Friday, 3rd July, 2026
वि.स.

पर्यटकको रोजाईमा थाहानगरको ‘चित्लाङ’

Tourest-@-Chitlang-1582727858.jpg

वि.सं. २०६८ सालमा ४ वटा घरबाट शुरु भएको होमस्टे व्यवसायको संख्यामा अहिले दर्जनौ थपिइसकेका  छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा पर्ने होमस्टे गाउँ पर्यटकीय गाउँको रुपमा विकास भईरहेको छ, पर्यटकको रोजाइमा पर्ने गाउँ सावित भएको छ । चित्लाङ राजधानी काठमाडौंको थानकोटबाट करिब आधा घण्टाको मोटरबाटोको दुरीमा छ । उद्यपि उक्त चित्लाङ थानकोट सडक अहिले स्तरीकरण भैरहेको छ । 

होमस्टेले पर्यटक धान्न नसकेपछि चित्लाङमा ४ वर्षअघि विद्यालयको जग्गा भाडामा लिएर रामशरण नेपालले अर्गानिक रिसोर्ट सञ्चालन गरेका थिए। तर, होमस्टे र साना ठूला गरी एक दर्जन होटलले पनि पर्यटक धान्न नसकेपछि उनले हाल करिब ४ करोड रुपैयाँ लगानीमा चित्लाङ रिसोर्ट सञ्चालनमा ल्याएको छन् । २०    रोपनी जग्गामा ढुंगा र माटोको जोडाइमा भूकम्पप्रतिरोधी रिसोर्ट निर्माण गरेका नेपालले चार महिनायता होटल खाली राख्नुपरेको छैन। ‘कुनै समय सुनसानजस्तै गाउँ अहिले पर्यटकले भरिभराउ छ । सुरुमा नयाँ होटल के होला भन्ने लागेको थियो तर होटल खाली राख्नुपरेको छैन’, नेपालले भने । चित्लाङ रिसोर्टसँगै अन्य दुई नयाँ रिसोर्ट पनि भर्खरै खुलेको छ। होमस्टे पनि थपिने क्रममा छन्। त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको चित्लाङ पुनः पुरानै लयमा फर्किन थालेको हो। त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । ‘चित्लाङमा बास नपाएर सडकमै सुत्ने पनि हुन्थ्यो, बिहान काठमाडौं जाँदै गरेका मान्छे चन्द्रागिरि डाँडाभरी देखिन्थ्यो’, स्थानीय वृद्ध रामकृष्ण मानन्धरले भने, ‘अब फेरि पुरानै दिनमा जस्तै यहाँ चहलपहल बढेको छ।’

थाहा नगरपालिकाको ९ र १० नम्बर वडामा रहेको चित्लाङमा दैनिक आन्तरिक र बाह्य पर्यटक टुट्दैनन् । ‘शुक्रबार, शनिबार र आइतबार पर्यटकको भीड हुन्छ’, गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘प्रत्येक हप्ता कम्तीमा पनि एक हजार पर्यटक गाउँ भित्रिने गरेका छन्।’ एक वर्षदेखि उनले होमस्टे खाली राख्नुपरेको छैन। तर होमस्टेले नधानेपछि बिस्तारै होटल खुल्ने क्रम बढेको हो। ‘यहाँ आधा दर्जन त रिसोर्ट नै खुलिसकेका छन्, रिसोर्टका कारण होमस्टेको मोलिकतामा भने असर पर्दै गएको छ’, मानन्धरले भने।

यसैबीच चन्द्रागिरिमा केबलकार र सडक सुविधा भएपछि चित्लाङमा पर्यटक बढेको हो। ‘काठमाडौंबाट आधा घण्टामा मोटरमा आइपुगिने र     केबलकारको पनि सुविधा भएपछि काठमाडौं नजिकको पर्यटकीय गन्तव्य बन्न पुगेको छ’, थाहा नगरपालिका–९ चित्लाङका वडाध्यक्ष पर्शुराम श्रेष्ठले भने, ‘हामीले यहाँको लगानीले मात्र नपुगेर बाहिरका पर्यटन व्यवसायीलाई पनि चित्लाङमा लगानी गर्न आह्वान गरिरहेका छौं।’   आन्तरिक र बाह्य पर्यटक आउन थालेपछि यहाँको जग्गाको मूल्य पनि बढेको उनले बताए। ‘दुई वर्ष अघिसम्म एक लाख रुपैयाँ आनामा पाइने जमिन अहिले पाँच लाख रुपैयाँ अघिमा पाइन छाडेको छ’, श्रेष्ठले भने। उनका अनुसार रोजगारीका लागि गाउँ छाडेका पनि पुन गाउँ फर्किएर विभिन्न पेसा व्यवसाय गर्न थालेका छन्।

होमस्टे सञ्चालक समितिका अध्यक्ष राधाकृष्ण बस्नेतले यस क्षेत्रको प्राकृतिक मनोरम दृश्य, ऐतिहासिक र साँस्कृतिक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको बताए । उनका अनुसार थानकोटबाट १२ किलोमिटरको दुरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेर आउने गरेका छन्। चित्लाङ नजिकैको मानवनिर्मित  इन्द्रसरोवरले पनि पर्यटक तान्ने गरेको छ। चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको थियो।

चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि औपचारिक थालनी गरिएको भएको छ। कुनै न कुनै हिसाबले चित्लाङमा विश्व विद्यालयको केही संकाय वा पुरै रहने भएको छ । आगामी आर्थिक वर्षबाट पढाइ सुरु हुने विश्वविद्यालयबाट वार्षिक ४ हजार विज्ञ जनशक्ति उत्पादन गर्नेे  सरकारको लक्ष्य छ । चीन सरकारको सहयोगमा निर्माण हुने विश्वविद्यालयको लागत करिब ४३ अर्ब अनुमान गरिएको छ।

चित्लाङमा वनविज्ञान क्याम्पससमेत सञ्चालनमा छ। साढे चार करोडको लागतमा बागमती प्रदेश सरकारले  चन्द्रागिरिमा हिलस्टेसन तथा संघीय सरकारले पर्यटन संग्राहलय निर्माण गर्ने योजना बनाएको छ । सरकारले यसै क्षेत्रमा आईटीपार्कसमेत बनाउन लागेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०