Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ क्याम्पसको परिषद सभाः गुणस्तरीय शिक्षामा केन्द्रित हुने

Clz-1607951329.jpg

मकवानपुरको थाहा नगरपालिकामा पब्लिक क्याम्पसको रुपमा रहेको एक मात्र पालुङ बहुमुखी क्याम्पसले आगामी वर्षहरुमा थप शैक्षिक गुणस्तरमा केन्द्रित रही कार्य गर्ने भएको छ । क्याम्पसको चौंथो परिषद् सभाले क्याम्पस व्यवस्थापनद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र बजेट पारिद गर्दै योजनावद्ध ढंगले अघि बढ्ने निर्णय गरेको हो । 

सभाले क्याम्पस प्रशासन, शैक्षिक प्रशासन, आन्तरिक परीक्षा प्रणाली, वित्तीय प्रशासन, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सुधारका योजनाहरु पारित गरेको छ । क्याम्पस प्रमुख रामहरि अधिकारीका अनुसार प्रशासन सुधारअन्तर्गत किटानीसाथ कक्षा व्यवस्थापन गर्ने, प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने, प्राध्यापकलाई यथासम्भव स्तरोन्नति गर्ने, आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने, छात्रवृत्ति अभियानलाई निरन्तरता दिने र क्यालेण्डर नै निर्माण गरेर कार्य गर्ने योजना अघि सारिएको छ । त्यस्तै, शैक्षिक सुधारअन्तर्गत प्राध्यापकलाई राष्ट्रिय मापदण्डअनुरुप पिरियड प्रदान गर्ने, विश्वविद्यालयले तर्जुमा गरेको विधिअनुरुप प्राध्यापन गर्ने, प्रविधिमैत्री प्राध्यापन गर्ने÷गराउने जस्ता योजनाहरु सभाले पारित गरेको छ । त्यसैगरी विद्यार्थी, कर्मचारी, अभिभावक, प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी यूनियन लगायत सरोकारी पक्षलाई थप सशक्त बनाउन गरी योजना बनाइएको छ । 

क्याम्पसको चौंथो परिषद सभामा क्याम्पस संचालक समितिका अध्यक्ष विष्णु विष्टले वार्षिक नीति तथा कार्यक्रम–२०७७ प्रस्तुत गरेका थिए । सभाले पारित गरेको वार्षिक नीति तथा कार्यक्रममा क्याम्पसमा अध्ययन गर्न यातायात सुलभ नभएका कारणले विद्यार्थीहरुले चाहेर पनि अध्ययन गर्न असमर्थ भएको भन्दै बसको व्यवस्थापनसमेत गर्ने उल्लेख गरिएको छ । 

क्याम्पसको आर्थिक सवलीकरणका लागि विद्यार्थी संख्या बढाउनुका साथैैै थाहा नगरपालिकासँग शैक्षिक अनुदान बढाउने, प्रदेश सरकारबाट नियमित खर्च संचालन अनुदान प्राप्त गर्ने परिस्थितिको लागि लविङ गर्ने, विश्वविद्यालय अनुदान आयोगबाट नियमित खर्च संचालन अनुदान अधिकमात्रामा प्राप्त गर्ने परिस्थिति निर्माण गर्ने, अनुदान प्राप्त गर्ने विभिन्न संघसंस्था र व्यक्तिसँग पहुँच पु¥याउने, मितव्ययी किसिमले खर्च गर्ने नीति तथा कार्यक्रम पारित गरिएको छ । त्यस्तै दानदातव्य प्राप्त  गर्न उच्च पहल गर्ने र क्याम्पसको जग्गालाई कमाउन वा लिजमा दिएर रकम आर्जन गर्नेसमेत योेजना बनाइएको क्याम्पस संचालक समितिका सदस्यसचिब समेत रहनुभएका क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए ।  

हाल क्याम्पसको ६५ लाखको अक्षयकोष रकमलाई स्थानीय सरकार, व्यक्ति एवम् अन्य दातव्य संस्थासँग पहल गरेर तीन करोड रुपियाँको बनाउने योजना सभाले पारित गरेको छ ।  भौतिकतर्फ क्याम्पसले अल्पकालन र दीर्घकालन गरी दुई प्रकारका योजनाहरु अघि सारेको छ । अल्पकालीन योजनाअन्तर्गत् शिलास्तम्भ निर्माण, घेराबार, ३ वटा कोठा मर्मत, चउर व्यवस्थापन लगायत रहेका छन् भने दीर्घकालन योजना अन्तर्गत ४ कोठाको कार्यालय भएको भवनमा ४ कोठा थप, ६ कोठाको भवनमाथि ६ कोठाकै भवन थप, ९ कोठे जीर्ण भवन विस्थापन, छात्राबास निर्माण, सभाहल निर्माण, व्यवसायिक भवन निर्माण लगायतका योजना अघि सारिएका छन् । यस्ता पूर्वाधारहरु निर्माणका लागि क्याम्पसले विभिन्न निकायसँग सहयोगका लागि आग्रह गरिने क्याम्पस संचालक समिति अध्यक्ष विष्टले बताए । क्याम्पसको चौंथो परिषद सभाले क्याम्पसको विधानमा केही संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । 

वि.सं. २०६० सालमा स्थापित पालुङ बहुमुखी क्याम्पसले १८ औैं वार्षिकोत्सव तथा चौंथो परिषद सभा एक साथ सम्पन्न गरेको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) थाहा नगर  कमिटी अध्यक्ष अरुण रायमाझी, जिल्ला कमिटि सचिवालय सदस्य विष्णुप्रसाद ढकाल, थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष राजेश केसी, ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामा लगायतको सहभागिता रहेकोे थियो । 

सभाले क्याम्पस अध्यक्ष विष्णुबहादुर विष्टले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम–२०७७, क्याम्पस प्रमुख रामििहर अधिकारीले प्रस्तुत गरेको शैक्षिक सत्र २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमलकुमार ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेकोे छ । सभामा क्याम्पस संचालक समितिका कोषाध्यक्ष ढकालले आर्थिक वर्ष २०७७।०७८ का लागि २ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

सो अवसरमा क्याम्पसलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्नुका साथै क्याम्पसमा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा क्याम्पसको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठले स्वागत गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०