nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पदमपोखरीमा बालश्रमको अवस्था अनुगमन

हेटौँडा उपमहानगरलाई सन् २०१६ को अन्तिम सम्ममा बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तर्गत हेटौंडाको पदमपोखरीमा बालश्रमको अवस्था अनुगमन गरिएको छ । बालकल्याण समाजको आयोजना, श्रम कार्यालय हेटौंडाको अगुवाई तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा पदमपोखरीमा रहेका होटल र वालुवा उद्योगमा अनुगमन गरेको हो । 

अनुगमनको क्रममा पदमपोखरीको कुनैपनि होटलमा बाल श्रमिक नभेटिएको बालकल्याण समाजका कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए । पदमपोखरी रिमिक्स नास्ता होटल, लामा मःम होटल, शुभकामना होटल, प्रदीप होटल र याक फास्टफुड तथा कुखरेनी खोलामा रहेको एउटा वालुवा उद्योगमा अनुगमन गरिएको थियो । ‘पदमपोखरी क्षेत्रमा बालश्रमिकको प्रयोग नभएको पाइयो’, श्रम कार्यालयका प्रमुख श्याम श्रेष्ठले भने, ‘अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा बालश्रमिकको बिषयमा चेतनाको स्तर राम्रै्र रहेको पाइयो ।’ 

अनुगमनमा सहभागी हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, महिला तथा बालबालिका कार्यालयका रबी हमाल, सिविन हेटौंडाका झबिन्द्र ज्ञवाली, मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव न्यौपाने, प्रहरी प्रतिनिधीलगायतले बालश्रमिकको प्रयोग नगर्न सुझाव दिएका थिए । उनीहरुले बालश्रमिकको प्रयोग गरे हुन सक्ने दण्ड सजायँको बिषयमा समेत जानकारी गराउँदै बाल श्रमिकको प्रयोग गर्नु अपराध भएको बताए । अनुगमन र स्थानीयसंगको छलफल लगायतका कार्यपछि पदमपोखरीलाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रमको मिति तोकिने बताइएको छ ।