Thursday, 2nd July, 2026
वि.स.

बिकासमा भेदभाब, व्यवहारमा भेदभाव

Sirjana-basti-1524392988.jpg

समाजमा समानता र एकता छायो भन्ने आभास केबल माथिल्लो निकायले मात्र गर्न सकेका छन । सबै मिलेर समृद्ध देश निर्माणमा लाग्ने कुराले शब्दमा मात्र सिमितता प्राप्त गरेको देखिन्छ । ४ जात ३६ बर्णका एउटै सुन्दर फुलबारी हो नेपाल भनेर शब्दमा भनिरहँदा नेपालमा चलेको ब्यवहार भने बिल्कुलै फरक छ । ठुलो जातले सानो जातलाई गर्ने ब्यबहारले सानो जातका मानिसहरु माथि उठ्न सकेको छैन भने साना जातहरु भित्र पनि शिक्षा, धन, सम्पन्नता र पेशाको हिसाबले भेदभाव  रहेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको एक दलित बस्तीको नाम हो सृजना बस्ती । नाम सुन्दा साच्चै नै त्यो कलात्मक रुपमा फरक फरक पेशा, सिप र कला लगायत सृजनाले भरिएको बस्ती हो सिर्जना बस्ती ।
करिब २२ घर परिवार रहेको सिर्जना बस्तीको दलित बस्तीमा न्युन जनसंख्या मात्रले तामा, पितल, फलाम र सुनको कामलाई आफ्नो पेसा बनाएका छन । स्थानिय सरकार आयो, समाजका दलितहरुको अवस्थामा सुधारात्मक कदम चालिएला नि, भनेर सोचेका सृजना बस्तीका दलितहरु “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखानलाई बास्तबिकतामा स्वीकार्न तयार छन । स्थानिय निकायले दलितको प्रतिनिधित्व पनि गराउने प्रबधान ल्याएपछि दलित महिला सदस्यमा दलित प्रतिनिधि चुनिए । तर प्रतिनिधित्वले मात्र दलितको अवस्थामा सुधार भने हुने होइन । स्थानिय निर्वाचन पश्चात दलितहरुको लागि कुनै योजनाहरु परेनन, जसले गर्दा कुनै नेताको आश लाग्दैन, एक स्थानिय नमराज सुनारले भने । २० बर्ष भयो भाँडा तामा पितलको काम गरेको अब यो भन्दा अन्य कुनै राम्रो काम भयो भने यो काम छोड्छु, सुनारले भने । सिर्जना बस्तीमा रहेर लामो समयदेखि तामा पितलको कामलाई नै आफ्नो मुख्य पेसा बनाएका नमराज सुनार भन्छन “अब पछिल्लो पुस्ताले भने यो पेसालाई अंगाल्दैन, हामी छउन्जेल यो पेसालाई निरन्तरता दिन सकिएला ।”
गोपाली गाउँ अर्थात नेवार गाउँ संगै जोडिएको सिर्जना बस्तीका दलितहरुले आफ्नो ठाउँमा रहिरहँदा २१ औँ शताब्दिमा पनि राहत भने महसुुुस समेत नभएको बताउछन । एक जना ३५ बर्षिय महिला कान्छी सुनार भन्छिन–“मेलापातमा जाँदा संगै बस्न, खान हुँदैन, होटलमा जाँदा अलग्गै बसेर खानु पर्छ, धारामा पनि थाप्दा हामीले छोयो भनेर पानी फ्यालेर फेरी थाप्ने गर्दछ ।” यो उमेरमा आइपुग्दा सम्म पनि समान ब्यवहार भने महसुस समेत गर्न पाइएको छैन कान्छी सुनारले भनिन ।
महिला दलित सदस्य सबिना सुनार भन्छिन –“दलितहरु बिचमा पनि एकता र समानता भने छैन, एकले अर्कोलाई हेप्ने र भेदभाब गर्ने प्रबित्ति छ, जसले गर्दा हामी दलितहरु माथी आउन नसकेको हो ।”
“आर्मीमा जागिरे भएर पनि पेन्सन पकाएर घर आँए, १÷२ बर्ष भयो फलामको काम गर्न थालेको छु, आफ्नो पुस्तामा अरुले खास पेशा कै रुपमा काम नगरे पनि आफुले जानेको भएर यसै बस्नु भन्दा भनेर फलामको काम गरेर बसेको छु”– धुर्ब सुनुवारले भने ।
सेवा कै रुपमा पेशा अंगालेर बसेका दलित बस्ती÷सिर्जना बस्तीले नेपाल रेडक्रस सोसाइटीले भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत आरन सामाग्रीहरु प्राप्त गरेका थिए । नगरपालिकाले दलित बस्तीलाई माथि उकास्नको लागि कुनै पनि कार्यक्रम र योजनाहरु नल्याएको प्रति बस्तीका बासिन्दाहरुले गुनासो गरेका छन । 
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।