Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बिसिङ्खेलमा लाग्ने अम्बे जात्रा स्थगित

ambe-jatra-1602493075.jpg

 थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगित गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगित गरिएको हो ।

हिन्दू धर्म अनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले बताए । 

जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडौं भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो । अम्बेजात्रालाई स्थानीयवासी गोपालीहरुले विशेष महत्व दिएर मनाउने गरेका थिए ।

स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकै पटक कुटिएको चिउरा चढाउने प्रचलन छ । गोपालीले टाउकोमा पगरी र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत छ ।

चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको छ । चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्तीअनुसार स्थानीयवासी चम्पाकेश्वर महादेवका रुपमा पुज्छन् । चम्पाकेश्वरको पूजा गरे गाउँमा पानी पर्ने र गाईवस्तु पालन फस्टाउने स्थानीयवासीको विश्वास रहिआएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०