Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाललाई सुहाउँदो खोप अनुमोदन

corona-1609377866.jpg

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।

यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।  

बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डिएचएससी) का अनुसार नियामक संस्थाका विज्ञले गरेको समीक्षाले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड खोपले पूरा गरेको छ । बेलायतमा यो खोप जनवरी ४ देखि लगाउन सुरु गरिने र केही सातामै यसको गतिलाई तीव्रता दिइने बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बिबिसीलाई बुधबार बताएका छन् । सन् २०२० को सुरुको महिनादेखि नै अक्सफोर्ड र अस्ट्राजेनेकाले यो खोपको डिजाइन सुरु गरेका थिए । पहिलो स्वयंसेवीलाई अप्रिलमा परीक्षण गरिएको थियो भने त्यसपछि खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण बेलायत, ब्राजिल र भारतका हजारौं स्वयंसेवीमा गरिएको थियो ।

-नागरिक दैनिक 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०