Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रमुख सचिव विश्वकर्मालाई प्रसिद्ध विकास लेखन सम्मान

Man-1600446984.jpg

नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) लाई २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ ।

उनका करिब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीलाई लक्षित गरी लेखिएका छन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल तथा पत्रपत्रिकाहरूमा समेत उनका थुप्रै लेख प्रकाशित छन् । उनी वाग्मती प्रदेश सरकारका प्रमुख सचिव हुन् । सम्मान-पत्रसहित १० हजार रुपैयाँको रहेको उक्त सम्मान प्राप्त गर्ने उनी तेस्रो व्यक्ति हुन् ।  यसअघि २०७५ सालमा सह-प्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरिसकेका छन् । 

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्ना दिवंगत सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा रहनेगरी एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ देखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको नेपानका अध्यक्ष झविन्द्र भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।