nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोरम्बाको आलु ब्राण्डिङ गरिने

doramba-aalu-1624271412.jpg

रामेछापकाे दोरम्बाको आलुलाई राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिकाले ब्राण्डिङ गर्ने भएको छ। गाउँपालिकाले अब दोरम्बाकै ब्राण्डमा स्थानीय रुपमा उत्पादित अर्ग्यानिक आलु बजार पठाउन लागेको हो। 

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको दोरम्बा शैलुङ गाउँपालिका अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएको छ। नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको दोरम्बाको आलुले बजारमा आफ्नो पहिचान बनाएपनि दोरम्बाको आलु भन्दै अन्यत्रको आलु बेच्ने गरेकाले आफुहरुले अर्ग्यानिक आलु ब्राण्डिङ गर्न लागिएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए। 

दोरम्बाका अधिकांश कृषकको मुख्य खेती आलु नै भएकाले किसानलाई आलुमा निर्भर बनाउन लागिएको अध्यक्ष मोक्तानले बताएका छन्। गत वर्ष नै यसलाई लागू गर्ने भनिएपनी कोभिड –१९ का कारण पूरा गर्न नसकिएको पनि अध्यक्ष मोक्तानले बताए। चुनावमा आफुले नागरिकसँग गरेको प्रतिबद्धता र घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाएएर काम गरिरहेको पनि मोक्तानले बताए। दोरम्बा शैलुङ्ग गाउँपालिकाको छुट्टै पहिचान बनाउन आफू लागि परेको उनको भनाइ छ। उनले कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताएका छन्।

पालिकाको गत वर्ष किसानलाई प्रिन्ट गरेर ५० प्रतिशत अनुदानमा बोरा उपलब्ध गराउने योजना रहेको थियो। किसानले ५० प्रतिशत मात्र तिर्दा पनि किसानलाई ठुलो भार पर्ने हुँदा आगामी श्रावणदेखि नै लागू हुने गरी पुर्ण अनुदानमा प्रिन्टेट बोरा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ। यसका लागि आगामी नीति तथा कार्यक्रममा यो योजना समावेश गरिएको दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासिनीले जनाकारी दिए। ५० प्रतिशत मात्र अनुदानबाट किसान मर्कामा पर्ने भएकाले एक सय प्रतिशत नै अनुदान उपलब्ध गराउन लागिएको पनि उनले बताए। 

आलु जोनको योजना आएपछि लामो समयदेखि खेती गर्दै आएका किसान खुशी भए र आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन्। यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र किसानहरूको जीवनस्तर माथी पुग्ने पालिकाले जनाएको छ। जिल्लामा आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।