Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घन्टामा ११ को मृत्यु

pahiro123-1596099358.jpg

केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ।

मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको, छ बेपत्ता रहेका तथा १२ घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ। कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात जनाले ज्यान गुमाएका र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ।

कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिए। उनका अनुसार उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन।

बाजुराको बूढीगङ्गा नगरपालिका(१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन्। कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको र बढी पश्चिम क्षेत्रमा पानी परेको जानकारी दिइन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०