nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार महिलाको पेशागत सुरक्षाबारे  छलफल

क्रियाशील पत्रकार महिला मकवानपुरको आयेजनामा कार्तिक ७ गते हेटौंडामा सन्डेक्लब अन्तर्गत महिला पत्रकारको पेशागत सुरक्षाका विषयमा छलफल भएको छ । क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् नानीमैया विष्ट, महासंघका जिल्ला सचिव कृष्ण सारुमगर, सहसचिव कुमार अधिकारी, सदस्य अशोकसुजन श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला मकवानपुरकी सहसचिव भावना रिजालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।  कार्यक्रमका सहभागीहरुले वर्तमान अवस्थामा पेशागत सुरक्षाको परिभाषा फरक रुपमा बुझ्न जरुरी रहेको बताएका छन् । अग्रज महिला पत्रकारले सामाजिक संस्कार, चिन्तन तथा मूल्य मान्यता र भौतिक सुरक्षा जस्ता जोखिम भोग्नुपरेको भएपनि हाल आएर महिला पत्रकार भन्ने नौलो कुरो नरहेको सहभागीहरुको धारणा थियो ।

वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकार महिला स्थापित भइसकेकाले अब आफ्नो क्षमता बृद्धि गर्दै पत्रकार महिलाले आफूलाई बजारको प्रतिस्पर्धामा ल्याउनुपर्ने बताउँदै सञ्चार माध्यमको उपयोग गरी महिला पत्रकारले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । यस्तै, महासंघका केन्द्रीय पार्षद नानीमैया विष्टले संविधानले प्राथमिकता दिएजस्तै पत्रकार महिलाको क्षमता विकासका लागि महासंघले विशेष कार्यक्रम लागु गर्न सुझाव दिइन्  ।

कार्यक्रमका सहभागीहरुले हालसम्म पत्रकार महिलाका लागि महासंघले खेलेको भूमिका, पत्रकार महिलाको पारिश्रमिक, आगामी योजना र महासंघको सदस्यता वितरणमा महिला पत्रकारको स्थान जस्ता विषयमा जिज्ञासा राखेका थिए । जवाफमा महासंघका सचिव कृष्ण सारुमगरले हालसम्म तालिम तथा गोष्ठीहरुमा सहभागिताका लागि प्राथमिकता दिइएको र विशेष कार्यक्रमबारे आगामी दिनमा योजना बनाइने बताए ।

-शुभलक्ष्मी विक