Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरकाे भनिएका कोरोना संक्रमित पर्साका पो रहेछन्

sukk-1589549816.jpg

मकवानपुरका भनिएका ३७ बर्षीय कोभिड १९ संक्रमित पर्सा जिल्लाका रहेको खुल्नमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महामारी रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले कोभिड १९ को परीक्षणका लागि स्वाब संकलन गर्दा उनको ठेगाना भुलवश मकवानपुर पर्न गएको बताए ।

‘शुक्रबार कोभिड १९ संक्रमण देखिएका व्यक्ति मकवानपुरका नभई पर्साको सितपुर निवासी रहेछन् । मन्त्रालयले त्यसलाई सच्याउँदैछ,’ डा.पाण्डेले भने । उनका अनुसार ती व्यक्ति काठमाडौंमा सिकर्मी काम गर्दै आइरहेका छन् । ‘ठेगाना गलत हुँदा उनलाई सम्पर्क गर्न मन्त्रालयमै समस्या सिर्जना भएको थियो । अहिले उनी सम्पर्कमा आएका छन्,’ पाण्डेले भने ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरका एक जनासहित थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बताएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पनि नियमित पत्रकार सम्मेलनमा उनी मकवानपुरकै भएको बताएका थिए ।

मकवानपुर दिनभर त्रसित

शुक्रबार बिहानै संघीय सकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा एकजना र बाँकेमा आठजना गरी नौजनमा कोभिड १९ संक्रमित भेटिएको सूचना जारी गर्‍यो । उक्त सूचनासँगै मकवानपुर कोभिड १९ संक्रमित भेटिने जिल्लाको सूचीमा समावेश भयो । मकवानपुरमा पहिलो संक्रमित भेटिएको मन्त्रालयको सूचनाबाट स्पष्टै हुन्थ्यो । उक्त विषयमा देशभरका मिडियाहरुमा समाचार आएसँगै मकवानपुरको जनजीवन त्रसित बनिसकेको थियो ।

यस विषयमा जिल्लाको कमाण्ड पोष्ट भने अनविज्ञ थियो । कमाण्ड पोष्ट टोली हेटौंडा बजारक्षेत्रमा बिहानबाटै भिडभाड बढेपछि त्यसको अनुगमन र नियन्त्रणमा खटिरहेको थियो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौर तथा व्यवसायीसहितको कमाण्ड पोष्ट टोलीमाझ मकवानपुरमा कोभिड १९ को संक्रमित भेटिएको सूचना पुगेसँगै टोली बजार अनुगमन छाडेर संक्रमितको नाम, थर, ठेगाना पत्ता लगाउनतर्फ केन्द्रीत भयो ।

लामो प्रयासपछि उक्त संक्रमितको ठेगाना हेटौंडा–५, पिप्ले कुना रहेको निष्कर्षमा टोली पुग्यो । पिप्ले कुनामा घरभाडा लिएर बस्ने गरेको भन्ने सूचनाका आधारमा वडा अध्यक्ष राजेश बानियाँ घर पत्ता लगाउनका लागि बिहानभर खटिए । तर, पत्ता लगाउन सकेनन् । ‘घर पत्ता लगाउनै सकिनँ । करिब पाँचघण्टा एक्लै सबै टोलमा पुगें । केही पत्ता लागेन । घरघर पुगेको हो । पत्ता लगाउन नसकेपछि दिउँसो १ बजे घर आएर बसें ।’

वडाअध्यक्षले संक्रमितको ठेगाना पत्ता लगाउन नसकेपछि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा तथा हेटौंडा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङ्गेलसहितको टोली उनको खोजीमा फिल्डमा निस्कियो । तर, उपलब्धि शुन्य नै रह्यो । यसबीचमा प्रमुख जिल्ला अधिकारी नेपाल विभिन्न अनलाइन मिडियालाई प्रतिक्रिया दिएर हेटौंडा–५ कै रहेको र उनी काठमाडौं बस्दै आएको दावी गर्दै उनको बारेमा खोजी भइरहेको बताइरहका थिए । कतैबाट पनि उनको ठेगाना पत्ता नलागेपछि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन हेर्ने निष्कर्षमा जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरु पुगे ।

-सुवास विडारी, इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०