nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पदमपोखरी बजेट कार्यान्वयनमा अब्बल बन्दै

20161229_142650-1483072941.jpg

संयुक्त वडा कार्यालयमार्फत सम्पादन हुनेगरेका विकासका योजनाहरुको कार्यान्वयनमा अनुकरणीय रहेको सरोकारवालाले बताएका छन् ।  स्ट्रोम फाउण्डेसनको सहयोगमा सहास नेपालले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२, १३, १४ र १५ का संयुक्त कार्यालयले योजना कार्यान्वयनको अबस्था अत्यन्तै राम्रो र उपलब्धीमुलक रहेको दाबी गरेको हो । कार्यालयको दाबीमा अन्य स्थानीय उपभोक्ता तथा सरोकारवालाहरुले समेत प्रतिवाद गरेनन् । 

कार्यालयकी प्रमुख गंगा चौलागाईले आफ्नो कार्यक्षेत्रका बजेट कार्यान्वयनमा कुनै समस्या नभएको बताइन् । सबै राजनीतिक दल, सरोकारवाला, वडा नागरिक मञ्च लगायत निकायहरुसँग बजेट कार्यान्वयनका सन्दर्भमा गम्भीर बहस र छलफलपछि मात्रै योजना सम्पन्न हुनेगरेको उनले बताइन् । स्थलगत निरीक्षण, अनुगमन लगायतका कार्यपछि मात्रै योजनाहरुको बजेट फरफारक गरिने उनले दाबी गरिन् । 

‘गत आर्थिक बर्षमा ५१ वटा योजनाहरु निकै छोटो समयमै सम्पन्न भए’, कार्यालय प्रमुख चौलागाईँले भनिन्–‘हामीले नीतिगत रुपमा कुनै पनि कन्टिजेन्सी समेत नकाटीकन सम्बन्धि उपभोक्ता समितिहरुलाई फरफारक गरी रकम प्रदान गरेका छौँ ।’ सम्पन्न भएका योजनाहरुको फरफारकका लागि आवश्यक प्राविधिक मूल्यांकन तथा अन्य कागजपत्रहरुका बारेमा उपभोक्ता समितिहरुलाई सहजीकरण गरी सजिलो वातावरण बनाइदिने गरेको उनले सुनाइन् । 

सार्वजनिक सुनुवाई कार्यक्रममा योजना तथा बजेटका बारेमा खासै गुनासाहरु उठेनन् । बरु वडा नं ११ र १२ जोड्ने पुलमुनि गिटीबालुवा उत्खनन् हुँदा जोखिम बढेको, पर्सा वन्यजन्तु आरक्ष र जिल्ला विकास समितिसँग कर उठाउने सम्बन्धमा विवाद भएको लगायतका बिषयहरुले कार्यक्रममा प्राथमिकता पाएका थिए । 

त्यसैगरी दलित, जनजाति लगायत लक्षित बर्गको बजेट बिनियोजनमा एकलौटी भएको भन्दै स्थानीय युनिस मोक्तानले प्रश्न गरेका थिए । जबाफमा बजेट बिनियोजन प्रक्रियाबारे कार्यालय प्रमुख चौलागाईले प्रष्ट पारेकी थिइन् । 

वडा नं १२ का भरत घलेले आफ्नो गाउँटोलतिर वडा कार्यालय प्रदान गर्ने सेवाहरु तथा सरकारले गर्नुपर्ने सूचनाहरु कतै नपुगेको भन्दै किन यस्तो गरियो भनेर प्रश्न गरेका थिए । उनले वडा नं १२ मा नियमित बस चलाउनका लागि पनि सम्बन्धित पक्षहरुले ध्यान दिनुपर्नेमा जोड दिए । 

पदमपोखरीमा रहेको हेल्थपोष्ट कतिबजे खुल्छ भनेर पनि प्रश्न आएको थियो भने नयाँ एम्बुलेन्स खरिद गर्दा के कति खर्च भयो भनेर नयाँशक्तिका श्यामबहादुर थिङले प्रश्न गरेका थिए । जबाफमा स्वास्थ्य चौकी प्रमुख धनेश्वर साहले हिसावकिताव सार्वजनिक गरेका थिए ।