Tuesday, 25th August, 2026
वि.स.

भारतबाट २१ महिलाको उद्धार

mahila-1596092936.jpg

घरेलु कामदारका रूपमा भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार गरिएको छ। लकडाउनको अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली महिलालाई स्वदेश फर्काएको हो।

२१ मध्ये २० जनालाई परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयले जनाएको छ। कैलाली, दाङ, पर्वत, झापा, मोरङ, महोत्तरी, काभ्रेलगायतका जिल्लाका महिलाको उद्धार गरिएको मन्त्रालयकी उपसचिव गोमादेवी ढकालले बताइन्। गत मंसिरमा आठ जना, पुसमा सात जना माघमा पाँच जनाको समूह र एक जनालाई छुट्टै लगिएकोमा भारतको मणिपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई त्यहाँको प्रहरीले सुरक्षित आवासगृहमा राखेको थियो। सबैलाई मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास, नेपाल र भारतीय प्रहरी, माइती नेपालको समन्वयमा उद्धार गरिएको ढकालले जानकारी दिइन्।

उनले भनिन्, ‘मन्त्रालयको नेतृत्वमा विभिन्न संस्थाको समन्वयमा उद्धार गरेका छौं, लकडाउनले गर्दा केही समय समस्या भएको थियो। तर, हामीले दूतावाससँगको सम्पर्कमा उद्धार गर्‍यौं।’ स्वदेश फर्काइएकामध्ये आठ जनालाई झापास्थित पुनस्र्थापना केन्द्रको जिम्मा लगाइएको छ भने बाँकी १३ जनालाई काठमाडौंको पुनस्र्थापना केन्द्रको क्वारेन्टाइनमा छन्। २१ मध्ये केही यसअघि पनि रोजगारका लागि खाडी मुलुक पुगेर फर्किएका छन् भने कोही पहिलो पटक जान लागेका अनुसन्धानबाट खुलेको छ।

उद्धार गरिएकामध्ये एकजनामा डिप्रेसनको समस्या देखिएको र अन्यको स्वास्थ्य ठीक रहेको ढकालले बताइन्। ‘अहिले हामीले प्रायः सबैको स्वास्थ्य अवस्था बुझेर निजहरूको परिवारमा पुनर्मिलन गराएका छौँ। केहीलाई पुनस्र्थापना केन्द्रको क्वारेन्टाइनमा राखेका छौं’, उनले भनिन्। आर्थिक वर्ष २०७६र७७ मा एक हजार दुई सय १४ जनाको उद्धार भएको थियो। जसमध्ये मन्त्रालयको नेतृत्वमा एक सय १६ जनाको उद्धार भएको थियो।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif