको बताए।

‘एमाले कांग्रेसले जस्तै हामीले पनि निजी हस्पिटल, एनजिओ, आइएनजिओमा प्रवेश गर्न आवश्यक छ, एमाले कांग्रेस त्यहाँ पुगे र चुनाव जिते, हामी पुग्न सकेनौं र हार्‍यौं’, उनले भने।

रामेछाप जिल्ला संयोजक मदनले पनि एनजिओ, आइएनजिओमा पार्टीको पहुँच स्थापित हुनुपर्नेमा जोड दिए। ‘कांग्रेस, एमालेको जस्तो हाम्रो सेना, प्रहरी, एनजिओ, आइएनजिओ भएन, हामीले कलात्मक ढंगले यी संस्थालाई प्रयोग गर्न सकेनौं।’

 

प्रचण्ड

प्रचण्ड

 

‘एक गाउँपालिकामा प्रहरीले नै चुनाव हराइदियो’
धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्मरकट्टेलले एक गाउँपालिकामा आफ्नो पार्टीलाई प्रहरीले हराइदिएको दुखेसो पोखे। ‘सरकार हाम्रै थियो, तैपनि प्रहरी प्रशासनबाट हामीलाई असहयोग भयो, हामीले हार्दै नहार्ने एक गाउँपालिका प्रहरीले हराइदियो’, उनले भने।

आफुले एसपी सरूवा गर्नुपर्छ भन्दा पार्टी नेताहरूले कुनै वास्ता नगरेको भन्दै जम्मरकट्टेलले भने,‘एकजना एसपी सरूवा गरिदिनुस्, उसले एमाले जिताउँदैछ भनें कसैले वास्ता गरेन, अन्तिममा हामीले चुनाव हार्‍यौं।’

उनले कांग्रेससंगको तालमेल फलदायी नभएको बताएका थिए।

यस्तै, केहीले भने चुनाव चिह्नले पनि पार्टीको मतमा फरक पारेको बताए। काभ्रे जिल्ला इञ्चार्ज हितबहादुर तामाङले निर्वाचन चिह्नले ठूलो मात्रामा धोका दिएको गुनासो गरे। यस्तै, नुवाकोट जिल्ला इञ्चार्ज बिमला सुवेदीले पनि निर्वाचन चिह्नका कारण धोका पाएको बताइन्।

‘जनतालाई चुनाव चिह्न चिनाउन नसक्दा पनि हामीले हार्ने अवस्था आयो’, उनले भनिन्, ‘हामीले १० वडामा १ देखि १७ मतको अन्तरले चुनाव हारेका छौं र उल्लेख्य मात्रामा हँसिया र तारामा भोट खसेको छ।’

‘पार्टीले पश्चिमलाई ध्यान दियो, पूर्वलाई गरेन’
बैठकमा बोल्ने केहिले पार्टी पश्चिम केन्द्रित भएको गुनासो गरेका थिए। उनीहरूले मन्त्रि बनाउँदा क्षेत्रलाई ध्यान नदिएको भन्दै गुनासो गरेका थिए।

रामेछाप संयोजक मदनले खुलेरै भने, ‘अध्यक्ष पश्चिम फर्किनुभयो, पूर्व फर्किनुभएन, कोही दर्जनौंपटक मन्त्री हुने, कोही मन्त्री हुनै नपाउने? यो के तरिका हो?’

पार्टीकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले पनि घुमाउरो ढंगले मन्त्री चयन र राजनीतिक नियुक्तिका विषयमा असन्तुष्टि व्यक्त गरिन्। ‘हामी कहाँबाट कति भोट आयो भनेर डायरीमा टिप्छौं, अब कहाँबाट को कतिपटक मन्त्रि भयो र कहाँबाट भएन भन्ने पनि टिप्नुपर्ने होला’, उनले भनिन्।

यस्तै, खड्काले दोलखामा निर्वाचन परिणाम अनपेक्षित आउनुको कारणबारे भनिन्, ‘२०७२ सालको भुकम्पमा एनजिओ, आइएनजिओ भएर पसेको एमाले नामको भाइरसलाई सामाजिक रूपले पन्छाउन सकेनौं र परिणाम सुखद रहेन।’

‘सिडिओ सरूवा गर्न सुमार्गीलाई सोध्नुपर्छ भनियो’
बैठकमा बोल्न प्रत्येकलाई पाँच मिनेटको समय छुट्याइएको थियो। आफ्नो समय पूरा भइसकेपछि मकवानपुर जिल्ला इञ्चार्ज कुमारी मोक्तानले २०६४ सालको प्रसंग स्मरण गरिन्।

‘०६४ सालमा हाम्रो फेभरको सिडिओ ल्याउनुप¥यो भनेर आफ्नो पार्टीका गृहमन्त्रीलाई भन्दा उहाँले सुमार्गीलाई सोध्नुपर्छ भन्नुभयो’, उनले भनिन्, ‘पार्टीको अवस्था अहिले पनि त्यस्तै छ, गृहमन्त्री हाम्रो छ तर केही काम हुँदैन, अन्तै सोध्नुपर्छ।’

नेपालखबर डटकमबाट









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg